• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

विखण्डनको मुद्दा बोक्ने सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले सीके राउतसँगको  सहमति खारेज गर्न माग गरेको छ ।

 

 सरकारसंगको सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलाप भएको पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिको पूर्ण पाठ

 

नेपाल सरकारले गत फाल्गुण २४ गते सिके राउत समुहसँग गरेको ११ बुँदे सहमति र त्यसले सृजना गरेको अन्यौलका सम्बन्धमा विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।


विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा लेराउने सरकारको प्रयासको विवेकशील साझा पार्टी सधैँ स्वागत गर्दछ। तर राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ।

 


सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ। त्यसको विवकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानूनी कारवाहीको माग गर्दछ।

 


साथसाथै, ११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको छ। यस्ता विषयहरूमा भविष्यमा गम्भिरता प्रदर्शन गर्न पनि विवेकशील साझा सरकारसँग आग्रह गर्दछ।

 


विवेकशील साझा पार्टीले यसै हप्ता तराई(मधेसका विभिन्न स्थानमा ‘मधेस मन्थन’ का श्रृङ्खला सम्पन्न गरेको छ। सो सिलसिलामा तराई(मधेसका राजनीतिक अभियन्ता, वुद्धिजिवी, युवा, महिला, नागरिक समाजका अगुवा र सामाजिक कार्यकर्ताहरुले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति देखाएको अविचलित प्रतिवद्धताले सिके राउत समुहले तराई(मधेसको आम भावनालाई विल्कुलै प्रतिनिधित्व नगर्ने हाम्रो ठहर छ।

 


सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ। अन्यथा यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनु पर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं।


डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी

 

 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार