• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ताको औचित्य छैन  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विष्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।

 

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा ध्यानआकर्षण गर्न आएका नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग मंगलबार भएको भेटघाटमा प्रधानमन्त्री  ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन्।

 

'कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्'  प्रधानमन्त्री ओलीले भने,‘ जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ।’

 

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए। कम्यूनिस्टले त युवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने,प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।’

 

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विष्फोटप्रति दुःख व्यक्त गरेका थिए। उनले यस घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार