• बिहीबार १२-७-२०७५/Thursday 03-21-2019
अर्थ

'अहिले एक पाउ मासुले एक प्लेट मम पनि बन्दैन ।’ 

काम भनेको कुनै पनि सानो ठूलो हुँदैन भन्छन् नक्सालस्थित एभरेष्ट ममका संस्थापक डम्बर बहादुर राई । १८ वर्षको उमेरमा केही गर्छु भन्ने मनमा अठोट बोकेर सोलुखुव्वु सोताङ गाउँबाट राजधानी छिरेका थिए राई । व्यवसाय भनेको कुन चराको नाउँ हो उनलाई केही थाहा थिएन । न उनीसँग एकदमै धेरै लगानी गर्ने क्षमता नै थियो । थियो त केवल आँट । त्यसैले उनले भविष्यको  स्पष्ट रोडम्याप कोर थोरै लगानी धेरै मेहनत । यही रोडम्याप अनुसार अघि बढ्न डम्बरले पहिलो व्यवसाय रोजे तात्त्तातो मम पकाउने बेच्ने । आफुले मम व्यवसाय शुरु गर्दा एक पाउ मासुबाट मम बनाउन थालेको डम्बरलाई झल्झली सम्झना हुन्छ जहिले पनि ।  भन्छन् – ‘अहिले धेरै कुरा परिवर्तन भएको छ । अहिले एक पाउ मासुले एक प्लेट मम पनि बन्दैन ।’ 

 

राई एक्लैले शुरु गरेका एभरेष्ट ममले अहिले धेरैलाई  रोजगारी दिएको छ । २०४४ सालबाट संचालनमा आएको एभरेष्ट ममको स्वाद तीन दशकपछि  पनि उस्तै भएको पारखीहरुको अनुभव छ । डम्बर र एभरेष्ट मम एक अर्काका परिपूरक झैं भएका छन् । सानो सपना सानै लगानीबाट सुरुभएको यो एउटा सफलताको कथा हो भन्दा अन्यथा नहोला । सोलुको सोताङबाट राजधानी झरेका यी राइले एभरेष्ट मम पकाउन सुरु गरेपछि सबै जसो मौसममा खाजाको विकल्प त दिएकै छन् । उनले धेरैजसो विद्यार्थी र भविष्य खोज्दै राजधानी पसेका कैयौं युवालाई बिहान बेलुकाको छाक टार्ने परिकार पनि पस्किरहेका छन् । डम्बरले एभरेष्ट ममसँगै आफ्नो बिगतको अनुभव फ्रेसन्युज नेपाललाई यसरी सुनाए :

 

मैले आफ्नो व्यवसायलाई कहिले पनि सानो भनिन । आफ्नो सिपले जे जान्ने हो त्यहि गर्ने हो । म सोलुखुम्वु सोताङको मान्छे । म १८ वर्षको हुँदा २०३८ सालतिर काठमाडौं छिरेको थिएँ । दश कक्षा पास गरेर काठमाडौं आएको म केही त गर्नुपर्यो नि भनेर बिचार आयो । अब व्यवसाय त शुरु गर्ने तर के को व्यवसाय गर्ने त । आफुसँग ठुलो व्यवसाय गर्ने हैसियत पनि थिएन । त्यसैले त्यतिबेला काठमाडौंमा धेरैले ममको व्यवसाय चलाएका थिए । आफ्नो जातले पनि दिने हुनाले मैले पनि मम कै व्यवसाय चलाउँदा राम्रो होला कि भन्ने बिचार गरें र नक्सालमा एउटा सानो एभरेष्ट मम भन्ने नाम दिएर शुरु गरें । अब यसको नाम जुरेको कुनै ज्योतिष या जान्नेले हरेरे होइन, त्यसबेला कतै लुम्विनी भोजनालय, पाल्पाली भोजनालय जस्तो लेखिरहेको मैले देखें । यसमा कुनै पनि मान्छे आफ्नो क्षेत्रको परिचय दिन चाहने हुनाले यस्तो नाम राखेको होला भन्ने मैले अड्कल लगाएँ र म पनि एभरेष्ट साइडबाट आएको हुनाले एभरेष्ट नै राख्दा उचित होला भनेर यो नाम राखेको हो । फेरी त्यतिबेला मम पसल खोल्न लगानी पनि धेरै गर्नु पर्दैनथ्यो । थोरै लगानीबाट पनि यो व्यवसाय संचालन गर्न सकिन्थ्यो । त्यसैले पनि मैले यही पेशा रोजेको हो ।

 

लगानी कम मेहनत बढी

मम बनाउनको लागि लगानी भन्दा पनि मेहिनेत धेरै चाहिन्छ । यसमा धेरै दुःख गर्र्नु पर्ने रहेछ । मैले शुरु गर्दा एक पाउ मासुमा एउटा थालमा मम तयार हुन्थ्यो । त्यतिबेला यो नक्साल त गाउँ जस्तो थियो । गाई भैंसी चराउने ठाउँ जस्तै थियो । मान्छेहरु मम खान आउँदा कहिलेकाहीं गाईको गोबर कुल्चिएर पनि मम खान आउँथे र मैले सबै सफा गर्थें । आफ्नो पसल सफा नै राख्नुपर्छ र मलाई काम गर्न कहिले पनि लाज लागेन ।

 

एक पाउबाट पच्चीस किलो

अहिले केही नभएपनि दिनको २० देखि २५ किलो सम्मको मासु लाग्छ ।  पहिले एक दुई प्लेट ममले काम चल्थ्यो भने अहिले पचास देखि साठी प्लेट ममले पनि पुग्दैन । २०४४ सालमा म एक्लैले यो व्यवसाय शुरु गरेको हो । ममा एउटा आँट र जाँगर भएकै हुनाले आज सबैले एभरेष्ट ममलाई रुचाएका छन् । त्यतिबेला अहिलेको जस्तो जनशक्ति कहाँ थियो र १ सबै काम आफैंले गर्नुपर्ने हुन्थ्यो । ममको मासु तयार गर्ने देखि लिएर ममलाई चाहिने अचार समेत आफैंले बनाउनु पथ्र्यो । म एकजनाबाट शुरु गरेको यो व्यवसायमा अहिले धेरैले रोजगारी पाएका छन् । अहिले हामी कहाँ  आठ जना काम गर्ने स्टाफ छन् । अब काम गर्नेहरु पनि बाठा भइसके, यहाँ काम गर्छन् अनि केही समय पछि अलि जान्ने हुन्छन् र आफ्नै व्यापार शुरु गर्छन् ।

 

शाखाको काम छैन 

यसको शाखा कतै पनि छैन । शाखा राख्ने भनेको त अरुलाई पोसाउने काम मात्र हो । यहाँ शाखा खोलेर पनि के गर्नु केही कुरा सहि ढंगले चल्दैन । हाम्रो ममको स्वाद भनेको पहिले देखि हामीले जस्तो मम बनाएका छौं त्यहि नै हो । हामीले अरुले जस्तो स्वाद फेरिफेरि मम बनाउने गरेका पनि छैनौं । आधुनिक तरिकाले आधुनिक किसिमले जसरी हामीले शुरुमा मम बनाएका थियौं अहिले पनि त्यहि नै हो । यसमा केही परिवर्तन छैन । यसले गर्दा पनि हाम्रो ममलाई धेरै मान्छेहरुले रुचाएका छन् । हाम्रो ममको अचारको स्वादले पनि मान्छेहरु तानिएका हुन् । अरुहरुको जस्तो हाम्रो ममको अचारको स्वाद अलि बेग्लै नै हुन्छ । हामी अचारमा नुन खुर्सानी, धनीयाँको पत्ता र अमिलो हाल्छौं । यसले नै अचारलाई स्वादिलो बनाउँछ । यो चाहि हाम्रो ब्राण्ड नै जस्तो भएको छ । हाम्रो कोशिस भनेको खाँदा घिन नलागोस् स्वादिलो होस् र सफा होस् भन्ने नै हो ।

 

ठूलो लगानी पर्दैन 

मम व्यवसाय गर्न खासै त्यस्तो खर्च लाग्दैन । एउटा भाँडा, केही जनशक्ति र मेहिनेत मात्र यसमा चाहिने हो । यसमा लगानी खासै ठूलो छैन ।  मेहनत गरेपछि अब अलि अलि पैसा त कमाई हालिन्छ नि । आज मैले काम गरेको तीस वर्ष भयो ।  यो तीस वर्षमा मैले तलब मात्र जम्मा गरेको भए पनि कति हुन्थ्यो होला । अलि अलि कमाईएको पनि छु । कमाई नै भएन भने यत्रो वर्ष काम गरेको के फाईदा १ म पूरा दिन पसलमा नै हुन्छु खाली काउन्टरमा मात्र धेरै नबस्ने मात्र हो । म बाहिर भन्दा पनि भित्र कै कामहरुमा धेरै व्यस्त भइरहेको हुन्छु ।

 

बाह्रै महिना मम

मम जुनसुकै मौसममा पनि खाँदा हुन्छ । यति हो कि गर्मीको समयमा अलि कमी हुन्छ र जाडोमा अलि बढि हुन्छ । हामीले ल्याउने मासु एकदमै सफा बोसोरहित हुन्छ । हामीले मासुमा त्यस्तो केही अन्य पदार्थ मिसाउने गरेका छैनौं । हाम्रोमा त बेलाबेलामा अनुगमन टोलीहरु आउने गरेका छन् र अहिलेसम्म उनीहरुले परीक्षण गर्दा नराम्रो भेटिएको छैन । अहिले काम गर्न एकदमै गाह्रो छ । अहिले मान्छेहरु पनि बढेका छन् । कहिलेकाहीँ त जनशक्तिको कमीले गर्दा पसल नै बन्द गर्नु पर्ने जस्तो अवस्था पनि आउँछ । अहिलेको मुख्य समस्या भनेको काम गर्ने मान्छेहरुको हो । अब स्टाफ कम हुने बित्तिकै एउटा मान्छेलाई भार पर्छ । म यसमा लाग्नुको कारण कसैको प्रेरणाले भन्दा पनि एउटा वातावरणले हो । अब समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने कुरा हो । मेरो पनि भाग्यमा यही लेखेको रहेछ र आज म यहाँ छु ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार