• बिहीबार १२-७-२०७५/Thursday 03-21-2019
डबली

एक साहसी राजा : जसले पृथ्वीनारायणलाई हराए ! 

नेपालमा किरातहरुको बेग्लै इतिहास छ । विभिन्न पौराणिक ग्रन्थहरुमा पनि किरातीहरुबारे उल्लेख भएको पाइन्छ । सुरुमा भारतीय भूमिमा किरातीहरुको रहनसहन मात्र नभई प्राचिनकालमा अहिलेको सिंगो भारतीय भु–भाग किरातहरुको आवादभूमि थियो भनेर भनिएको छ । नेपालको सन्दर्भमा गौरबमय इतिहास बोकेको र बेग्लै संस्कृती भएको किरात प्राचिन जातिको रुपमा स्वीकारिएको छ । किरात इतिहासका पिता इमान सिंह चेम्जोङले सर जोन ह्यामर्टनको पुस्तक एन्सन्ट हिस्ट्रिको सन्दर्भ निकाल्दै किरातहरु सौमर बंशका हुन भनी भनेका छन् । यसलाई आधार मान्ने हो भने विश्वको सबैभन्दा पुरानो मेसोपोटामियाको सभ्यता यिनै किरातहरुले निर्माण गरेका हुन । मेसोपोटामियाको सभ्यताको जननी सुमेरका सुमेरियनहरु थिए । किनकी चेम्जोङले उल्लेख गरको सन्दर्भबाट सौमर नै सुमेर हो भनी बुझन सकिन्छ । कतिपय विद्धानहरुले मेसोपोटामियाको सभ्यता किरातकै हो भन्ने आधार दिइसकेका छन् । 

 

यद्यपी, कतिपय ऐतिहासिक प्रमाणहरुमा के पनि भनिएको छ भने भारतीय उपमहादिपमा हिन्दुआर्यहरु प्रवेश गर्नुअघि नै उन्नत सभ्यता थियो र त्यो सभ्यता किरातको थियो । आधुनिक सभ्यताको आधार पनि किरातीहरु नै थिए भनेर प्रमाणहरु जुटाएको पाइन्छ । आज किरातीहरुको जातीय विराषत भनेर राई र लिम्बुलाई मात्र लिने गरेको पाइन्छ । तर नेपालमा रहेका आदिवासी सबै किराती हुन भनेर ठोकुवा गर्ने गरेको प्रसंग पनि भेटाइन्छ । किनकी त्यसको गतिलो आधार भाषाविज्ञानबाट पनि प्रमाणित हुनजान्छ । यसकारण नेपाल खाल्डोमा किरातहरुको शासनव्यवस्था गरेको पनि इतिहास छ“दैछ । गोपाल बंशावलीमा ३१ जना किरात राजाहरुले जम्मा १८५९ बर्ष शासन गरेको उल्लेख छ । किनकी काठमाडौंका कतिपय स्थानहरुको नामाकरण किरात भाषाको शब्द नै भएको बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘प्राचिन नेपालको इतिहास’मा पढ्न पाइन्छ । प्रशासनिक संरचना, कलाकृति आदिबाट पनि काठमाडौं उपत्यकामा किरातहरुको इतिहास रहेको बुझन सकिन्छ । 

 

नेपालको परिवर्तित सन्दर्भमा अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान भनिएको छ । तर प्राचिन नाम फेदाप रहेको लिम्बुवान अरुण नदीदेखि पूर्व सिक्किमसम्म र उत्तर तिब्बतदेखि दक्षिण गंगा नदीसम्म फैलिएको थियो । त्यही भूमिलाई राणाकालमा प्रशासनिक प्रयोजनमा पल्लो किरात भनिन्थ्यो । यता किरात राईहरु रहेको भूमिलाई माा“झ किरात र किरात सुनुवारहरु रहेको भूमिलाई वल्लो किरात भनिन्थ्यो । यसकारण यी भूमिहरु किरातहरुको आवाद भूमि थियो भन्ने प्रमाणित हुन्छ । यीनै किरातहरुको विराषद लिम्बु समाज हो । उनै लिम्बुहरुको प्राचिन युगदेखि नै नेपालको पूर्वी भेगमा एक राष्ट्र वा राज्य थियो । विभिन्न राज्यहरुमा विभक्त यही लिम्बु राज्यलाई गोर्खाका पृथ्वीनारायण शाहले राज्य विस्तार नगरुन्जेल लिम्बुवान नै रहेको पाइन्छ । तिनै लिम्बु समुदायको एक शक्तिशाली राजा हिलिहाङका बारेका एउटा ओझपूर्ण ऐतिहासिक पुस्तक ‘नेपालको इतिहासमा हिलिहाङ’ले धेरै इतिहासलाई खोतल्ने प्रयास गरेको छ । हिलिहाङको ऐतिहासिक दरबार, राजाको संघर्ष र बलिदानीका बारेमा पुस्तकमार्फत हर्कबहादुर योङहाङ (लिम्बु) ले अनुसन्धान मार्फत इतिहास सम्प्रेषण गरेका छन् ।

 

इतिहास जित्नेहरुको दस्तावेज हो भन्ने परिभाषाको मारमा परेका शक्तिशाली राजा हिलिहाङ पृथ्वीनारायण शाह र उनको उत्तराधिकारीस“ग अन्तिमसम्म लडेर वीरगती प्राप्त गर्ने राजामध्येका एक थिए । लिम्बुवान रक्षाका लागि हिलिहाङले गोर्खाली सेनास“ग १७ औं पटक सम्म लडेको कुरा पुस्तकले बोलेको छ । सोही कारणले उनलाई ‘सत्रजिते’राजा समेत भन्ने गरिन्छ । लिम्बुवानलाई मात्र नभई कुनैबेला सिक्किमलाई समेत अधिनमा ल्याएका हिलिहाङले दक्षिणमा विहार तथा गंगासम्म सिमाना फैलाएका थिए । पुस्तकमा हिलिहाङको पारिवारिक सम्बन्ध सिक्किमको राजपरिवारसम्म भएको उल्लेख छ । भोटेहरुको राज्य रहेको सिक्किमका राजकुमार नामाग्यालले हिलिहाङकी फुपु थुङ्वामुक्मास“ग विवाह गरेका थिए । सोही कारण पनि हिलिहाङ र सिक्किमे राजाबीच सुमधुर सम्बन्ध स्थापित भएको थियो ।

 

 

ऐतिहासिक ग्रन्थ, घटनाक्रम, दस्तावेज, हिलिहाङका युद्ध सामाग्री, कागज पत्र, दरबार साथै विभिन्न तस्वीरहरु संग्रहित गरिएको १३२ पृष्ठ लामो पुस्तकमा अनुसन्धानकर्ता तथा लेखक हर्कहाङ योङहाङ (लिम्बु) ले हिलिहाङको पृष्ठभूमिलाई शब्द–चित्रमा मजाले उतारेका छन् । पृथ्वीनारायण शाहका समकालिन मानिने हिलिहाङ वि.स.१७८३ मा याङवरक थुपको एक भब्य दरबारमा भएको थियो । उनले आफ्नो पिताको देहावसानपछि वि.स.१८१४ देखि प्रत्यक्ष शासनभार समालेका थिए । उनी लिम्बुहरुको विभिन्न थर मध्ये योङहाङ थरका थिए । पुस्तकमा उनले गोर्खाली सेनास“ग लडाई लड्दा सिक्किमस“ग सैन्य सहयोग लिएको, गोर्खाली सेनाविरुद्ध रक्षात्मक युद्ध लडेको र अन्त्यमा सन्धि सम्झौता गरी गोरखालाई केन्द्र सरकार मान्ने साथै शाह बंशीय राजाहरुलाई दाजु र योङहाङ राजाहरुलाई भाई मान्नुपर्ने आदि सम्झौताहरु गर्नुपरेको सन्दर्भ प्रष्टाइएको छ ।

 

हिलिहाङ राजाको देहावसन कथा पनि पुस्तकको २९–३० नम्बर पृष्ठमा रोचक तरिकाले गरिएको छ । सन्धि सम्झौता र पृथ्वीनारायण शाहको निधनपछि उनका उत्तराधिकारीले हिलिहाङमाथि निगरानी गर्न छाडेका थिए । तर हिलिहाङले फेरि बिद्रोह गर्ला भन्ने शंका गोर्खाली सेनास“ग जिवित नै थियो । साथै जासुस नै खटाएर निगरानी बढाएको थियो । हिलिहाङ सिक्किम भ्रमणमा गएका बेला त्यहा“का राजास“ग सैन्य सम्झौता गरी गोर्खालीस“ग विद्रोह गर्ने हो कि भन्ने आशंका भने कायमै राखेको थियो । त्यही भएर उनलाई पक्राउ गर्न गोर्खाली सेना सिक्किम नै पुगेको थियो । पृथ्वीनाराण शाहस“ग सन्धि सम्झौताबाट असन्तुष्ट रहेको सिक्किम सेना पनि हिलिहाङलाई शंकालु दृष्टिले हेरिरहेका कारण उनी दुवैतिरको चेपुवा परेका थिए । यद्यपी, हिलिहाङ गोर्खाली सेनास“ग त्यति सजिलै झुकेनन र घमासान युद्ध चलाए । त्यही युद्धमा उनले साहदत प्राप्त गरे । पुस्तकमा उल्लेख यही प्रशंगबाट पनि हिलिहाङको बहादुरी गोर्खाली सेना र पृथ्वीनारायण शाहको शक्तिस“ग कडा टक्कर दिन तयार भएको बुझ्न सकिन्छ । 

 

चोकफुङ इन्टरटेन्मेन्ट प्रालिले प्रकाशन गरेको पुस्तकमा किरातको इतिहास सभ्यता देखि भारतीय सभ्यतामा किरातहरुको योगदान, हिन्दु आर्य र नेपाली समाजको पनि चिरफार गरिएको छ । नेपाल भुमिमा वाहुनहरुको आगमन, वाहुनहरुद्वारा हिन्दुकरणको अभियान साथै नेपालको इतिहासमा हिलिहाङ लगायतका प्रसंग र ऐतिहासिक पाटाहरुलाई पुस्तकमा झल्काइएको छ । अन्य प्रशंगहरु स“गस“गै हिलिहाङ दरबारको ऐतिहासिक पृष्ठभूमि, दरबार संरक्षणको अभियान मात्र नभई विश्व इतिहासमा हिलियाङको प्रसंगलाई पनि लेखकले खुबै मेहेनतका साथ उतारेका छन् ।

 

युनी ग्राफिक्स एन्ड प्रिटिङले मुद्रण गरेको पुस्तकमा गोर्खाली सेना र हिलिहाङ फौजबीच घमासान युद्ध भएको काङशोरे र लिम्बुवान–गोर्खाली युद्धको प्रसंग साथै विजयपुरको स्थापना झनै रोचक छ । राणा शासनलाई अन्त्य गर्नका लागि योगदान पुर्‍याएका प्रजातान्त्रिक योद्धा–ज्ञानबहादुर याक्थुङबाको पृष्ठभूमि र हिलिहाङबारे विज्ञहरुको भनाई पनि पुस्तकमा पढ्न पाइन्छ । विभिन्न पाण्डुलिपी, भग्नावशेष हिलिहाङ दरवार, किरातको किपट व्यवस्था, दरबार संरक्षणको अभियानका तस्वीरहरु सजिएको पुस्तक लिम्बुवानका अन्तिम र बहादुर राजा अर्थात इतिहास पुरुष हिलिहाङबारे गहन र ऐतिहासिक दस्तावेज बनेर बजारमा आएको छ । ऐतिहासिक खोजकर्ता, अनुसन्धानकर्ता, इतिहास विषयका विद्यार्थी, प्राज्ञिक वर्गका लागि पुस्तक गतिलो सन्दर्भ स्रोत मान्न सकिन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार