• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अन्तर्वार्ता

'अहिले नेपाली चलचित्रको बजार राम्रो छ'

सुनिल थापा, अभिनेता 

काठमाडौं । नेपाली सिनेजगतमा सुनिल थापा चर्चित नाम हो । नेपाली चलचित्रमा विशेष गरी भिलेनको भूमिकामा देखापर्ने उनी पछिल्लो समय बलिउड चलचित्रमा समेत काम गरेर चर्चा बटुलेका छन् । उनी आफ्नो यात्रालाई यत्तिमै सिमित गर्न चाहन्नन्, उनी भन्छन, ‘मेरो लक्ष्य हलिउड हुँदै ओस्कार सम्मको हो ।’ हलिउडमा पनि उनको कुरा भइरहेको छ । यदि हलिउडको यात्रा पनि सुरु भएमा यो सम्पूर्ण नेपाली र नेपाली चलचित्र उद्योगकै लागि गर्वको कुरा हुने उनी बताउँछन् । प्रस्तुत छ, चलचित्र क्षेत्रमा थापाको यात्रा, आगामी लक्ष्य तथा अन्य विविध विषयमा फ्रेसन्युज नेपालले थापासँग गरेको कुराकानीको :

 

चलचित्र क्षेत्रमा भविष्य खोज्न सुरु गरेको कति वर्ष भयो ?
लगभग ४३ वर्ष पुरा भएको छ । तर अझै पनि म आफुलाई नयाँ कलाकार नै ठान्छु । मलाई अझै धेरे कुरा सिक्नुछ । यस क्षेत्रमा नयाँ नयाँ कलाकारको प्रवेश भइरहेको छ । नयाँ कलाकारसँग अभिनय गर्दा म आफुलाई पनि भर्खरकै युवा नै ठान्छु र उनीहरुसँग काम गर्दा रमाइलो पनि हुन्छ । नयाँबाट हामीले धेरै कुरा सिक्न सकिन्छ भने उनीहरुलाई पनि आफ्नो अनुभव बाड्न सकिन्छ । यसले  पनि सिकिन्छ । यसले थप उर्जा प्रदान गर्छ ।  
 

 

चलचित्र क्षेत्रमा लामो योगदान गर्नुभयो, यसबाट व्यक्तिगत रुपमा तपाइले के पाउनुभयो ?
यो क्षेत्रमा मैले जे जति योगदान गरेँ, त्यसबाट मैले थुप्रै मलामी कमाएको छु । मलामी कमाउनु सानो कुरा होइन । यो क्षेत्रमा मेरो यात्रा जारी छ । मेरो मुख्य लक्ष्य ओस्कार अवार्ड हो । हाल हलिउडबाट पनि चलचित्रका लागि अफर आइरहेको छ । हलिउड चलचित्रमा काम गर्न पाइयो भने त्यो मेरो लागि मात्र होइन पुरै नेपाली चलचित्र उद्योगका लागि पनि गर्वको कुरा हुनेछ । 

 

विगतको चलचित्र क्षेत्र वर्तमान अवस्थासम्म आइपुग्दा कस्ता परिवर्तन देख्नुहुन्छ ?  
हाम्रो जमानाको चलचित्र निर्माण ल्याण्ड लाइन फोन जस्तो थियो । आज भोली वायरलेस फोन आएको छ त्यसमा पनि बिचमा त एउटा कर्डलेस मात्रै आएको थियो । त्यो कर्डलेसलाई पनि छुट्याएर मोबाइल को चलन आएको छ । त्यसैले फिल्म मेकिङमा पनि त्यस्तै परिवर्तन आएको छ । यसको मतलब डिजिटल फम्र्याटले साच्चै कै धेरै काम गरेको छ । डिजीटल प्रविधिले धेरै कुराहरु प्रिवर्तन गरिदिएको छ । हाम्रो एउटा फिल्म क्षेत्रको फिल्म मेकिङ नै अहिले एकदमै सुध्रिसक्यो । मार्केट राम्रो भएको छ । नेपालमा मात्र होइन बिदेशमा बसेका नेपाली दाजुभाई दिदिबहिनीले पनि नेपाली चलचित्र क्षेत्रलाई माया गर्न थालेका छन् । यो हामी चलचित्रकर्मीका लागि ठुलो कुरा हो ।  कलाकार उही नै हो तर डिजीटलले गर्दा सहज भएको छ । जस्तो भि एफ एक्स शुरु भएको छ त्यो रमाइलो पनि छ । पहिला सर्ट दिन एकदमै गाह्रो हुन्थ्यो अहिले  एकदमै सजिलो भइसक्यो । 


 

 

बलिउड चलचित्र ‘मेरी कोम’ पछि अलि हराउनु भएको जस्तो देखियो नि ?  बलिउडबाट अफर नआएको हो ?
बलिउडमा पहिलाका जमानामा मसला चलचित्र बन्थ्यो । सबै कुराहरु लगभग फिक्स नै हुन्थ्यो । बलिउडमा मैले मन पराएको र मलाई सुहाउने भुमिकाको मेरी कोम भन्दा अघि पनि धेरै चलचित्रमा अभिनय गर्न सक्थे होला । तर मेरी कोममा जुन मैले रोल पाए त्यस्तो क्यारेक्टर सुहाउनका लागि क्यारेक्टरमा त्यो कथा हुनुपर्यो । यसको मतलब मेरो जस्तो क्यारेक्टरलाई फिट हुने रोल भयो भने पक्कै मलाई खोज्छन् नै होला । मैले बिचमा ठुलो प्रोडक्शनको लागि एउटा वेभ सिरिज पनि गरे । वेभ सिरिज भाएकम ले नै बनाएको हो जसले मेरी कोम बनाएको थियो । यो चाइनिज बजार भन्ने वेभ सिरिज हो । यसमा मेरो एकदमै राम्रो भुमिका छ । अर्को एउटा बलिउड फिल्म गल्ती से तुम्हारीमा अतिथीको भुमिका गरेको छु । फरहान अख्तरको फिल्म गोल्डमा अक्षय कुमारसंग समय नमिलेर मैले गर्नै सकिन । अर्को एउटा करण जोहर र गौरी खानको फिल्मको लागि मेरो लुक टेस्ट पठाएको छु । अब के हुन्छ थाहा छैन । 
 

 

नेपाली चलचित्र अहिले पनि बलिउड र हलिउडबाट चोरेर बनाइन्छ भन्ने आरोप छ नि ?  
हामीले बलिउड स्टार सलमान खान अभिनीत जति पनि फिल्महरु हेर्छौ ती सबै तामिल कै रिमेक हुन्छन् । त्यस्तै नेपालीले पनि धेरै कोरियनबाट लिएका छन् । यसमा खासै केही फरक पर्छ जस्तो मलाई लाग्दैन । तपाईले दर्शकलाई कत्तिको मनोरन्जनात्मक कथा दिन सक्नुहुन्छ भन्ने मुख्य कुरा हो । त्यसमा पनि हामीले आफ्नो संस्कृतिलाई बिर्सनु हुदैन । हाम्रो
हिन्दुइज्म,  वा नेपालीपन हालेर कथा देखाउनु नराम्रो हो जस्तो मलाई लाग्दैन । दर्शकलाई साढे दुई घण्टा मनोरन्जन दिएर सिटमा बसालीराख्नु नै मुख्य कुरा हो । चलचित्र निर्माण भनेको  एउटा जुवा  हो । चल्छ भनेर कसैले जिम्मा लिएको पनि छैन र कसैले लिदाँ पनि लिदैन ।  चल्यो भने पैसा आयो चलेन भने डुब्यो । 
 

 

नेपाली चलचित्रबाट कलाकारहरुको गुजारा चल्छ त ?
चल्छ किन नचल्नु । आजभोली त झन एकदमै राम्रो छ । अहिले त हाम्रा कलाकार गाडी चढ्ने हैसियत राख्छन् । पहिला गाह्रो हुन्थ्यो, अहिले नेपाली चलचित्र क्षेत्र धेरै ठुलो भइसेकको छ । निर्माणको हिसाबले पनि हामी बलिउडको १९/२० सम्म आइसेकका छौं । यती हो कि हाम्रो मार्केट अहिले पनि सुकेको खोला जस्तो नै छ । मार्केटको हिसामा बलिउड संगसंगै हिड्नै सक्दैनौ । 
 

 

नेपाली चलचित्रले राम्रो व्यापार गरेपनि दर्शकको नजरमा भने नकारात्मक सोच नै देखिन्छ, यस्तो किन ?  
यहाँ हामीले कसैलाई रोक्न सक्दैनौं । भोली मलाई बाटोमा कसैले ‘ए सुनिल दाई तपाईलाई अभिनय गर्नै आउँदैन, आफुलाई किन ठुलो सम्झिनु हुन्छ ?’ भन्यो भने म उसँग बहस त गर्दिन नी ? मैले त उसलाई अभिनय सुध्राने प्रयास गर्छु भन्ने मात्रै हो । त्यसैले यी सबै कुरा मान्छेहरुको सोचमा भर पर्छ । अब अहिले सबैलाई थाहा छ नेपाली फिल्म क्षेत्र राम्रो हुँदै गएको छ । अहिले हाम्रो विडम्बना के भइरहेको छ भने एकै हप्तामा चार चारवटा फिल्महरु प्रदर्शन भइरहेका छन् । हाम्रो कमाउने मार्केट बाँडिएको । यसमा सबै भन्दा धेरै पिडा त निर्मातालाई नै हुने हो । राम्रो चलचित्रलाई हामीले किन राम्रो भन्न पाउँदैनौं भने त्यो चलेकै हुँदैन । प्रदर्शन त भयो, फिल्म पनि राम्रो छ, तर चल्नै पाएन । दर्शकको सोचको कारण पनि यही नै हो । 
 

 

तपाईको नजरमा तीन सर्वत्कृष्ट फिल्म ?
दक्षिणा, सिमा–रेखा र चिनो । 
 

 

तपाईको नजरमा तीन सर्वत्कृष्ट नायक/नायिका ? 
नायकहरुमा भुवन केसी, सरोज खनाल, शिव श्रेष्ठ र नायिकाहरुमा कृष्टि मैनाली, करिश्मा मान्नधर र जल शाह 

 

तपाईको दैनिकी कसरी बित्छ ?  
साच्चै भन्नुपर्दा म निद्रामा नै दुई घण्टा जगिङ गर्छु । यसको मतलब के हो भने म उठ्छु, रिङरोड दौडिन्छु, त्यसपछि दुई घण्टा पछि ओछ्यानबाट उठेर चार गिलास तातो पानी पिउँछु । त्यो दुई घण्टा मैले जगिङ होइन कि कल्पना गर्छु । आजकल म कामको हिसाबले नै आफनो शरीरलाई फिट एण्ड फाइन राख्छु । खानेकुरामा सचेत छु, भद्दा शरीर घिन लाग्दो र आफ्नै लागि पनि असहज हुन्छ । त्यसैले खानेकुरामा चाहि म एकदमै बिचार गर्छु । यदि एक महिनासम्म काम हुदैन भने म फेरी दबाएर खान्छु । फेरी काम शुरु हुने भयो भनेपछि म दश पन्द्र दिनमा नै शरिर घटाउने तिर लाग्छु । म सुटिङ नभएको बेला आफनै एकेडेमी आउँछु । कहिलेकाही अथिती बनेर बिभिन्न कार्यक्रमहरुमा जान्छु । अब सेलिब्रिटि भएपछि धेरै ठाउँमा जानैपर्छ । त्यसमाथी पनि बलिउड फिल्ममा मेरी कोम पछि त धेरैले सम्झने गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार