• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

‘एउटा बिरुवा किनेर माटो सित्तैमा होइन भन्ने ग्राहकहरु पनि आउँछन्’

अरिष्मा लामा, काठमाडौं । बिस वर्ष देखि नर्सरी गर्दै आएकी काठमाडौंकी लक्ष्मी महर्जन मैतिदेवी स्थित पञ्चकुमारी नर्सरीकी संचालिका हुन  । उनले तीन रोपनी जग्गामा फूल लगाएकी छन ।  यो काममा उनका श्रीमानले पनि सघाउँदै आएका छन् ।

 

मैतीदेवीमा बसोबास गर्दै आएकी लक्ष्मी दम्पती घण्टौंसम्म बगैचाको गोडमेलमा बिताउँछन । नर्सरीले उनीहरुको ४ जनाको परिवार चलेको छ ।  ४२ बर्षीया महर्जन काठमाडौंमा नै जन्मेकी हुन । सानै उमेरमा विवाह भए पछि पढ्न पाइन्न उनले । ‘कलेज पढने रहर थियो तर पढ्न पाइन, श्रीमानलाई आफन्तको भोजमा भेट भई बुबाआमाले विवाह गरिदिनुपर्छ भनेर मागी विवाह गरेर दिएका थिए ’। उनले पुराना दिनका कुरा सुनाइन ।

 

दाजु-भाउजुले गर्दै आएको नर्सरी उनीहरुले गर्न नसकेपछि लक्ष्मी आफैंले गर्दै आएकी हुन ।  तरकारीले बजार नपाउने र छिटो कुहिने समस्या देखिएपछि फुल व्यवसायमा लागेकी हुन लक्ष्मी ।  लक्ष्मीले बच्चा हुदा देखी नै घरका कौशीमा गमलामा लहरै फूल लगाउँथिइन, पछि रहर नै पेशा बन्न पुग्यो । 

 

 

बिगतमा फूलको महत्व बुझनेहरु कम थिए । अहिले फूलको महत्व बढ्दै गएको उनको अनुभव छ । ‘पहिले मानिसहरुलाई फुलको महत्व थाहा नभएकाले फुलमा किन खर्च गर्ने भन्ने थियो तर अहिले फुलको महत्व बुझ्ने धेरै छन्’ उनले थपिन ।

 

पहिले यो व्यवसाय गर्न धेरै गाह्रो भएको उनको अनुभव छ । विस्तारै समय परिवर्तन संगै यसको पनि महत्व बढ्दै गयो । हरेक समारोह, विवाह, ब्रतवन्धमा फूलको माँग बढ्दो छ । नर्सरी व्यवसाय गर्दा फूलमा विभिन्न किराहरुले सताउने र फूलका बोटहरु नै मर्न थाल्दा भने व्यवसाय कसरी अगाडी बढाउने भन्ने चिन्ता हुन्थ्यो उनलाई । नर्सरीमा आइपर्ने विभिन्न समस्याहरुको समाधान बारे उनी जानकार छिन । नर्सरीमा अहिले उनले ५ जनालाई रोजगारी दिएकी छन ।

 

यो व्यवसायबाट उनी खुसी छिन । फूलको आम्दानीले जीवनयापन गर्न सहज भएको छ । दिन वा महिनामा यति हुन्छ भन्ने नै हुँदैन कहिले दिनमा १० हजार सम्म हुन्छ, कहिले व्यापार नभएको दिन पनि हुन्छ । पानी परेको बेला व्यापार खासै हुदैंन । 

 

नर्सरीका बारेमा सुरुवातका दिनमा आफूले जे जानेको थिइन उनले त्यहि तरिका अपनाइन तर अहिले नर्सरीलाई कसरी आकर्षक बनाउने र बोट बिरुवाको सुरक्षा गर्ने तरीका बारे उनलाई धेरै जानकारी छ । नर्सरी सम्बन्धी ज्ञान दिने हिसावले उपत्यकामा विभिन्न तालिमहरु पनि हुने गरेका छन । मर्हजनले त्यस्ता तालिममा सहभागी हुन छुटाउँदिन्न । तालिमहरुले थप ज्ञान बढ्ने हुदा नर्सरी संचालन गर्न अन्यलाई पनि उनी आवश्यक तालिम लिन उनले सुझाव दिने गरेकी छिन ।

 

 

नर्सरीको आम्दानीले घर राम्रो संग चलेको छ । दुई छोरीले यसैको आम्दानीबाट पढाई पुरा गर्दै छन । कमाईको केही रकम उनले बचतमा पनि लगाउन भ्याएकी छन । कामलाई सम्मान गर्ने श्रीमानको बानीले आफूमा थप मेहन्त गर्ने बानी परेको उनले सुनाइन । 

 

त्यस जग्गामा गरेको अवधि २५ वर्ष मात्र भएकाले ५ वर्ष सम्म यही ठाउँमा गर्ने भनिन् । अरु ठाउँमा जग्गा खोजेको दुई तीन वर्ष भइसक्यो तर टाढा भेटिएकाले गाह्रो हुने भएर चिन्तित छु । यसको लागि ५ रोपनी भन्दा कम जग्गामा उत्पादन गर्न कठिनाइ हुन्छ ।  यसमा लगानी धेरै हुन्छ मानिसहरुले कमाएको मात्र देख्छन् । यस क्षेत्रमा अरु काम जस्तो १० बजे खोल्ने ५ बजे बन्द गर्ने भन्ने छैन् विहान सात बजे देखि बेलुका ८ बजे सम्म खोल्नै पर्ने हुन्छ । 

 

नर्सरी व्यवसायका लागि चाहिने माटो देखि लिएर प्लाटिक, मल सबै किनेर ल्याएर त्यसलाई व्यवस्थित ढङ्गबाट गर्नुपर्छ । माटो साँखुबाट ल्याएर विउहरु उत्पादन गरी बेच्ने गर्नुपर्छ । हरेक फुलहरु, तरकारीहरु सबै विदेशबाट ल्याई उत्पादन गर्नुपर्दछ । 

 

विशेषगरी नर्सरीमा थोरैको २० देखि लिएर २५ सय सम्मको बोटविरुवा उत्पादन गरी बेच्ने गर्छिन । ग्राहकहरु थरीथरीका आउछन् । उनीहरुलाई चित्त बुझाउन धेरै गाह्रो हुन्छ । एउटा विरुवा किनेर माटो सित्तैमा हैन् भन्ने ग्राहकहरु पनि आउँछन् । समग्रमा वोटविरुवा किन्नका लागि नजिककै वरिपरिका बासिन्दाहरु आउने गर्दछ । यसरी नै दिनरात नभनी मेहनत गरेकाले अहिले सम्म राम्रो जीवनयापन चलिरहेको छ । 

 

विदेशमा पनि मेहनत नगरी पैसा आउदैन । झन नेपालको भन्दा धेरै विदेशमा काम गर्नुपर्छ । आफ्नो सीप, कला भयो भने नेपालमा नै राम्रो कमाइ हुन्छ । यही आफुले मेहनत गर्‍यो भने विदेशमा भन्दा पनि राम्रो कमाएर आफ्नो जीवनयापन गर्न सकिन्छ । विदेशमा भन्दा नेपालमा गर्न चाहने व्यक्तिलाई उचित वातावरण रहेको लक्ष्मीले बताइन् ।   

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार