• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

राष्ट्र कल्याणको कामना सहित सकियो अश्वमेध महायज्ञ

वीरगन्ज – वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञ बुधबार राष्ट्र कल्याणको कामना सहित समापन भएको छ।

 

देवसंस्कृति विश्वविद्यालय हरिद्वारका उपकुलपति डा. चिन्मय पाण्ड्या, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका अध्यक्ष उद्योगपति उपेन्द्र महतो, समितिका संयोजयक तथा वीरगन्जका नगरप्रमुख विजय सरावगीलगायतको उपस्थितिमा विभिन्न अनुष्ठान पूरा गर्दै महायज्ञ समापन गरिएको हो। समापनमा २५ हजारभन्दा बढीले यज्ञमा भाग लिएको र दर्शनार्थीका रूपमा हजारौंको सहभागिता रहेको आयोजकले जनाएको छ।

 

डा. पाण्ड्याले चरित्रमा सकारात्मक परिवर्तन ग्रहण गर्न सके मानिसको जीवन यज्ञमय हुने बताए। उनले अरूको कल्याणका लागि समर्पित जीवन सार्थक हुने बताए। मुख्यमन्त्री राउतले विभिन्न समुदाय आ–आफ्नो वर्चस्वका लागि लडाइँ गरिरहँदा विश्वसामु शान्ति स्थापनाको चुनौती थपिएका बेला लोककल्याणको कामनासहित गरिएको यो महायज्ञ एउटा महान् कार्य भएको टिप्पणी गरे। वैदिक कालदेखि यता नेपालमा पहिलोपटक अश्वमेध आयोजन भएको आयोजकले बताएका छन्।

 

कलश पूजन, दैनिक सामूहिक हवन, दीप प्रज्वलनसहित विभिन्न धार्मिक कार्यक्रम भएको यज्ञ अवधिभर एक लाखभन्दा बढीले निःशुल्क भोजन गरेको जनाइएको छ। आगन्तुकहरूका लागि बृहत् भान्छा स्थापना गरिएको थियो।

 

यज्ञ अवधिभर हरेकपटक नेपालको उन्नतिको कामना गर्दै हवन र पूजा गरिएको सरावगीले बताए। मंगलबार यज्ञस्थलमा ३ लाख बत्ती बालिएर दीप यज्ञ गरिएको थियो भने नगरवासीले आ–आफ्ना घरअगाडी पाँच÷पाँचवटा दियो बालेर राष्ट्र कल्याणको कामना गरे। महायज्ञमा विभिन्न देशका सहभागीले भाग लिएका थिए। नागरिक दैनिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार