• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

गाउँ मै श्रम रोजगार बैंक स्थापना

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा श्रम रोजगार बैंकले औपचारिक रूपमा कारोबार सुरु गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमबीच श्रम रोजगार बैंकको औपचारिक रूपमा घोषणा गरिएको हो । नगरले आफ्नो क्षेत्रको विकासका लागि बेरोजगार युवालाई रोजगार दिन श्रम रोजगार बैंकको स्थापनासँगै घोषणा गरेको हो । २६० जनालाई घोषण गरेकै दिनबाट औपारिक रूपमा श्रममा लगाउने उद्देश्यका साथ कार्यक्रमको घोषणा गरिएको छ ।

 

स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष पुग्नै लाग्दा नगरपालिकाले बेरोजगार युवाहरूलाई विदेसिनबाट रोक्न श्रम बैंकको स्थापना गरेको घोषणा कार्यक्रममा नगरप्रमुख कासिचन्द्र वरालले बताए । श्रम बैंकमा रहेका युवा ५० वर्ष पुगेको बेला प्यान्सेन सहित अवकाश गर्ने कार्यविधिमा उल्लेख गरिएको नगर प्रमुख वरालले बताए । श्रम रोजगार बैंकमा महिलाको पनि सहभागिता रहेको छ । १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनका बेला ज्यान गुमाएका, घाइते अपांग भएका तथा बेपत्ता पारिएका परिवारका सदस्यसमेत श्रम रोजगार बैंकमा समावेश गरिएको छ ।

 

सबै सदस्यको एकल कमान्ड गर्ने कमान्डर पद्मबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै, सहकमान्डरका रूपमा नरध्वज खड्का र अरुण शाहीलाई चयन गरिएको छ । उनीहरू पूर्वजनमुक्ति सेनाका कमान्डर हुन् । झट्ट हेर्दा सुरक्षा दस्ताजस्तो देखिने श्रम रोजगार बैंकका सदस्यलाई फौजी तालिम पनि प्रदान गरिँदै आएको छ । रास्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजन मल्ललाई प्रशिक्षक तोकिएको छ ।

 

श्रम रोजगार बैंकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाका अध्यक्षले गरेका छन् । जनसंख्याको आधारमा कुन वडाले कति जना छनोट गर्न पाउने भनेर कार्यविधिमा उल्लेख गरिएकाले बिनाविवाद छनोट प्रक्रिया सकिएको हो । धेरै जनसंख्या भएका वडाले ३२ जनासम्म छनोट गरेका छन् । नगरका वडा नम्बर १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ जना युवाको छनोट गरेर श्रम रोजगार बैंकमा समावेश गरिएको छ ।

 

घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख बरालले यसको व्यवस्थापनमा चुनौती रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा वोल्दै समाजिक विकास समितिका संयोजक दयाराम सिम्खाडाले कुनै जनप्रतिनिधि असुरक्षित भएर त्यसको सुरक्षाका लागि श्रम रोजगार बैंकका नाममा युवाहरूलाई रोजगारी नदिएको भन्दै यस्तो भ्रममा कोही नपर्न आग्रह गरे । विश्वनाथ सिम्खाडा/ राजधानी दैनिक
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार