• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
रंगमञ्च

‘प्रस्तुतिका हिसावले विदेशी नाटकहरुमा प्रयाप्त उर्जा देखिन्छ’

टेकुमा जन्मिएकी आकांक्षा कार्की रंगमञ्चलाई आफ्नो जीवनको सबैभन्दा प्रिय वस्तु मान्छिन् । डा. अरुणा कार्की तथा सहायक रथी सन्तोष कार्कीकी जेठी छोरी आकांक्षा नाटक लेख्नभन्दा पनि अभिनय गर्न सजिलो हुने बताउँछिन् । अहिले भइरहेको नाट्य महोत्सवले रंगमञ्चमा झन धेरै काम गर्ने उर्जा थपिदिएको उनको भनाई छ । थिएटर खुलेको पहिलो वर्षमा नै यसरी महोत्वस आयोजना गर्न पाउनु भनेको एउटा उदाहरणीय काम भएको उनको ठ्म्याई थियो । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०७५’ को सेरोफेरोमा केन्द्रीत रहेर फ्रेसन्युज नेपालले उनीसंग कुराकानी गरेको थियो । उनीसंग गरिएको कुराकानीको सार :

 

अहिले देशमा नाट्य महोत्सवको माहोल चलिरहेको छ, कस्तो लागिरहेछ ? 
हामी रंगकर्मीहरुको लागि यो एउटा अवसर हो । मैले यहाँ आएर यो वर्ष मात्र कौसी थिएटरको सुरुवात गरेको हो । यो थिएटर असारमा खुलेको हो र यो खुलेको अहिले एक वर्ष पनि भएको छैन । अब पहिलो वर्षमा नै यती ठुलो उदाहरणीय महोत्सवको संचालन गर्न पाउँदा खुशी छु र फेरी हामी यस महोत्सवको आयोजक पनि हौ । यो मेरो र थिएटरको लागि एकदमै ठुलो अवसर हो जस्तो मलाई लाग्छ । यसको लागी म एकदमै आभारी छु । यसमा केही चुनौतीहरु पनि थिए र मैले ती चुनौतीहरुलाई एउटा सिक्ने मौकाको रुपमा लिईरहेकी छु ।  

 

नाट्य महोत्सव आयोजना गर्नुको मुख्य उदेश्य के हो ? 
अझै पनि मान्छेहरुलाई नेपालमा थिएटरको महत्व, थिएटरको बारे र थिएटरले समाजमा  दिनसक्ने योगदानको बारेमा धेरै थाहा छैन । तपाई आफैले पनि नाटक हेर्नुहुन्छ र त्यसमा तपाई पनि सबै नाटक पक्कै पनि हेर्नुभएको छैन होला । अब अहिले यही महोत्सवले गर्दा पनि धेरै दर्शकहरुले थिएटरको बारेमा थाहा पाउन थालेका छन् । यसको सबैभन्दा ठुलो योगदान भनेको यसले प्रचारप्रसार पाएको छ । यो महोत्सवको उदेश्य भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपाली रंगमञ्चलाई चिनाउनु पनि हो । हामीलाई यसबाट केही आम्दानी होला भन्ने पनि छैन । नेपालको रंगमञ्चलाई चिनाउने यो एउटा माध्यम पनि हो । नेपालमा थिएटर कला फस्टाइरहेको छ । यसलाई जोगाउनु पर्छ भनेर हामी प्रतिवद्धताका साथ अघि बडिरहेका छौं । 

 

 

यस नाट्य महोत्सवमा तपाईको थिएटरमा अहिलेसम्म कतिवटा नाटक मञ्चन भए ? 
हामीले तीन दिन नेपाली नाटक देखायौं । मण्डला, शिल्पी र हाम्रो थिएटरमा चाहि अहिलेसम्म अन्तराष्ट्रिय नाटकहरु  एक दुईवटा भयो । हाम्रो नाटक देखाउने समय कस्तो छ भने अब हामीकहाँ अन्तराष्ट्रिय नाटकहरु मञ्चन हुन सुरु भइसकेका छन् ।  विदेशी नाटक देखाउने पालो सुरु भएको छ । तीन दिन चाहि हामीले नेपाली नाटक नै मञ्चन गरेका थियौं । फेरी नेपाली दर्शकहरुलाई विदेशी नाटक धेरै राम्रो हुन्छ भन्ने सोच हुँदोरहेछ । त्यसैले पनि नेपाली नाटकहरुमा सोचेभन्दा कम दर्शकहरु देखिएका छन् । तर महोत्सवले गर्दा एकथरीका दर्शक भने निरन्तर रुपमा आईनै रहेका छन् । 

 

यस्तो खालको महोत्सवले देशलाई के फाइदा हुन्छ  ?  
यस्ता महोत्सवहरुको आफ्नै विशेष महत्व हुन्छ । यी महत्सवलाई हामीले आर्थिक लाभ भन्दा पनि कलालाई कसरी चिनाउने र नाटय बिधालाई माथी उठाउने भनेर सोच्छौं । कलालाई पैसा संग तुलना गर्नु मिल्दैन । पैसा नलिएर पनि हामी नाटकका लागि काम गर्न तयार हुन्छौं । कलाको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो भन्ने बुझेर नै हामी खटिएका हौं ।  कलालाई बचाउन पर्छ भन्ने दृढ इच्छा शक्ती भएका साथीहरु यसमा हुनुहुन्छ ।  १ सय जना भन्दा बढी साथीहरु खटिएका छौं । स्वयंसेवक, निर्देशक, सल्लाहकारहरु हुनुहुन्छ । मन देखी नै साथीहरु यसलाई सफल बनाउन लाग्नु भएको छ । हामी सबै खटिएका छौं । देश विदेशका नाटकहरु यसरी मञ्चन हुदा सास्कृतिक आदान प्रदान एक अर्कोको कला साहित्य बुझ्ने राम्रो अबसरकारुपमा हामीले बुझनु पर्छ । भोलिका दिनमा हाम्रो कला साहित्यले एउटा उचाई हासिल गर्न सक्यो भने त्यो हामी सबैको पहिचान पनि त हुन्छ । 

 

 

नेपाली नाटक र विदेशी नाटकमा काम गर्ने तरिकामा कस्तो फरक देख्नुभयो ?
नाटक भनेको समूह र बनाउने मान्छेमा निर्भर हुन्छ । नेपाली नाटकहरु एकदमै शानदार छन् । नेपालमा दुई, तीनजना राम्रा युवा निर्देशकहरु छन् जसले अहिलेको समकालीन अवस्थालाई लिएर धेरै राम्रा नाटकहरु निर्देशन गरिरहेका छन् । । नेपालमा पर्याप्त स्रोत साधन र सुविधा प्रदान गर्न सके र त्यही अनुसारको समूह बन्ने हो भने अझ राम्रा नाटकहरु गर्न सकिन्छ । 

 

नाटकको विषय र प्रस्तुतिका आधारमा कोही कसै संग पनि तुलना गर्नु मिल्दैन । कतिपय  नेपाली नाटकहरु बेजोर्ड लाग्छन । मेकर को हो भन्ने कुराले पनि नाटक कस्तो बन्यो भन्न सकिन्छ । प्रस्तुतिका हिसावले विदेशी नाटकहरुमा प्रयाप्त उर्जा देखिन्छ । विदेशी नाटक ठूलो पूलबाट छानिएको हो । विदेशी नाटक धेरै वर्ष अगाडिबाट हुदै आएको तर नदेखाइएको हो । नेपाली नाटकहरु नयां नाटकहरुलाई प्राथमिकता दिनुपर्छ भनेर छानिएका हुन ।

 

विदेशी नाटकहरुमा लाइटको डिजाइनमा धेरै फरक र राम्रो ढङ्गबाट प्रयोग गरिएको जस्तो देख्छु । नाटकलाई लिएर थिएटरमा फग मेशिन प्रयोग गर्दा पनि कथा लुकेको हुन्छ । यसमा निर्देशकहरुले लाइटको उचित प्रयोग गरेको पाइन्छ । 

 

प्रस्तुति : अरिष्मा लामा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार