• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

‘पोयट्री पटरी’ मा रंगकर्मीका कविता

‘मान्छेको जीवन पनि

रूख जस्तै हुनु नि है

शिशिरमा खस्यो

वसन्तमा पलायो

तर त्यस्तो हुँदैन

मान्छेको जीवन खस्यो त खस्यो’

 

काठमाडौं । कलाकार नाजिर हुसेनले जब गितारको मधुर धूनसँगै यी शब्दहरू वाचन गरिरहँदा दर्शकहरू निकै भावुक देखिन्थे । नेपाली रङ्गमञ्च र सिनेमामा परिचित नाजिरको कवि व्यक्तित्वसँग धेरै अपरिचित थिए । र, पहिलो परिचय मै उनले प्रभाव छाडे । आमाको सम्झनामा उनले सुनाएको कविताले भावुक बनाएको प्रतिक्रिया धेरै दर्शकको थियो । 

 

नाजिरले पहिलोपल्ट कविता सुनाएपनि उनल आफुले लेखेका कविताहरु डायरीमा संग्रहित गरिरहेका छन् । कलाकारिताको दौडमा रहेका उनले ती कवितालाई सार्वजनिक गर्ने मौका पाएका थिएनन् ।

 

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर थिएटर मलले आफ्नो नाटकघर कीर्तिपुर रङ्गमञ्च, कीर्तिपुरमा आयोजना गरेको कार्यक्रम ‘पोयट्री पटरी : रंगकर्मीका कविता’ कार्यक्रममा नाजिरले कविता सुनाउने मौका पाए । 

 

‘पोयट्री पटरी’ मा उनीमात्रै होइन, थुप्रै रंगकर्मीले कविता सुनाए । त्यस्तै अर्का प्रतिभा थिए प्रविण खतिवडा । रंगमञ्च र सिनेमामा परिचित उनले सुनाएको कविताले पनि धेरैलाई चकित पारेको थियो ।

 

कार्यक्रममा संयोग गुरागाईं, असीम  खनाल, प्रसुन सिन्धुलीय, केदार श्रेष्ठ, समीर पौडेल, क्षितिज समर्पण, सञ्जिता पराजुली, हिरा बिजुली, राज शाह, सविर चुरौटे, गणेश पौडेल, अनुजा अधिकारी, कृष्ण खड्कालगायत रङ्गकर्मीका कविता कार्यक्रममा सुनाए । कवि सौरभ कार्की, कला अनुरागी र निरज बलामीले अतिथि कविको रूपमा कविता सुनाए । 

 

अधिकांश रङ्गकर्मी कवितासँग नजिक रहने भएकाले उनीहरूमा पनि काव्यिक प्रतिभा हुन्छ, त्यसैलाई उजागर गर्नका लागि यस्तो कार्यक्रम गरिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए । ‘यो दोस्रो श्रृंखला हो, यसअघि हामीले रातो घर, रविभवनमा कार्यक्रम गरेका थियौं । अब यो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार