• शनिबार २-११-२०७६/Saturday 05-25-2019
विचार

अलबिदा रवीन्द्र जी

ताप्लेजुङ्गको पाथीभरामा हेलीकोप्टर दुर्घटना भएको तथा त्यसमा सवार संस्कृति नागरिक उड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत अन्य छ व्यक्तिहरु (पाइलट प्रभाकर केसी, यति एयरलाइन्स तथा एयर डाइनेष्टिका मालिक एवं पर्यटन व्यवसायी आङ्छिरिइं शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड़यान प्राधिकरणका उप–महानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ तथा धुर्वदास भोछिभोया तथा गार्ड अर्जुन भिमिरे) को निधन भएको दुखद समाचारले स्तव्ध तुल्यायो । मृतकहरुप्रति  श्रद्धाञ्जली अर्पण तथा उहाँहरुको परिवारका सदस्यहरुमा सम्वेदना प्रकट गर्दै संघीय सरकारको मन्त्री तथा आफुले चिनेको व्यक्ति भएको हुनाले रबिन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन यो लेखिएको हो । 

 

२०५७ साल अर्थात प्रथम जन–आन्दोलनको सफलता भएको पाचबर्ष बित्न नपाउँदै धुण्डकारी पहिचान स्थापित गरिसकेका राजाका भतिजा शाहजादा पारस बिर बिक्रम शाहदेव चालक रहेको नारायणहिटी दरबारबाट निस्केको गाडीले मोटरसाइकल सवार गायक एवं संगीतकार प्रविण गुरुङलाई कुल्चाएर भागेको समाचार प्रसारण भयो । राजदरबारद्धारा चालिएको अधिराजकुमार ज्ञानेन्द्रको अति नै ‘पुलपुलिएको एकल छोरा’ निर्दोश साबित गर्ने साजिगीको बिरोधमा बिद्यार्थीहरु आन्दोलित भए। उक्त आन्दोलनको नेतृत्व बिद्यार्थी नेता रवीन्द्र अधिकारीले गर्दै छन् भन्ने सुनिएको थियो । रवीन्द्र  अधिकारी नाम यही अवसरमा मैले सुनेको थिए । आन्दोलन भईरहने त्यसकाल खण्डमा यो आन्दोलन मेरा लागी नौलो थियो । राजाका भतिजाले ‘हिट एण्ड रन’ जस्तो जघन्य अपराधमा संलग्न हुदा संवैधानिक राजसंस्था उक्त घटनालाई ढाकछोप गर्न अग्रसर हुनु आफैमा बिडम्बना थियो । गाडीले ठक्कर दिएर फरार हुनु भनेको संसारभर नै जघन्य अपराध मानिन्छ । 

 

दोस्रो कारण चाही बिरोध प्रदर्शनको नाममा चक्काजाम, टायर बाल्ने आदी देखि टुडीखेलको रेलिङ्गसम्म भत्काउने राजनीतिक दलको भातृ संगठनका बिद्यार्थीहरुले यो आन्दोलन बिगतमा प्रदर्शन गर्ने गरेको ध्वन्सात्मक चारित्रिक गुणहरुको ठिक बिपरीत थियो । ‘हत्यारा बस्ने दरबार होइन झ्याल खाना’ नारा घनकाउँदै जघन्य अपराधलाई ढाकछोप गर्न लागी परेको राजदरबारमा पाचँलाख २३ हजार नागरिकको सहिछाप बुझाउने सरहानीय कार्य ‘कम्युष्टि’ टाचा लगाएका बिद्यार्थीहरुबाट भएको थियो । यो युवा उर्जालाई शान्तीपूर्ण तरीकाले परिचालन गरेर राजदरबारलाई चुनौती दिने अत्यन्त शाहसिक, सृजनशील तथा सम्मानजनक कदम थियोे । त्यस आन्दोलनको नेतृत्व तथा उक्त कार्यहरुका आर्किटेक रवीन्द्र अधिकारी थिए । तिनको यो हिम्मततीलो कार्यबाट प्रभावित भएर प्रशंसक भएको हुँ। त्यस कालखण्डमा अपरीचित युवा नेता प्रतिको मेरो आदर तथा सम्मान यही आन्दोलनबाट जागेको थियो । 

प्रथम संविधानसभाको चुनाव पछि मलाई बिभिन्न दलसंग आवद्ध भएका युवा नेताहरुको बिषयमा अनुसन्धान गरेर  पुस्तक लेख्ने धुन चलेको थियो । यस प्रयासका सर्वसाधारण मतदाताहरुलाई भोलीका हाम्रा नेताहरुसंग परिचित गर्ने उदेश्य थियोे । यसै प्रसंगमा मेरो भेट योगेश भट्टराईसंग भयो । योगेश भट्टराईलाई आफ्नो उदेश्य बताए पछि तीनले आफु मात्र नभएर ‘रवीन्द्र ’ को समेत सहयोग मिलाईदिने आस्वासन दिए । आफनै माहान नेता कहलाउने होडबाजी चलेको परिपेक्ष्यमा यो नौलो अनुभव थियो (मेरा निमित्त) एउटा नेताले अर्को नेताप्रति सम्मान प्रदर्शन गरेको । प्रजातन्त्रको पुर्नस्थापना पछिको कालखण्डमा अन्यथा कुनै पनि नेता अर्को नेताको बिषयमा मैले राम्रो सुन्न पाएको थिइन । अर्कालाई होच्याउन पायो भने आफु माहान भईहाल्छु कि भन्ने संस्कार हाबी भएको परिपेक्ष्यमा योगेशजीले रवीन्द्रजीको नाम लिदा म आच्म्मित भए । त्यतिन्जेल उहाँहरु बीचको सम्बन्ध ‘प्रिय साथी, भौतिक रुपमा गयो उ, तर म भित्र सधै रहिरहने छौं’ थियो थिएन मलाई थाहा छैन । तर त्यसबेलाको योगेशको अभिव्यक्तिलाई मैले रबिन्द्र अधिकारी प्रति तिनको आदर वा सम्मानको प्रतिबिम्ब ठाने र अझै त्यही मनस्थितीमा छु । रबिन्द्रले आफ्ना समकालीन कमरेडहरुबाट सम्मान आर्जेका रहेछन् भन्ने मेरो बुझाइ थियो र छ ।    

 

अन्नपूर्ण पोष्टका प्रधान संपादक हरि बहादुर थापाको  पुस्तक ‘भ्रष्टाचारको शल्याक्रिया’ को बिमोचन कार्यक्रममा रवीन्द्र  अधिकारीलाई पहिलो पटक टेलिभिजनको पर्दा बाहिर देख्ने अवसर मिलेको थियो । उनी उक्त पुस्तकको तीन समिक्षकहरु मध्य एक  थिए । रबिन्द्रजीले पुस्तकको स्वस्थ आलोचना गरे कमी कमजोरीहरु औल्याए । उनको प्रस्तुतिबाट स्पष्ट हुन्थ्यो कि तीनले पुस्तकको प्रत्येक अंश पढेर लेखकको आसयहरुलाई सक्षमसंग अध्यन गरेका थिए । उनको भाषणकला प्रभाबसाली थियो। त्यस पश्चात मलाई लाग्यो यिनी युवा नेता मात्र नभएर अध्यनशील बौद्धिक दक्षता भएको प्रभावशाली वक्ता पनि रहेछन् । 

 

त्यस पश्चातका दिनहरुमा रवीन्द्र अधिकारीसंग परीचित हुने अवसर पनि जुट्यो । हसिलो मुहार तथा मृदु भाषी अधिकारीलाई एलायन्स फर सोसियल राइटसको कार्यक्रम निमन्त्रणा गर्ने निधो गरियो । निर्माणाधीन सानो संस्थाले संचालन गरेको कार्यक्रममा उनी जस्तो उदयमान संबिधानसभा सदस्य आउदैनन् होला भन्ने सोच राखेको थिए । माननीय सभासद हाम्रो निम्तोलाई स्वीकारेर ठिक समयमा आउनुभयो तथा कार्यक्रम अवधीभरी बसेर अन्य वक्ताहरुको भनाइ समेत धैर्य भएर सुन्नुभयो । उक्त अवसरमा तिनले संविधान निर्माण कार्यमा भइरहेको प्रगति तथा चुनौतीहरुको वर्णन समक्षिप्तमा सहभागीहरुलाई गराएका थिए । सोहि संस्थाबाट प्रकाशित गरिएको ‘बिनासकारी’ भुकम्प बिषेशांक पत्रिकाका निमित्त उनले एउटा लेख पनि दिएका थिए जुन प्रकाशित भएको छ ।

 

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अन्य मन्त्रीहरु सरह अधिकारी पनि दौडधुप तथा आफ्नो मन्त्रालयका कार्य योजनाहरु प्रस्तुत गर्न आक्रमक भएर लागिपरे । सयदिन नपुग्दै प्राय सबै मन्त्रीहरुको दौडधुप तथा प्रयासहरु इन्धन सकिएको गाडीमा रुपान्तरित भयो । त्यसो त अधिकांश मन्त्रीहरुले व्यक्त गरेका प्रतिबद्धतालाई पनि सहज तरीकाले बिर्सिए । तर यी मन्त्रीको उर्जा सकिएन । निरन्तर खटिनै रहे ।  मन्त्री कहिले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल त कहिले निर्माणाधीन पोखरा तथा भैरहवा बिमान स्थलहरुको अवलोकन गर्न पुगेको समाचारहरु प्रसारण हुनेक्रम जारी रह्यो । आफ्नो मन्त्रालय अन्र्तगत भएका वा गरिएका कार्यहरुलाई उनले ट्वीटर मार्फत पनि सार्वजनिक गर्ने कार्यलाई जारी राखे । भारतले नयाँ दुई हवाई रुट दिने भयो भन्ने समाचार ट्वीटर मार्फत सार्वजनिक गरेको सायद अन्तिम  थियो ।     

 

मन्त्री अधिकारीको कार्यशैलीको प्रशंसा गर्दा गर्दै कहिलेकाही मन्त्री पदलाई उनले निती निर्माण कार्य तर्फ अग्रसर तुल्याउनुको साटो किन स्थलगत भ्रमणमा खर्ची रहेका छन् जस्तो पनि लाग्थ्यो । आफ्नो माथीका कर्मचारीहरु.लाई अधिकार प्रयोजन गर्ने तथा उनीहरुलाई बिश्वासमा लिएर जिम्मेवारी सुम्पिए र जबाफदेही तुल्याउन लागिपरेको भए उनले यति बिग्न खटीनु पर्ने थिएन जस्तो लाग्छ । आखिर मन्त्रीका सामु कार्य हुने अनि उनका पछाडि पुरानै अवस्थामा फर्कने रोग पिडीत संस्कारले तिनको मन्त्रालयलाई अछुत तुल्याएको थिएन । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल जल्दोबल्दो उदहारण हो । रवीन्द्र अधिकारी मन्त्री भएर लगातार निरीक्षण गर्न थालेपछि त्यहाँको स्थितीमा अत्याधिक सुधार आएको थियो । जब उनी अन्यत्र लाग्न थाले स्थीति ‘व्याक टु मंगल मान’ मा परिणत भयो । त्यही बेथिती, त्यही भद्रगोल, हुदाँहुदै पहिले जस्तै गरी हवाईजाहज अवतरण हुनुका निमित्त एकदुई घण्टा आकाशमा चक्कर मार्नुपर्ने, ट्याक्सी पार्क गर्ने स्थानको अभावमा रनवे अवरुद्ध गरेर कुर्नुपर्ने अनि टर्मिनल भवन प्राङगणमा कुशल ब्यवस्थापनको बिग्र पर्खाइमा बस्नुपर्ने । 

 

हेलिकोप्टर दुर्घटनाले थुप्रै प्रश्नहरु उठाएका छन् त्यसतर्फ नजाउ । यथार्त के हो भने एउटा नेता जो बिद्यार्थीकाल देखि नै यस देशमा सम्बृद्धी ल्याउँछु भनेर कटिबद्ध थियो उनको सपनाहरु चक्नाचुर भए । तिनी कुनै ‘जोवई राइड’ का निमित्त नभएर कर्तव्य पुरा गर्ने क्रममा थिए । मन्त्री रबिन्द्र अधिकारीले थुप्रै अपुर्ण कार्य तथा सामाग्रीहरु छोडेका छन् । तीनका मतदाता तथा हामी सर्वसाधरणहरुको मन–मस्तिकमा लामो अबधीसम्म रही रहने निश्चित छ । त्यसैगरी तीनका कृतिहरु खासगरी पुस्तक ‘संम्वृद्धि’ ले हासिलो अनुहार भएको असल राजनीतिक व्यक्तित्व भएको नेताको सदा स्मरण गराईरहने छ । मृतक सातैजनालाई श्रद्धाञ्जली दिंदै चिर शान्तिको कामना सहित अलबिदा ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार