• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

हेलिकोप्टर दुर्घटनाका शव पहिचानमा समस्या

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको पहिचानमा समस्या देखिएको छ । फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव बिहीबार दिउँसो काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको शव पहिचान भएको बताइए पनि समस्या देखिएको छ ।

 

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका अनुसार मृतकहरूको नमुना संकलन भइरहेको र सनाखतका लागि समय लाग्ने जनाएको छ । विभागका प्रमुख विशेषज्ञ प्रा।डा। हरीहर वस्तीका अनुसार मृतकको पहिचानका लागि डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन गरिनुपर्ने हुन्छ । यसका लागि क्षतविक्षत रूपमा रहेका मृतकहरूको शरीरका भागलाई परीक्षण गनुपर्ने हुन्छ । यसका लागि समय आवश्यक पर्ने भएकाले परिवारलाई शव बुझाउन कति समय लाग्छ अहिले नै भन्न सक्ने अवस्था रहँदैन । यसका लागि चिकित्सकहरुको टोलीले दत्तचित्त भएर काम गरिरहेको उनको भनाइ छ । यसका लागि औंठा छापसमेतलाई आधार मान्ने गरिन्छ । औंठा छापका लागि रातको समयमा समेत काठमाडौं जिल्ला प्रशासन कार्यालय खुला रहन्छ । उनले भने, ‘यो पोस्टमार्टमभन्दा विस्तृत हो र गहिराइमा पुगेर परीक्षण गर्नुपर्छ । प्रत्येक अंग प्रत्यंगको सनाखतसमेत गर्नुपर्ने हुन्छ, यसमा प्रशस्त समय लाग्न सक्छ ।’

 

दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उडड्यन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पीएसओ अर्जुनकुमार र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

 

भौगोेलिक कठिनाइ तथा प्रतिकूल मौसमका कारण उद्धार तथा घटनास्थलबाट शव निकाल्न समस्या परेको थियो । प्रतिकूल अवस्थाका बाबजुत उद्धारमा संलग्न नेपाली सेनाको टोलीले डोरीको सहायतामा चार जनाको शवलाई बुधबार बेलुकी सुकेटार विमानस्थलसम्म ल्याएको थियो । बाँकी तीनको भने घटनास्थलमा रातभर कुरेर बिहीबार बिहान मात्र शव निकाल्न सम्भव भएको थियो । शवलाई सुकेटार विमानस्थलसम्म ल्याइए पनि प्रतिकूल मौसमका कारण समस्या देखिएपछि ताप्लेजुङबाट काठमाडौं उड्न ढिलाइ भएको थियो ।

 

बिहीबार दिउँसो १२ बजेर ८ मिनेटमा सुकेटारबाट काठमाडौं उडेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ बजेर १८ मिनेटमा अवतरण गरेको थियो । दुर्घटनामा परी क्षतविक्षत तथा जलेर नचिनिने अवस्थामा रहेका शवलाई पोको पारेर ल्याइएको थियो । यो दृश्यले विमानस्थलमा सन्नाटा छाएको थियो ।

 

शव ल्याउने क्रममा विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ, सचिवहरू, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, मृतकका आफन्त तथा सञ्चारकर्मीहरूको बाक्लोे उपस्थिति रहेको थियो ।

 

शवलाई पहिचानका लागि विमानस्थलबाट शिक्षण अस्पताल महाराजगन्ज पु¥याइएको थियो । शिक्षण अस्पतालमा शव पुग्दा भावविह्वल अवस्थामा रहेका आफन्त तथा शुभचिन्तक, विभिन्न दलका नेता, कार्यकर्ता र सांसदहरूलाई स्तब्ध तुल्याएको थियो । उपस्थित सबैले देशले आशा गरिएकाहरूको दुर्घटनामा परी निधन भएको भन्दै दुःख व्यक्त गरेका थिए ।

 

अन्तिम समयमा सर्यो सामूहिक श्रद्धाञ्जली

पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको हेलिकोप्टर दुर्घटनामा मृतकहरूको शव पहिचानमा कठिनाइ भएको छ । जस कारण बिहीबार हुने भनिएको श्रद्धाञ्जली सभाको सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा शुक्रबारका लागि सारिएको छ । शव पहिचानपश्चात् पार्थिव शरीरलाई सैनिक मञ्च टुँडिखेलमा राखेर सामूहिक श्रदाञ्जली दिइने भएको छ ।

 

श्रद्धाञ्जली सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तय भएको थियो ।

 

मन्त्री अधिकारीको अन्तिम संस्कार पोखरामा हुने

पर्यटनमन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि गृह जिल्ला कास्की लगिने परिवारिक स्रोतले बताएको छ । टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीपश्चात् बिहीबार नै पोखरा लाने तयारी रहेको भए तापनि पोस्टर्माटममा भएको ढिलाइका कारण सम्भव हुन सकेन । सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

केशवप्रसाद पाण्डे/ राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार