• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

'कृषि क्षेत्रमा निर्धक्क लगानी गर्ने बातावरण बनाइनुपर्छ'

पर्शुराम कुँवरको बैंकिङ क्यारियरको यात्रा सन् १९८६ मा ग्रीनलेज बैंकबाट सुरु भयो । उनले १७ वर्षसम्म उक्त अन्तरर्राष्ट्रिय बैंकमा बिताए । नेपालमा बाणिज्य बैकिङ सुधार कार्यक्रम अन्र्तगत नेपाल बैंकको व्यवस्थापन बिदेशी परामर्शदातालाई सुम्पिएको थियो । कुँवर उक्त बिदेशी परामर्शदाताको टिममा सामेल भए । त्यस टिमका सदस्यको हैसियतमा उनले साढे तीन वर्षसम्म नेपाल बैंकको व्यवस्था सुधार कार्यमा संलग्न रहे । त्यसपछि कुँवर प्राइभेट बैंकमा प्रवेश गरेका हुन् ।

 

तीन दशक लामो बैंकिङ क्षेत्रसंगको उनको सम्बन्ध प्रगाढ बन्दै गएको छ । देशमा भएका विभिन्न राजनीतिक उतारचडाव हुँदा पनि उनले यो पेशालाई निरन्तरता दिंदै आएका छन् एक सफल बैंकरको भूमिकामा । बिदेशी बैंकहरुमा कार्य गर्ने अवसरहरु उनलाई पटक पटक आएको थियो । त्यस्ता अवसरहरुको पछाडी लाग्नुको साटो कुँवरले देश भित्र रहेर आफूले योगदान गर्ने निर्णय गरे । कुँवरसँग फ्रेसन्यूज नेपालले उनीसँग गरेको कुराकानी :

 

झण्डै तीन दशक लामो बैंकिङ क्षेत्रको यात्रामा संलग्न रहनु हुँदा आफुले सुरु गरेको समय र आजका दिनमा के कस्तो भिन्नताको अनुभव गर्नुभयो ? 
अहिले बैंकिङ क्षेत्रमा धेरै नै परिवर्तन भएको छ । मैंले बैंकिङ क्यारियर सुरु गर्दा यस क्षेत्रका बिषयमा मलाई धेरै कुराहरु थाहा थिएन । बिगत तिन दशकको अवधिमा मैंले धेरै कुराहरु सिक्ने अवसरहरु पाए । वास्तवमा मैंले काम शुरु गरेको ग्रीनलेज बैंकबाट हो । तर एउटै बैंकमा रहँदा पनि तिन तीन अन्तरराष्ट्रिय बैंकको अनुभव संगाल्ने अवसर पाए । ग्रीनलेज बैंक ब्रिटिस बैंक थियो । ग्रिनलेज बैंकको यहाँको कारोबार बैंक अफ अष्ट्रेलियालाई सुम्पियो । बेलायती प्रणालीबाट अस्ट्रेलियन प्रणाली अनुरुप कार्य गर्नुपर्‍यो उसले लिएपछि हामीले उसकै अनुसार काम गर्नुपर्‍यो । केही समयपछि बैंक अफ अस्ट्रेलियाले ए एण्ड जेड बैंकलाई यहाँको कार्यभार बिक्री गर्‍यो । केही समयपछि नै ए एण्ड जेड ले स्ट्याण्र्डड चार्टड बैंकलाई बेचिदियो । मैंले काम गरेको चाहिँ नेपालमा स्थापना भएको बिदेशी बैंकसँग मात्र हो जसको स्वामित्व ५० प्रतिशत स्ट्याण्र्डड चार्टर बैंकसंग छ । त्यस अर्थमा तीनवटा अन्तर्राष्ट्रिय बैंकसंग काम गरेको अनुभव पनि मैले बटुल्न पाए ।  

 

अहिले अर्थतन्त्रको साइज नै ठूलो भयो । बिभिन्न किसिमका बैंकिंग क्षेत्र सम्बन्धी कानुनहरु निर्माण भैसके । पहिला एकदमै साधारण कानुनहरु थिए  । हामीले  बैंकिङ क्यारियर सुरु गर्दाको संस्कार बेग्लै थियो । बैंकहरु ग्राहककोमा जाने बैंकहरुमा आउने होइन भन्ने मान्यता थियो । त्यतिबेला हाम्रो बाहेक निजी क्षेत्रका बैंकहरुमा इण्डो सुइस बैंक तथा नेपाल अरब बैंक मात्र थिए । यी बैंकहरु १९८४ मा आएका हुन ।

 

बैंकिङ क्यारियरमा यती लामो अनुभव संगाल्नु भएको व्यक्तिले किन अन्तरर्राष्ट्रिय जगतका बिदेशी बैंकमा काम गर्न अग्रसर नहुनु भएको ?  
हैन यो एउटा नितान्त व्यक्तिगत प्रश्न सोध्नु भयो । मैंले केही समय मुम्बई, दिल्लीमा बसेर काम गरें । मलाई बाहिर बसेर काम गर्दा त खासै समस्या हुँदैन्थ्यो । त्यहाँ बसेर नी काम नै गर्ने हो, यहाँ पनि काम नै गर्ने हो । मैंले यहाँ कार्य गर्दा जति आफ्नोपन नेपाल बाहिर पाउन सकिन । भौतिक सुविधाहरु प्रयाप्त हुन्थे तर म एक्लो महसुस गर्थे सायद यस्तै कुराले म बाहिर धेरै रमाउन सकिन र नेपाललाई नै आफ्नो कर्म थलो बनाउने निर्णयमा पुगें ।

 

बैंकहरु एक आपसमा मर्ज हुदैं गर्दा यहाँ जनता बैंकमा आउनुभयो, चुनौतिका बिचमा पनि यस बैंकलाई उचाईमा पुर्‍याउन कतिको चुनौति पूर्ण थियो ? 
म जनता बैंकसंग प्रत्यक्ष रुपमा जोडिएको १९ महिना हुँदैछ । यहाँ आउँदा मर्ज हुने क्रम जारी थियो । म आए पछि अर्थात आर्थिक बर्ष ०७४/७५ को सुरुवातमा त्रिवेणी बैंक र त्यसपछि सिद्धार्थ बैंक मर्ज भएका हुन् । जति अन्य बैंकहरु मर्ज हुँदै गए बैंकको पूजी, लगानी, शाखा, कर्मचारी सबै हिसाबले फैलिदै गयो । अहिलेको जनता बैंक सातवटा बैंकहरुको कम्बिनेसन हो । बास्तवमा त्रिवेणी र सिद्धार्थ हामीसंग मर्ज हुनुपूर्व ती बैंकहरुसंग अन्य बैकहरु मर्ज भइसकेका थिए । भिन्न हिसावले काम गरिरहेका बैंकहरु एक हुँदा केही चुनौतिहरु थपिएका भए पनि हामीले हाम्रो लक्ष्यलाई अघि बढाउनु थियो । हामीले यहाँ भित्रको कर्मचारी संयन्त्रलाई बलियो बनाउदैं थपिएका शाखाबाट दिइने सेवालाई प्रभावकारी बनाउन सक्दो प्रयास गरी राखेका छौं । मर्ज पछि देखा परेका समस्याहरुलाई हामीले छोटो समयमा समाधान गर्दै अघि बढ्यौं । त्यसकै प्रतिफल हो बैंक यो अवस्थामा आइपुग्न सफल हुनु ।

 

 

बिदेशबाट पनि सेवा विस्तार गर्ने कुरा के हुदैंछ ?
आईएमई, प्रभु तथा हिमाल अन्य बैंकहरुले जस्तै रेमिटयान्स सेवा उपलब्ध गर्दै आएको छ । गत बर्षको ६ महिनाको तुलनामा यस बर्ष हामीले रेमिट्यान्स भित्र्याउने कार्यलाई दोब्बर गरिसकेका छौं । जनता बैंकको पनि आफ्नै जनता रेमिट्यान्स सेवा उपलब्ध गर्ने उदेश्य  छ । सुपथ मूल्यमा, छरितो तथा प्रभावकारी रुपमा वैदेशिक रोजगारीबाट आर्जित कमाईलाई सिधा आमजनताको सेवामा पुर्‍याउने हाम्रो उदेश्य छ । यसकार्यका निमित्त केहि बिदेशी संस्थाहरुसँग सहकार्य पनि गरिरहेका छौं । फागुनबाट जनाताले विदेशबाट रेमिट्यान्सको काम सुरु गर्छ । त्यस पश्चात विदेशका एजेन्टहरुको सहकार्यमा विदेशमा भएका नेपालीले जनता रेमिट्यान्स मार्फत आफ्नो कमाई स्वदेश पठाउन सक्नेछन् । जनता बैंकमा खाता हुनेहरुले सोझै आफ्नो खातामा पनि जम्मा गर्न सक्छन । यसरी हेर्दा हामी हरेक नपाली जनतासँग प्रत्यक्षरुपमा जोडिन चाहन्छौं ।

 

सबै बैंकले जनता कै सेवाका लागि भनेर भन्ने गर्दछन् । यहाँहरुले पनि ‘नेपाली जनताको बैंक जनता बैंक’ भन्दै आउनु भएको छ ।  दुरदराजमा बस्ने ठूलो संख्यामा कृषीमा आवद्ध जनतालाई त बैंकहरुले उपेक्षा गरेको जस्तो देखिन्छ नि, किन बैंकहरु कृषीमा लगानी गर्न मान्दैनन् ?
बैंकहरुले कृषीलाई उपेक्षा गरेको भन्ने कुरामा म खण्डन गर्छु । हामीले कृषीमा ऋण दिइरहेका छौं । उद्यमीहरुसंग पनि जोडिएको छ यो बिषय । यसमा तपाईहरुले बैंकहरुलाई मात्रै दोष दिन मिल्दैन । सिमेन्ट, हाइड्रो पावरहरुमा लगानी गर्न उद्यमीहरु प्रतिस्पर्धा नै गर्नु हुन्छ । उहाँहरु कृषीमा किन लगानी गर्न चाहनु हुन्न यसमा पनि त बिश्लेषण हुनुपर्‍यो । कृषीमा जोखिम छ । जो कोहीले जोखिम लिन चाहन्न । कृषी क्षेत्रको व्यवसायिकरण किन हुन सकेन ? यसमा केहि जोखिमहरु छन । ति विषयमा बहस हुनुपर्छ ।

 

सँधै यो क्षेत्र जोखिम छ । लागत पनि उठ्दैन भनेर हामीले कसलाई दोष दिने ? बैंकहरुले पनि यस्तै जोखिम देखेर नै लगानी गर्ने नचाहेका हुन ?
यो सवाल दशकौं देखी उठ्दैं आएको हो । हामीले १० प्रतिशत कृषीमा लगानी गरेका छौं । राष्ट्र बैंकले तोके अनुसार गरेका छौं । व्यक्तीले नै जोखिम देख्छ भने ति सवालहरुको सम्बोधन हुनुपर्छ । देशमा भएको राजनीतिक घटनाक्रम, द्वन्द्वपछिको शान्ति स्थापना, संविधान निर्माण यि कार्यहरुमा देश लाग्यो भने अबको समय आर्थिक समृद्धिको हुनेछ भनेर प्रधानमन्त्रीले पनि भन्दै आउनु भएको छ । कृषी रणनीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्‍यो । सरकारले पनि यसमा प्रभावकारी कार्यान्वयनको प्रतिवद्धता जाहेर गरेको छ । कृषी क्षेत्रमा लगानीका लागि निर्धक्क छ भन्ने बातावरण बनाउँदैं लैजाने हो भने भोलीका दिनमा अहिलेको जस्तो समस्या रहँदैंन । लगानी गर्नेले आफ्नो लागत उठ्छ र केहि नाफा गर्न सक्छु भन्ने बिश्वास भएपछि मात्र लगानी गर्छ र उसले ऋण लिन्छ ।

 

केहि दिन अघि हामीले संचार माध्यमहरुमा देख्यौं, दुई रुपैंयाँ किलोमा पनि तरकारी खरिद गर्न नआएपछि तरकारीमा डोजर लगाएको । त्यस्तो अवस्था दोहारिनु भएन । हामीले पनि कृषी व्यवसाय गर्छु भनेर कोही लोनको प्रस्ताव लिएर आउँछ भने ऋण दिने गरेका छौं । हाल लगानीहरु साना किसिमका हुने गर्छन । तरकारी उत्पादन, बाख्रा पालन जस्ता साना ब्यावसाय संचालनका निमत्त । राष्ट्र बैंकले कुल लगानीको १० प्रतिशत कृषी क्षेत्रमा प्रवाह गर्नु पर्दछ भनेको छ । त्यस अनुरुप हामीले लगानी गरेका पनि छौं । कतिपय बैंकहरुका निमित्त यो १० प्रतिशत कृषिमा लगानी गर्ने कार्य कठिन भएको छ । ठूलो लगानीका लागि राज्यले त्यही किसिमको बातावरण निर्माण गर्न सक्यो । कृषी रणनीतिलाई प्रभावकारी कार्यान्वन भयो भने भोलीका दिनमा लगानी सुरक्षित हुने देखेपछि यसको पनि माग बढ्दै जाने हो । राजनीतिक संक्रमणले हिजोका दिनमा आर्थिक मुद्दा ओझेल परेको आम नेपालीले भोगेकै कुरा हो । चुनावपछि एक किसिमको आशा गर्न सक्ने बातावरण बनेको छ । गाली मात्रै गरेर हुदैंन । अहिले व्यवसायीमा पनि एक किसिमले आशा बढेको छ । त्यसैले त पैसाको माग बढेको छ । धेरै लगानी गर्न तयार छन अहिले । स्थाई सरकार छ । विगतमा जस्तो हुँदैन भन्ने बातावरण निर्माण हुदैंछ ।

 

भनेपछि देशमा लगानीमैत्री वातावरण बढेर बैंकसँग पैसा लिन खोज्नेहरु बढेर नै बैकमा पैसा नभएको हो ?
मैले अघि पनि भने यसमा धेरे पक्षहरु जोडिएका छन् । हिजोका दिनमा लगानी गर्न सक्ने बातावरण थिएन । बैंकमा पैसा जम्मा भइरहन्थ्यो । आज लगानीका लागि माग बढ्दै गएका छन् । उद्योगहरु बढ्दै छन् । द्वन्द्वको समयमा बन्द उद्योगहरु पुनः खुल्ने क्रम बढेको छ । उद्योग विस्तारले तिब्रता पाएको छ । माग बढी हुनु सकरात्मक हो । बैंकले भने माग अनुरुप को रकम उपलब्ध गर्न सकेको छैन । देशको अर्थतन्त्र आयातमूखी छ । पछिल्ला पाँच महिनाको कुरा गर्दा भुक्तानी सन्तुलन ऋणात्मक छ । ब्यापार घाटा बढेको छ । हामी केही उत्पादन गर्दैनौं बिदेशमै निर्भर हुनुपर्ने अवस्था छ । यसलाई सुधार गर्नु आवश्यक छ ।


 

 

 

भुक्तानी सन्तुलन ऋणात्मक छ यसलाई सुधार गर्न के सुझाब दिनुहुन्छ ?
बाहिरबाट ल्याउने होइन कि यहाँ आवश्यक पर्ने बस्तु देशमै उत्पादन गर्नु पर्‍यो । निर्यात बढाउनु पर्‍यो, बिदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने सक्ने हुनुपर्‍यो । बिकास खर्चलाई बढाउनु पर्छ । बिदेशी लगानी आउनुपर्छ । लगानी गर्ने बातावरण सुरक्षित छ भनेर बिश्वास गर्न सक्ने अवस्था बनाउनु पर्दछ । लगानीकर्तालाई आश्वस्त बनाउनु लाग्नु पर्‍यो । लगानीले प्रतिफल दिन सक्छ भनेर जानकारी गराउनु प¥यो । बैंकले व्याजदर चर्को बनायो नाफामा ध्यान दियो भनेर आलोचना भइरहेको छ, केहि बैंक छोडेर धेरैजसो बंैकले ठूलो नाफा गरेर भनेर भनियो ।

 

शेयर धनीहरुले फिक्स डिपोजिटमा दिनेजति पनि व्याज दिुनु भएन भन्छन् । कसैले एक अर्ब नाफा कमायो भने त्यसलाई ठूलो बनाएर प्रचार गरिन्छ । कति पूँजीमा एक अर्ब हो । पूँजीको अनुपात हेर्नु पर्‍यो । नाफा कमाए भनेर मात्र भएन । बैंकले करोडौं कमायो भनेर प्रचार हुन्छ कति पूँजीमा कमाएको भन्ने हुनुपर्‍यो । बैंकहरुले राष्ट्र बैंकले तोकेको स्प्रेड ५ प्रतिशत छ । अब आउने असारसम्ममा साँढे ४ प्रतिशत भन्दा बढी व्याजको स्प्रेड चार्ज गर्न पाईदैंन भनेको छ । त्यो ५ प्रतिशत ब्याज दिने र लिने सिमा भित्रै बसेर काम गर्न हो । राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र बसेर काम गर्नु पर्दछ । अधिकांस बैंकहरुले यही सिमाभित्र बसेरै काम गरेका छन् । हामीले राष्ट्र बैंकले तोकेको निती नियम भित्र पारदर्शी भएर काम गरेका छौं । त्यसरी कार्य गर्दा नाफा आर्जन गरेको छ भने त त्यसमा खुसी हुनुपर्ने बिषय हो । एकोहोरो नाफा कमायो मात्र भन्न भएन । बैंकहरु मात्र होइन अन्य कुनै पनि व्यवसाय जस्तै होटल, सिमेन्ट उधोग लगायत जे को पनि व्यवसायमा संग्लन हुँदा पूँजी बृद्धि होस भन्ने बिश्वास हुन्छ । व्यवसायीहरु प्रतिस्पर्धामा रहेर देशको नियम कानुनको पालना गर्दै मुनाफा कमाउँछन् भने किन तिनको प्रसंशा नगर्ने ? 

 

व्यवसायमा कसैले लगानी गर्छ भने त त्यो मुनाफा कमाउन का निमित्त नै गर्ने हो । बिदेशी लगानी भित्रने चर्चा छ अहिले, लगानी गर्नेले पनि सबै कुराको मुल्यांङकन गरेर मात्रै लगानी गर्दछ । यदि लगानी डुब्ने देख्यो भने कसले पनि लगानी गर्दैन । पारदर्शि भएर उसले नाफा गर्न सक्छ भने मात्रै उ यहाँ लगानी गर्न तयार हुन्छ । लगानी गर्न आउ भन्दैमा कोहि पनि आउन तयार हुदैंन । लगानीकर्ताले मुनाफा आर्जन संभव हुन्छ भन्ने एकिन गरेपछी मात्र नै लगानी भित्रीने हो । हामी कहाँ नाफा गरेको कुरालाई बढी नै नकरात्मक रुपमा प्रचार गरियो ।

 

सरकारले भनिराखेको छ पारदर्शी भएर स्टक मार्केटमा आउन । बैकले चर्को ब्याज लिनु त स्वयम बैंकलाई पनि त घातक हुनसक्छ । छिमेकी देश भारतमा पनि अम्बानीले बैंकबाट पैसा नपाएपछि उनले स्टक मार्केटबाट पैसा लिन्थे । हामीलाई पनि त यस किसिमको चुनौती छ । व्यवसायीलाई बैंकले रकम नदिंदा स्टक मार्केट, ऋणपत्र, कमर्सियल पत्रको रुपमा उनीहरुले उठाउन सक्दछन् । छिटफूटमा म जान चाहन्न अधिकांश बैंकहरुले राष्ट्र बैंकले तोके अनुरुप काम गरेका छन । बैंकले जति नाफा गरे भने पनि डिभिडेन्ट त बाँडेका छैनन धेरै । साँढे ८ प्रतिशत मात्रै बाँडेका हुन् । 
 

 

बैंकले नाफा गरे तर पुँजी बजार ओरालो लाग्यो नि ?
बजारमा भाउ घट्ने बढने भइरहन्छ । बिगतमा पनि यस्तो भएको थियो । अहिले पनि त्यस्तै अवस्था देखिएको छ । नेपालमा मात्र होइन अन्य देशमा पनि यस्तो हुन्छ । आर्थिक गतिबिधी राम्रो ढंगबाट अघि बढ्ने अपेक्षा छ भने स्टकको भाउ घट्दछ । बजार सुधार भएर पनि जान्छ । सँधै यस्तो अवस्था रहन्न । यसमा म धेरै केहि भन्न चाहन्न । हामीले सुधार गर्न पर्ने ठाउँ छ । सरकारले पनि यसतर्फ चासो दिएको छ ।
 

 

चर्को व्याजदरमा पनि पैसाको माग बढेको छ तर बैंकहरुसँग पैसा छैन । बैंकहरुले विदेशबाट पैसा ल्याउने कुरा  के भयो ?
बिगतमा उद्योग बन्द गर्ने अवस्था थियो । अहिले ऋणको माग बढेको छ । अवस्था सुधार भएर गएको छ । हामीले आलोचना गरेर मात्रै हुँदैंन हामीसँग संरचनागत सवालहरु छन् ।
 

 

अब जनता बैंक मै फर्केन चाहे , जनता बैंक नै किन ?
हामी आम जनतासंग प्रत्यक्ष रुपमा काम गर्न चाहन्छौं । शहर भन्दा पनि हामी ग्रामीण भेगमा केन्द्रीत छौं । उहाँहरुलाई वित्तीय साक्षरताका बारेमा पनि हाम्रा बिभिन्न ठाउँका शाखाका साथीहरुले काम गरिरहनु भएको छ । अबको समय भनेको डिजिटाइज गर्ने नै हो । हामीले पनि यसमा प्रसस्त काम गरेका छौं । अनलाइन बैंकमा सबैको पहुँच होस भनेर पूर्वाधार र प्राविधिक उपकरणमा पनि काम भइरहेको छ । यस पटकको फोकस भनेकै रेमिट्यान्स र प्रविधी नै हो । मोवाइलको माध्यमले सबै वित्तीय काम होस भन्ने हो । छिमेकी देशहरुले यसलाई प्रभावकारी बनाइरहेका छन । हामीले पनि यस तर्फ काम गर्दैछौं ।
 

 

प्रस्तुती : देवी सापकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार