• बिहीबार १२-७-२०७५/Thursday 03-21-2019
विचार

बढ्दो सडक दुर्घटना रोकथाम

सन् १९७८ युनिर्भसिटी अफ इलिनोवाइस स्याम्पेन – अर्बाना  

 

त्यहाँ पुगेको केही दिन मै नेपालमा पिस कोर भोलेन्टियर भएर काम गरेको टिम केलीसंग मेरो परिचय र मेलमिलाप भयो । पिएचडीको बिद्यार्थी केली थाइल्याण्डमा अनुसन्धान गर्न एक बर्षका निमित्त जाँदै थिए । तीनले मलाई सित्तै जस्तो गरेर आफ्नो पुरानो गाडी तथा टेलिभिजन बेच्ने प्रस्ताव गरे । जागिरको आयले साइकल खरिद गर्न कठिनाई भोगेको मेरा निमित्त २०० डलरमा भक्सवाइगन बिटलको मालिक बन्न पाउने प्रस्तावले रोमाञ्चित भए । दुई र चार पाङ्ग्रे (मोटर साइकल, जिप, कार, ट्रयाक्टर तथा ट्रकहरु) चलाउने नेपाली प्रमाणपत्र एक प्रहरी मित्रको सौजन्यमा अमेरिका प्रस्थान पुर्व उपलब्ध भएको थियो । ती मित्रले परिक्षाको झन्झटबाट उन्मुक्ति नै दिएका थिए । साना सवारी साधन संचालन गर्ने सौभाग्य नजुरेको भएता पनि सानै उमेरदेखि (बिना लाइसेन्स) हेटौडामा हुँदा ट्रयाक्टर तथा ट्रकहरु चलाएको पनि थिए । केलीको भक्सवाइगन गाडी चौरमा उसकै निगरानीमा दगुराउन  खासै कठिन भएन । केली पनि मैले गाडी चलाएको देखेर सन्तुष्ट भयो । 

 

स्थानीय प्रहरी कार्यालयमा (थाना) मेरो निमित्त लाइसेन्सको आवेदन दिन पुगे । त्यसकाल खण्डमा साधारण अमेरिकिहरुका निमित्त नेपाल भन्दा नचिन्ने तर ‘माउन्ट एभ्रेष्ट’ को मुलुक भन्दा चिन्ने अवस्था थियो । परिचय पश्चात प्रहरी अधिकृतले ‘सगरमाथा कती चोटी तैले चडिस’ ? भनेर सोध्यो । नेपाल सगरमाथाको देश भनेर परिचय गराएपछि सोधीने दोश्रो प्रश्न पनि त्यही हुने अनुभव संगालेको थिए । मेरो नेपालीमा लेखेको ड्राइभिङ्ग लाइसेन्सको तीनले खुबै अध्यन गरे नेपाली लेखपढ गर्न जाने जस्तो गरेर । अर्कोदिन लिखित जाँच दिन आउनु भनेर समय पनि दिए । पाँच छ दिन गाढी चलाउने नियमहरु अध्यन गरेर थानामा परिक्षा दिन पुगे । झन्डै दुई घण्टा लामो परिक्षा सकिएको केहीबेर मै प्रहरीले पास भइस भन्दा मेरो खुशियालीको सिमाना नै रहेन । लिखित परिक्षामा पास हुनेहरुलाई गाढी संचालन गर्ने ‘ट्राइल’ परिक्षामा सामेल हुनु पर्ने ।

 

भोलिपल्टै प्रहरीले ट्राइल लिने निर्णय सुनायो । त्यस दिन टिम केलीको गाढीमा ती प्रहरी अधिकृत र म संगै बस्यो । उसको आदेश पालना संगै गाढ़ी अघाडी बढाए । गाडी बढाउँदा साथै उसले गाढी रोक्ने आदेश दियो । अनि सभ्य भाषामा ‘दुख छ मित्र तिमी लाई मैले फेल गर्नुपर्यो’ भनेको सुन्दा म चकित भए । फेल हुनुका दुई कारणहरु भएको पनि उसले स–बिस्तार उल्लेख गर्यो । प्रथम मैले गाडी स्टार्ट गर्नु पुर्व आफ्नो निधार सामुन्ने को ‘रियर भिउ मिरर’ एडजस्ट नगरेको तथा दोश्रो गाडी अगाडी बढाउनु पुर्व सिटबेल्ट न बाधेको हुनाले म फेल गरिएको रहेछ । तीन महिना पछि पुन ट्रेल दिनका निमित्त उसले समय दियो मलाई भने जाने हिम्मत भएन । गाडी खरीद गरेर अमेरीका घुम्ने सौख अधुरो रह्यो ।

 

१९८९ कोलम्बो 

 

युएन कार्यालयको सौजन्यमा नेपाली चालकले प्रमाणपत्र कै आधारमा श्रीलंङकन ड्राइभरले सेन्स बिना लिखित परिक्षा तथा ट्रायल हात पार्यो । त्यहाँ वर्षदिन पुग्नु अगावै कार्यालयले किनेको नयाँ टोयटा गाढी पनि प्रयोग गर्न पाए । पहिलो दिन नै नयाँ गाडी कम ट्राफिक भएको दुई लेनको गल रोडलाई आफ्नो कब्जामा लिएर बत्ताउँदै  को रमाइलो अनुभव गर्दै थिए । सडकको किनारामा उभिएको प्रहरीले बन्दुक म तर्फ तेर्साएको जस्तो लाग्यो । त्यसको मतलब नगरी आफ्नै रफ्तारमा गाढी दौडाइरहे । युएन नंबर प्लेटको गाडी तथा आफुसंग कुटनितिक परिचयपत्र तथा चालक प्रमाणपत्र भएको हुनाले प्रहरी लाई टेर्न हुँदैन भन्ने मनसाय थियो त्यसकारण किन मतलब गर्ने ? प्रहरीको  मोटरसाइकल साइरन बजाउँदै रातो बत्ती पिलिक पिलिक बालेर पछ्याइ हाल्यो । मोटरसाइकल चालकलाई प्रहरीले गाढी रोक्न आदेश दिएपछि फुर्ती साथ पालना गर्दै सडकको किनारा लगाएर गाडी रोके । तीनले मसंग लाईसेन्स मागेनन । प्रहरीले सिठ्ठी बजाए र रोक्ने आदेश दिदादिदै किन अटेर भएको भनेर प्रश्न गरे । मैले आफु ‘डिप्लोम्याट’ भएको हुनाले भन्ने उत्तर दिए । प्रहरीले चोर औला ठाडाउँदै ‘तिमीलाई यो मुलुक को कानुन अवहेलना गर्ने अधिकार छैन । प्रहरीको आज्ञा अब उपरान्त उलंघन गर्यो भने कारवाहीमा पर्ने छांै । सहरी क्षेत्र भित्र ३० किमि भन्दा बढीको रफ्तारमा आइन्दा गाढी कुदाउने ध्रिष्टता यस देशमा रहुन्जेल नगर्नु’ भन्यो । मोटरसाइकलमा सवार भएर उ आफ्नो गन्तव्य तर्फ लाग्यो । मेरो मुख कालो निलो भयो । अर्काको मुलुकमा घटेको यस घटनालाई कार्यालयका साथीहरु सामुन्ने उल्लेख गर्ने हिम्मत भएन बरु आत्मग्लानीले भने ग्रस्त तुल्यायो ।

 

१९९३ जेनिभा, स्वीटजरल्याण्ड  

 

त्यहाँ पुगेको केही दिन बित्दा साथै आफुसंग भएको परिचय पत्र, पासपोर्ट, थाई तथा श्रीलंङकन चालक प्रमाण पत्रहरु लिएर स्वीस अटोमोबाइल एशोसिएशन पुगे । आफनो पालो आएपछि काउन्टरमा रहेको अधिकृतलाई आवश्यक कागज पत्रहरु बुझाए । मैले बुझाएको कागजपत्रहरु जाँच पश्चात तीनले प्रश्न गरे ‘तिम्रो नेपाली ड्राइभिङ लाइसेन्स खै ? बिदेशी लाइसेन्सहरु भएपछि नेपाली किन चाहियो भन्ने मेरो उत्तर को प्रति उत्तरमा तिनले नेपाली लाइसेन्स बिना सुइस ड्राइभिङ लाइसेन्स दिन नमिल्लने निर्णय सुनाए । अनेक गरेर घरबाट लाइसेन्स मगाए । नेपाली भाषामा लिखित लाइसेन्सलाई जेनिभा स्थित हाम्रो नेपाल प्रतिनिधी कार्यालयमा फ्रेन्च भाषामा उल्था गराएर पुन लाइसेन्स लिन पुगे । नेपाली लाइसेन्स तथा त्यसको फ्रेन्च भाषामा उल्था देखेपछि तिनै  अधिकारीले मलाइ तुरुन्तै गाडीको नम्बर प्लेट तथा गाडी चलाउने स्वीस ड्राइभिङ लाइसेन्स दिए । उक्त प्रमाणपत्र थमाउँदै ती अधिकारीले भने गाडीको लाइसेन्स त तिमीलाई मैले दिए । दुई कुराहरु सधै याद गर प्रथम चालक प्रमाणपत्र प्राप्त गर्ने सुइसहरुले गाडी चलाउँदा गल्ती गर्दैनन् । त्यसकारण कुनै दुर्घटना भयो भने त्यो अक्सर तिमी जस्तै बिदेशीहरुको कारणबाट हुन्छ । (त्यहाँ गएको दोश्रो बर्ष १९९५ देखि बिदेशीहरुका निमित्त बेग्लै किसिमको चालक प्रमाणपत्र दिन थालियो) तिनले स्मरण गर्नका निमित उल्लेख गरेको दोश्रो बुँदा थियो ‘गाडी भनेको अत्यन्त खतरनाक मसिन हो । चालकको सानो गल्ती वा लापरवाहीले ज्यादै ठुलो हानी नोक्सानी हुन सक्दछ ।’

 

१९९८ हेलिफ्याक्स, क्यानडा  


कर्नवालीस स्थित लिस्टर पियरसन अन्तर्राष्ट्रिय शान्ती प्रशिक्षण केन्द्रबाट २० जना जति सहभागीहरु बसेको बस सडकमा गुड्दै थियो । खुल्ला चार लेनको सडकमा अघि पछि कतै कुनै गाडी नदेखिने अत्यन्त फराकिलो सडकमा एक नासले बस ८० किलोमिटर प्रति घण्टाको गतीमा घन्टौ देखी यात्रा गर्दा दिक्क लाग्यो । किन चालकले गती बढाउँदैनन ? मैले बिस्तारै चालकलाई यहाँ त प्रहरी (क्यानडा मा रुवायल केनेडीयन माउनटेड पुलिस भनिदो रहेछ) पनि कतै देखिदैन । तपाईले गाडीको स्पीड बढाउन मिल्दैन ? चालकले मलाई उत्तर दिए ‘हाम्रो बाटोको इन्जिनियरिङ डिजाइन अनुसार हाइवे को गती तोकिएको हुन्छ । म चालक भएको हुनाले प्रहरी छन् वा छैनन् भन्ने बिषयलाई ध्यान दिन्न । सडकको नियम कानुन को अवहेलना गर्ने छुट मलाई छैन’ तिनलाई बसको गति बढाउन अनुरोध गर्ने आफ्नो मुर्खता प्रति खेद लाग्यो । व्यर्थमा किन बोले भनेर पछुतो लाग्यो । चालकले स्थापित ‘कानुनको अवहेलना गर्ने छुट मसंग छैन’ भन्ने उनको जिम्मेवार उत्तरले मलाई गम्भीर बनायो । 

 

फास्टफरवार्ड गर्दा मुलुकमा बढदै गएको सवारी दुर्घटनातर्फ केन्द्रीत गरे । सरदर प्रत्येक दिन १३ व्यक्ति अर्थात एकदशक लामो माओवादी युद्धकालमा भन्दा प्रत्येक दिन तीन गुणा बढी तथा बैदेशिक रोजगारीमा गएका बाकसमा भित्रीनेहरु श्रमजिबिहरु भन्दा दुई गुणा बढीको संख्यामा नेपालीको सडक दुर्घटनामा मृत्यु हुने गर्दछ । दुर्घटनामा परी अंगभंग हुनेहरुको संख्या कती होला त्यस सम्बन्धी  तथ्यांक राख्ने प्रचलन छैन ।

 

कुनै पनि नेपालीको अप्राकृीतक करणले मृत्यु हुनु अत्यन्तै दुखको बिषय हो । जनसंख्या वृद्धी स्थानीय स्थरमा रोजगारीको अभाव, शहरी क्षेत्र तथा विदेशी भुमिमा जाँदा हुने आयआर्जनका बढ्दो सम्भावना तथा आकर्षण आदी कारणहरुले गर्दा बसाई सराई सम्बन्धीत कारणहरुले गर्दा बिगतको दाँजोमा हामीहरु अत्यन्त बढी सवारी साधनको प्रयोग गर्ने भएका छौ ।


नागरिकको आय स्रोतमा बृद्धि संगै निजी सवारी साधनहरुको संख्यामा पनि बृद्धि भएको छ । सडक संजालको बिस्तार, साधनहरुको बढ्दो पहुँच आदी कारणहरुले गर्दा आजका दिनमा भन्दा आउने दिनहरुमा सवारी साधनको चाप अझै बढ्ने देखिन्छ । सडकमा बढ्दो चाप र दुर्घटनाका बीच गहिरो सम्बन्ध छ । हाम्रो भौगोलिक बनोटले गर्दा सडक इन्जिनियरिङ डिजाइन, निर्माण तथा मर्मत सम्भार जस्ता कारणहरुले गर्दा जती सुरक्षित हुनुपर्ने हो त्यो हुन सकेको छैन । यीनै कारणहरुले गर्दा दुर्घटनाको क्रम घटने भन्दा बढने सम्भावना पछिल्ला तथ्याकंहरुले देखाउँछ ।

 

बिधमान सडकको अवस्था अराजक छ भन्न संकोच मान्नु पर्दैन । मापसे नियन्त्रणमा सफल भएको प्रहरी सडक कानुन पालना गराउनमा भने चुकेको छ । त्यसो हुनामा हाम्रो सवारी साधन संचालन गर्ने तरिका तथा मानोबिज्ञान जुन रुपमा दोषि छ त्यत्ती प्रहरीको क्षमतासंग दाज्न मिल्दैन । हामी प्रहरीलाई झुक्काउनु बहादुरी सम्झने मानसिकताले ग्रस्थ छौ । 

 

प्रहरीको कारवाहीमा परे पछुताउने भन्दा प्रहरीलाई दोष दिन्छौ । सडक नियमका बिषयमा प्रशिक्षित हुनु पुर्व ट्राफिक प्रहरीलाई सडकमा उभ्याइने परम्परालाई प्रहरी नेतृत्वले निरन्तरता दिन छोडेको छैन ।

 

त्यसैगरी सडकमा उभिने देखि झण्डा फहराउने प्रहरीका उच्च अधिकारीहरु समेतले सडकको नियम पालना गर्नु भन्दा त्यसको अवहेलना गर्नपछि पर्दैनन । जहाँसम्म चालक प्रमाणपत्र बितरणको प्रश्न छ, हालसम्मको प्रणाली बढ़ी संचालन मुखी छ, अर्थात सवारी साधन चलाउन जान्नेले लाइसेन्स प्राप्त  गर्छ । बिधमान अवस्थामा सुधार गर्ने हो भने सम्बन्धीत सबै क्षेत्र प्रहरी, चालक प्रशिक्षण दिने निकाय, चालक, यात्रु लगायत पैदलयात्री सबै चनाखो र सचेत हुनुको बिकल्प छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

परिवर्तन र विकास

३० फाल्गुण, २०७५

अलबिदा रवीन्द्र जी

१८ फाल्गुण, २०७५

नेपालका आइजिपी

२४ माघ, २०७५