• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

पत्रकार वाग्लेको ‘कोरियाना कफीगफ’ भोलीदेखि बजारमा 

काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोली बिहीबारदेखि बजारमा आउँदैछ । दुईवटा  उपन्यास लेखिसकेका वाग्लेको यो तेश्रो कृति हो ।

 

नेपालयको सुरुवात नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’ बाट भएको थियो । त्यसले साहित्यिक कृतिहरुको नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरु तयार पारेको थियो ।

 

नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुनेगरी त्यस पुस्तकको प्रवर्द्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो जसले पछिल्लो समयमा आम प्रवृत्तिकै रुप लिनपुग्यो । यसपाली भने  वाग्लेको पछिल्लो कृतिलाई उही पब्लिकेशन्स नेपालयले कुनै पनि औपचारिक विमोचन समारोह नराखेर सार्वजनिक भएको घोषणा गर्दैछ ।

 

वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुई पुस्तक भएता पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरु गरेको ‘कफीगफ’ मा आधारित छ ।  यो पूर्व प्रकाशित कफीगफहरुको संग्रह नभइ केहि समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो । 

 

त्यसैले पाठकहरुले यसलाई वाग्लेको अघिल्ला दुइ उपन्यास भन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रुपमा पाउने नेपालयले जनाएको छ । गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरुले आख्यानको आनन्द पनि पाउन सक्ने पत्रकार तथा लेखक वाग्ले बताउँछन् । 


पुस्तकलाई नेपालयले नियमित विक्री वितरण प्रणाली मार्फत मुलुकभर फैल्याउने तय गरेको छ । त्यसको निम्ति भोलीदेखि देशभरका पुस्तक पसलहरुमा 'कोरियाना' उपल्वध हुनेछ भने यसको  मूल्य ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार