• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

 

हेटौंडा। मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिकोत्सवमा उनले ‘रकमको लेनदेनमात्र भ्रष्टाचार नभइ तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो’–भने ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत् हुने दाबी समेत गरेका छन् ।

‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौं । प्रदेश नम्बर–३ मा भ्रष्टाचारीको कुनै गुन्जायस छैन’–उनले भने ।

 

सो अवसरमा प्रदेश नम्बर–३ का प्रमुखसचिव आनन्दराज ढकालले सबैलाई ऐन–नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै ‘हामी सबैजना नीति–नियमभित्र बाँधिएका छौं । ऐनविपरीत कार्य गरे छानबिन र कारबाही हुन सक्दछ’ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

 

उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमापारि गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताइन् ।

 

कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासंघ प्रदेश नम्बर–३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्नेमा जोड दिए  ।

 

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार