• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

लुटतन्त्र मच्चाउनेसँग सजग हुनुहोस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् । 

 

आज गृह मन्त्रालयमा आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए अर्को व्यवस्था बदल्ने तथा संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरेका छन् ।

 

जनताले छानेको संविधान प्रणाली अन्तर्गत संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुनसक्ने हुँदा लोकतन्त्रमा जनता नै सर्वोपरि हुने बताएका छन् । विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको छ प्रधानमन्त्री ओलीको भनाई थियो ।

 

विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ छ । 'अहिले आएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले देश लोकतान्त्रिक अभ्यास अनुसार अघि बढिरहेको छ', उनले भने ।

 

अहिले पनि हामी माझ धेरै चुनौतीहरु छन्, प्रधानमन्त्री ओलीले भने, केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पुर्‍याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्नहुँदैन भन्ने उद्देश्य अन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन । 'जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यसकारण हामी अरु प्रवृत्तिसँग अल्झिनु हुन्न', प्रधानमन्त्रीले भने । 

 

 प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार