• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

‘काम धेरै हुँदा खुशी हुने मान्छे हुँ म’

तपाई नेपालको पहिलो मोडलको रुपमा चिनिनु भएको छ, कस्तो महशुस गर्नुहुन्छ ?  
हो, यो कुरामा म खुसी छु । म्यान हन्ट इन्टरनेशनल उपाधि मैले प्राप्त गरेको हुँ । त्यो भन्दा पहिले नेपालमा कुनै पनि त्यस्तो कार्यक्रम भएको थिएन । हामीले नै २५ वर्ष अघि नेपालमा फेसन र मोडलिङको सुरुवात गरेका हौं । त्यतिबेला फेसनको बारेमा आम मान्छेलाई त्यति थाहा थिएन, हामीले धेरै बुझाउने प्रयास गर्‍यौ । हामीलाई सुरुवातका केहि वर्ष फेसन के हो भन्ने बुझाउन नै समय लाग्यो । नेपालमा यसको सम्भावना छ भन्ने भएर नै मैले यसलाई निरन्तरता दिएको हुँ । यो मेरो रुचीको विषय हो । फेसन प्रतिको मेरो लगावको कारणले होला म कुनै दिन पनि यो क्षेत्रबाट टाडा भईन ।

 

मोडलिङबाट के पाउनु भयो ?
सोचेको भन्दा धेरै कुराहरु प्राप्त गरेको छु । मोडलिङका बारेमा जुन किसीमको सोचाई समाजमा थियो त्यसलाई परिर्वतन गर्न सके भन्ने लाग्छ । नेपाली मोडलिङलाई उचाई दिन मैले प्रयास गरेको छु । हाम्रा देश सानो छ त्यसमा पनि मोडलिङ र फेसन बजार जुन रुपमा फैलिनु पर्ने हो त्यो हुन सकेको थिएन । अहिले आशाजनक छ । अहिले सयौं मोडलहरु फेसन बजारमा आफनो भविष्य देखेर आइरहेका छन् । फेसनमा अवसरहरु बढ्न थालेका छन् । यो हामी सबैको लागि खुसीको कुरा हो ।
 

 

तपाइलाई मोडलिङ सँगै चलचित्रहरुका अफर पनि आएका थिए होलान, चलचित्र क्षेत्रमा आउन किन यती समय लाग्यो ?  
हो, मलाई धेरै चलचित्रबाट अफरहरु आएका थिए । मैले १९९२ मा हलिउड चलचित्र लिटल बुद्धमा पनि काम गरे । भारतीय च्यानल जिटिभीबाट प्रशारण हुने खुबसुरत भन्ने कार्यक्रममा पनि मैले अभिनय गरेको छु ।  मलाई बलिउडबाट अफहरु नआएका होइनन् तर समय र कामले गर्दा मैले धेरै समय फेसनमा नै बिताउनु पर्यो । त्यो समयमा फेसनमा कोही पनि थिएन म आफु मात्र थिए । देश बिदेश घुमिसेक पछि मलाई आफनै देश नेपालमा केही गर्नुपर्छ भन्ने लाग्यो । केही गर्नुपर्छ भने आफनो अगाडि पनि कोही थिएन र पछाडि पनि खासै आइरहेको थिएन । त्यसैले कोही न कोहीले त यसको शुरुवात गर्नैपर्छ भनेर मै बाट किन नर्गर्ने भन्ने सोचले फेसनको शुरुवात गरेको हो ।

 

 

अहिलेसम्म फेसनका कतिजति कार्यक्रमहरु गर्नुभयो होला ? 
मैले १९९४ मा कोरियोग्राफि शुरु गरेको हो । कोरियोग्राफि शुरु गरेकै दिनबाट मैले इभेन्ट म्यानेजमेन्टको रुपमा काम गरेको थिए । १९९५/९६ मा आएर मैले आफनो संस्था स्थापना गरेको हुँ जुन चाहि सम्भवत मेरो यो संस्था नेपालको पहिलो इभेन्ट म्यानेजमेन्ट कम्पनी हो । मलाई यो चाहि खुशी लाग्छ कि म शुरुवातको पहिलो व्यक्ति हुन पाए । जुनसुकै चिजमा मैले काम गरे त्यो पहिलो पहिलो कै रुपमा शुरुवात गर्न पाए । पहिलो गर्दा दुख पनि हुँदोरहेछ । नयाँ अनुभव पनि हुँदोरहेछ र अहिले आएर रमाइलो पनि लाग्दो रहेछ । मैले कोरेको बाटोमा अहिले जति मान्छेहरु हिड्दा मैले गरेको भनेर त मैले भनिराख्नु जरुरी छैन । तर यसले आत्मसन्तुष्टि भने पक्कै हुँदोरहेछ । 
 

 

पहिले र अहिलेको फेसनको अवस्था कस्तो देख्नुहुन्छ ? 
त्योबेलाको अवस्था कस्तो थियो भन्ने कुरा मलाई मात्र थाहा छ । त्यतिबेलाको अवस्था र अहिलेको अवस्था हेर्दा मलाई एकदमै खुशी लाग्छ । फेरी त्यतिबेलाको माहौल एकदमै गाह्रो पनि थियो । बुझाउनै गाह्रो हुन्थ्यो । त्यतिबेला मान्छेहरुले फेसनलाई धेरै बिकृतिको रुपमा हेर्ने गर्थे । त्यसबेला फेसन प्रतिको दृष्टिकोण नै फरक थियो । अहिले फेसनलाई धेरै बुझिएको छ । अहिले फेसन उद्योगको रुपमा बिकास भएको छ । 
 

तपाई मोडलिङ क्षेत्रको एउटा रोल मोडल नै हुनुहुन्छ, यसमा के भन्नुहुन्छ ?  
यो मेरो फेसन प्रतिको समर्पण र निरन्तरताले गर्दा पनि हुनसक्छ । अहिलेका युवाहरु फेसन तिर रुची पनि राख्छन् । मैले आफु रोल मोडल बन्छु भनेर काम गरेको होइन । यो पेशा गर्दै मलाई नाम दिइयो कोरियोग्राफर भनियो । सुपर मोडल भनियो । अन्तराष्ट्रिय मोडल पनि भनियो । यसमा मलाई धेरै नाम दिइयो । मैले यी सबै नामहरु कमाएको हो । मैले आफैले आफनो नाम कहिले पनि राखिन । भर्खरै मात्र मैले कलाकार भनेर आफनो नाम राखे किनभने धेरैले मलाई कलाकारको संज्ञा दिइसकेपछि भयो कि भनेर कलाकार पनि जोडेको हो । 
 

 

तपाईले चलचित्रहरुमा पनि अभिनय गर्नुभएको छ, मोडलिङबाट चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
चलचित्र भनेको एउटा यात्रा नै हो । मलाई यो पनि मोडलिङ सँगै जुधेको एउटा बिषय हो जस्तो लाग्छ । बिश्वमा नै मोडलिङबाट काम शुरु गरेर चलचित्र प्रवेश गरेको देखिन्छ । नेपाली चलचित्रहरुमा धेरै अघि देखि नै मलाई अफरहरु आइरहेका थिए । त्यतिबेला मलाई हिरोको रोलको लागि अफरहरु गर्थे । त्यसपछि केही समय मेरो ग्याप पनि भयो । धेरै ग्याप पनि चलचित्रमा अफर आउँछ भन्ने खासै आशा पनि गरेको थिइन तर अचानक आफनै एकजना साथीले मलाई तिम्रो लागि एउटा फिल्ममा क्यारेक्टरको सोच बनाइरहेको छु भनेर भन्यो । चलचित्रको नाम ‘टाटा बाई बाई’ थियो । यो चलचित्र प्रर्दशनमा आएको छैन अब अर्को वर्ष यसलाई प्रर्दशन गर्ने कुरा भइरहेको छ । त्यसपछि मैले अर्पण थापाको चलचित्र ‘मुर्खुटा’ गरे । त्यसमा मैले धेरै कलाकारहरुसँग काम गर्ने मौका पनि पाए । त्यसपछि मैले हेमराज बिसिको ‘सम्बोधन’ गरे त्यसमा मेरो अभिनयलाई दर्शकहरुले रुचाए पनि र मलाई चिन्न पनि थाले । अब अहिले चलचित्र ऐश्वर्य गरिसकेपछि जुन किसिमको फड्को मार्यो । दर्शकहरुले मैले गरेको अभिनयलाई जुन किसिमले रुचाउन थाल्नुभयो त्यसपछि म चलचित्रहरुका देखिन थालेको हुँ । फेरी चलचित्रमा काम गर्नु भनेको पैसाको लागि मात्र होइन रहेछ । दर्शकका जुन एउटा माया छ नी त्यो नै सबैथोक रहेछ । आज म कलाकारको हिसाबले यो क्षेत्रमा चिनिनु पनि दर्शककै मायाले हो ।

 

 

मोडलिङबाट चलचित्रमा प्रवेश गर्दा के फरक हुँदोरहेछ ?  
यसमा गाह्रो भन्दा पनि मैले आफनो काम शत प्रतिशत नै दिएको थिए । मैले एक वर्ष त कुनै अरु सोच नै बनाइन । एक वर्ष पुरा चलचित्रको काममा नै समय दिए । त्यसमाथी पनि म एकदमै ठुलो कलाकार पनि होइन कि सुटिङमा जाने बित्तिकै अभिनय गरिहाल्ने । यसमा मेहिनत चाहि गरेको छु । यसमा मेरो सिनेम्याटोग्राफर राजेश श्रेष्ठ उसको पनि ठुलो हात छ किनभने यो एउटा टिमवर्क हो । अहिले पनि म कहिलेकाही आफुले अभिनय गरेको चलचित्रहरु हेर्छु त्यसमा आफुलाई देख्दिन । त्यो मलाई आफनो सफलता लाग्छ । म चलचित्र ‘सम्बोधन’ मा आफुलाई देख्दिन । म त्यसमा आफुलाई राजन थापा नै देख्छु । त्यस्तै ‘ऐश्वर्य’ मा पनि म आफुलाई राघव नै देख्छु । प्रशान्त ताम्राकार भनेर देख्दिन । त्यसरी आफनो भुमिका भित्र पुरै हराउँदा र आफुले आफुलाई नदेख्दा खेरी मैले आफनो भुमिकालाई न्याय दिएको छु जस्तो लाग्छ ।
 

 

तपाईको एक दिन कसरी बित्छ ?
म एकदमै काममा रमाउने गर्छु । म काम पर्यो भने चौंबिस घण्टा पनि काम गर्ने सक्छु । मलाई काम धेरै भयो भने  खुशी लाग्छ । फेरी हाम्रो फेसनको काममा दिनरात भन्ने नै हुदैन । हामीले गर या मरमा काम गर्नुपर्ने हुन्छ । आज भने आज अहिले भने अहिले । हामीले काम गर्ने ठाउँमा एकछिन पछि भन्ने शब्द नै हुँदैन । एउटा डेटलाइनमा काम गर्नु पर्ने हुन्छ । यदी पाँच बजे शो शुरु हुन्छ भने जसरी नी पाँच बजे सबै कुरा तयार पार्नु पर्ने हुन्छ । पाँच बजेर एक मिनेट पनि जान हुँदैन । यसमा गाह्रो छ । फेरी म काम गर्दा ठुलो सानो काम भनेर गर्दिन । म सबै कामहरु गर्न रुचाउँछु । मलाई जस्तो काम गर्न नी मज्जा लाग्छ ।  मेरो एकदिन भनेको यही नै हो ।   

 
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार