• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

‘लगानीका बारेमा राष्ट्रको निती स्पष्ट भए, लगानी भित्रिन्छ’

स्थायी सरकार आएपछि व्यवसायीहरुको अपेक्षा बढेको चर्चा छ, सरकारसँग कस्ता अपेक्षा गर्नुभएको छ ? 
हामीलाई प्रधानमन्त्रीसँगको भेटले धेरै नै उत्साहित बनाएको छ । देश लामो समय संक्रमणमा रह्यो । उद्योग फस्टाउन सकेन । राजनीतिक संक्रमणको असर उद्योग व्यवसायमा पनि पर्‍यो । तीनै तहको निर्वाचनपछि केही आशा र उत्साह थपिएको छ । पाँच बर्षको स्थायी सरकार छ । हामी सकरात्मक हुनुपर्छ  । थोरै लगानीबाट राम्रो प्रतिफल कसरी निकाल्न सकिन्छ भन्नेतर्फ बहस हुन थालेको छ । तीब्र आर्थिक बिकासको एजेण्डामा देश लागेको छ ।
 

 

तपाईले उद्योग व्यवसाय क्षेत्रमा दशकौं विताइसक्नु भयो, अहिले यो क्षेत्रमा प्रवेश गर्दाको दिन सम्झंदा कस्तो लाग्छ ?
वि.स. २०४६ सालको जनआन्दोलन पछि म सानो ठूलो उद्योगहरुसँग जोडिन पुगें । पहिले अरुको तल बसेर कामहरु पनि गरियो । सामान जुटाएर त्यसको बजार खोज्ने काम पनि गरें । मैले वि.स.२०५५ सालपछि भने आफ्नै कामहरु सुरु गरें । वितरणका क्षेत्रमा काम गरें । अहिले उद्योग बाणिज्य महासंघमा केन्द्रीय सदस्यको रुपमा रहेको छु । अब हेर्दै जाउँ यी व्यवसायहरुले मलाई कहाँसम्म पुर्‍याउँछ । 

 

 

यतिका समय यो क्षेत्रमा बिताइसक्नु भएछ, तपाईलाई आफुले के उपल्वधी गरे जस्तो लाग्छ ? 
मलाई यो व्यवसायले आफ्नै पहिचान दियो । मैले आर्थिक क्रियाकलाप बिस्तारका लागि कसरी सामूहिक रुपमा काम गर्न सकिन्छ भन्ने प्रयाप्त ज्ञानहरु हासिल गरें । विभिन्न चुनौतीहरुका विचमा पनि काम गर्न सकिने रहेछ भन्ने थाहा भयो । नयाँ व्यवसायमा प्रवेश गर्न होस अथवा बंैकंबाट धितो लिन अरुले गर्ने विश्वास पनि त ठुलो कुरा रहेछ । मलाई यो क्षेत्रले समाजमा उभिन र स्थापित हुुन सिकायो । अर्थउर्पाजनका हिसावले ठूलो छलाङ मार्न सकिन होला तर साथीभाई कमाएको छु ।

 

 

उद्योग बाणिज्य महासंघले के गर्दैछ ? लगानी सम्मेलनमा यहाँहरु भूमिका के रहन्छ ?
लगानी सम्मेलन हुनुपूर्व हामीले एउटा सवाल उठाइरहेका छौं । लगानी गर्न आउनेहरुले लगानी गर्नु भन्दा पहिले उठाउन सक्ने प्रश्नहरु जस्तै : यहाँका विद्यमान निती, नियम, औद्योगिक ऐन, आयकर ऐन लगायतका कुराहरुमा हामीले प्रधानमन्त्रीजी बाटै फास्टट्रयाक बाटै सम्बोधन हुनुपर्छ भन्ने सवाल जोडदार रुपमा उठाएका छौं । लगानी आउने कुरा त्यति सहज छैन किनभने त्यो भन्दा पहिले सम्बोधन हुनुपर्ने कुराहरुमा ध्यान दिन जरुरी छ । 

 

लगानी गर्नेले पनि लगानीको सुरक्षा र त्यसले दिने प्रतिफलका आधारमा मात्रै लगानी गर्छ । लगानीले नाफा दिन्छ भन्ने भएपछि मात्र जो कोही लगानी गर्न तयार हुन्छ । हामीले लगानी गर्न आऊ भन्दैमा सजिलै कोही आउने होइन, त्यसका लागि वातावरण चाहिन्छ । औद्योगिक ऐन र उपभोक्ता ऐनका विषयमा हामीले सरकारसँग केही कुराहरु राखेका छौं । फेरी लगानी ल्याउन मात्रै दिएर पनि त भएन । लगानी गरेपछिको प्राप्त नाफा लैजान पनि सहज बनाइदिनुपर्छ, तव न लगानी हुन सक्छ । लगानीका बारेमा राष्ट्रको निती स्पष्ट भयो भने मात्रै लगानी आउने हो  ।


 

तपाई धेरै अध्यक्षका कुरा मात्रै सुन्नु हुन्छ भन्ने गुनासाहरु छन् । किन त्यस्तो हुनपुग्यो ?
हाम्रो संस्था नै अध्यक्षमुखी छ । किनभने धेरै कुराहरु उहाँलाई आइरहेका हुन्छन । मैंले जिम्मेवारी र काम कारवाहीका क्रममा उहाँसंग धेरै जोडिन पुगेको हुनसक्छु त्यसलाई कुनै ठूलो विषयका बारेमा नलिंदा हुन्छ । सामाजिक कामको जिम्मेवारी मलाई दिनु भएको छ जसले गर्दा पनि केही साथीहरुलाई त्यस्तो लागेको हुनसक्छ । 
 

 

यो सरकारका काम कारवाहीले व्यवसायीहरुलाई कतिको सहज भएको छ ? यहाँहरुका अपेक्षा अनुसार निती नियमहरु बनेका छन त ?
अहिले बल्ल सरकारले काम गर्न सुरु गरेको छ । अहिलेसम्म त्यस्तो देखिने काम आइनसकेको अवस्था छ । सरकार त्यसको तयारीमा नै छ । आवश्यक तयारीका लागि पनि केहि समय लिएको जस्तो देखिन्छ । अहिलेसम्मको तयारी हेर्ने हो भने व्यवसायीहरु माझ निराशा पैदा गर्न काम मात्रै भएको देखिन्छ । उपभोक्ता सम्बन्धी ऐन नै हेर्ने हो भने पनि व्यवसायीहरुले केहि गर्न सक्ने वातावरण नै छैन ।

 

सरकारले व्यवसायीलाई अफ्ठ्यारोमा पारेको छ भन्दा पनि खासै फरक पर्दैन । कुनै सिमेन्ट उद्योगले बेचेको एक बोरा सिमेन्टमा कुनै समस्या देखियो भने पश्चिममा देखिएको समस्यालाई विराटनगरको सिमेन्ट उद्योगलाई एक महिना बन्द गर्नुस भन्ने गरिन्छ । अझ अहिले त तपाईंको स्वास्थ्यमा भएको खरावी तपाईंले उपभोग गरेको बस्तुले गरेको खराबी हो भनेर दाबी गर्नुभयो भने त्यसको भरपाई व्यवसायीले गर्नुपर्ने सम्मको अवस्था सृजना गरिएको छ । यस्ता किसिमका प्रावधानले हरेक किसिमका उद्योग व्यवसायलाई कठिन बनाइरहेको छ । सरकारले व्यवसायीका कुरा सुन्नुपर्छ । जुन हामीले आवाज उठाइरहेका छौं, यी यावत कुराहरुमा सरकारले सुधार गर्ने बचन दिएको छ ।


 

उद्यमीका कुराहरु अर्थमन्त्रीले कतिको सुन्नु भएको छ त ?
केही समय अघि उद्योग बाणिज्य महासंघ, गभर्नर र अर्थ मन्त्रालयबिच छलफल भएको थियो । त्यसमा हामीले केही सल्लाह पनि दियौं । सरकारले यसमा राम्रो काम गर्‍यो । बैकको व्याजको कुरामा सरकारले हामीले दिएको सुझाव अनुसार नै गरेको छ । जग्गा र सेयर बजारका कुरालाई लिएर केही कठिन अवस्था आएको थियो । कतिपय कुराहरु सरकारले सुधार गरेर लाने बचन दिएको छ । केही विषयमा सरकारले काम गर्न जरुरी छ भनेर हामीले सल्लाह गरेका छौं । सुधार उन्मूख छ । सुधार भएर अघि बढ्ने बिश्वास छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार