• मंगलबार ३-३१-२०७६/Tuesday 07-16-2019
डबली

मनु दाई पिपलबोट देखि पिपलबोटसम्म

देखिसाध्य छैनन सहरमा मान्छे । ओहोर दोहोर, आवत जावत छिचोलिन सक्नु नयाँ सडकको बाटो नटेक्ने कमै होलान । त्यतिबेलाको नयाँ सडकको पहिचान नै अलग थियो । साहित्यकार, कलाकार, पत्रकार, राजनीतिमा लागेकाहरु सबका सबै भेला हुने थलो थियो नयाँ सडकको पिपलबोट । साँझ नपर्दै जम्मा हुँदै जान्थे र आ–आफ्ना समूहमा बाँधिदै गफिन थाल्थे । नयाँ छिमलका र बाहिरबाट आएकाहरुका लागि सहज थियो वातावरण भेट्ने र नाम चलेका साहित्यकार चिन्ने । नजीकै रहेको गोरखापत्र संस्थानका प्रकाशनहरुमा पनि प्राय भेटिन्थे अनेक थरी साहित्यकार । त्यतिबेलाको समय नै बेग्लै प्रत्यक्ष भेटघाट र चिनाजानी , अहिलेजस्तो फेसबुक र इमेलको चलन पनि त थिएन । भेटेपछि मनपर्यो भने मनले नै लाइक गर्यो, नाम सुनेर पनि  अनुहार नचिनिएका अनेकौं साहित्यकार हुन्थे । जसको रचनामात्र पढेर अनुहार कल्पना गर्नु पथ्र्यो । कसैले टाढाबाट फलानो साहित्यकार भनेको उहाँ नै हो भनेर टाढैबाट चिनाइदिदा पनि ठूलै कुरो हुन्थ्यो । त्यतिखेरको समय नै फरक । वातावरण पनि बेग्लै थियो बढी आत्मीय लाग्थ्यो । साहित्यकारहरुलाई प्राय भेट्ने थलो हुन्थ्यो– नयाँ सडक पिपल बोट, गोरखापत्र संस्थान, साहित्यकार विमल निभाको पुस्तक पसल साहित्य घर, भोटाहिटीको किताब पसल, मदन पुरस्कार गुठीको कार्यालय, रत्न पुस्तक भण्डार आदि । 

 

चालीसको दशकको मध्यतीर मधुपर्कको कार्यकक्षमा सम्पादक कृष्णभक्त श्रेष्ठसँग गफिरहेका एकजना नपत्याउँदो अनुहारका मान्छेलाई कृष्णभक्त दाईले सम्मानसाथ कुराकानी गरिरहेको देख्दा आश्चर्य लागेको थियो । एकतमासले नौलो मान्छेलाई हेरिरहेको देखेपछि कृष्णभक्त दाइलाई अप्ठेरो लागेपछि सोध्नु भयो–चिन्नु भएन उहाँलाई उहाँ मनु ब्राजाकी । लामो समयदेखिको जिज्ञासा त्यतिखेर शान्त भयो, मनमनै धन्यवाद दिएँ लामो समयदेखि सुन्दै आइरहेको र चिन्न खोजिरहेको एउटा प्रिय साहित्यकारलाई प्रत्यक्ष भेट्न पाउँदा । महोत्तरीको औरहीमा बसेर लामो समयदेखि निरन्तर लेखिरहने धेरैका प्रिय र मेरा पनि प्रिय लेखक, अझ भनौं कथाकार मनु ब्राजाकीसँगको पहिलो साक्षात्कार थियो मेरो ।

 

थप आश्चर्यको कुरा त के भने पहिलो भेटमै मनु ब्राजाकीले भनिहाल्नु भयो , एकैछिन बसौं सँगै बाहिर निस्कौंला । केहीबेरमा उहाँकै पछि लागेर बाहिरिन्छु । जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि भनेजस्तै काठमाडौंको घाम (रवि) पनि नछिर्ने गल्लीको बाटो हुँदै एउटा भट्टीमा आसन जमाएपछि थप परिचय र भलाकुसारी थालिन्छ । तपाई त सानो हुनुहुन्छ, लिनुहुन्न होला , आफ्नो त बानी नै परिसक्यो भन्दा नभन्दै झोल र ठोस पदार्थ टेबुलमा आइसक्छन्, नियमित ग्राहकले के खान्छन् भन्ने कुरा अर्डर नलिइकनै थाहा पाइहाल्छन साहुजी–साहुनीहरु भन्ने कुरा शायदै त्यतिखेरै जानें मैले ।  म उहाँको अगाडि आफ्नो फाइल तेस्र्याउदै भन्छु– दाई मैले साहित्यकारहरुको विवरण संकलन गर्दै आइरहेको छु , तपाईंकै हस्ताक्षरमा तपाईको विवरण र मन्तव्य लेखिदिनुस भनें । हो यही भेटबाट शुरु भयो हाम्रो निकटता, उमेर, लेखनले धेरै फरक भए पनि उहाँँको सरलता र निकटताले यतिसम्म भनेको हुँ । गोरखापत्र संस्थानसँग उहाँको निकट सम्बन्ध थियो, मन मिल्ने र दिउँसो साँझ एउटै टेबुलमा बसेर पिउने साहित्यकार मित्र सन्तोष भट्टराईको कार्यालय पनि यही थियो ,त्यसमा पनि मधुपर्क, गोरखापत्रमा छापिएका र छापिन बाँकी रहेका रचनाको एकमुष्ठ पारिश्रमिक बैनाको रुपमा पाउने सुबिधा थियो उहाँका लागि । साहित्यकारहरुसँग भेट हुने र नयाँसडकको चक्कर लगाएर हरियो पर्दामा आसन जमाउन उपयुक्त थलो थियो । 

 

२०४५ सालको मंसिर २३ गतेको दिन मनु ब्राजाकीसँग प्रत्यक्ष भेटेको दिन अलि विशेष नै लाग्यो र घर फर्केपछि साँझ डायरीमा लेखें उहाँसँगका भेटबारे । डायरीमा टिपेको यत्ति हो नटिपेका तर मनमा रहिरहेका अनेकौं संस्मरण छन् जसलाई चाहेर पनि बिर्सिन सकिदैन । लेखन र व्यवहारमा दरिलो लाग्ने उहाँ खाने पिउने कुरामा कमजोरै हुनुहुन्थ्यो । यही बानीले उहाँलाई धेरै बाँच्न दिएन ।  आफैले पनि यस सन्दर्भमा धेरै पटक उल्लेख गरिसक्नु भएको छ उहाँले । पढ्दा रक्सी खाने बानी लागेको उहाँलाई पछि रक्सी पिउने बानी लाग्यो । र यही पिउने बानी नै पछि प्रिय हुन थाल्यो र साथमा चुरोटको अम्मलले पनि छाडेन । यही अम्मल र लतले गर्दा नै होला  डेढ दशकको अस्वस्थता (मस्तिष्कघात र उच्च रक्तचाप) ले ७५ वर्षको उमेर पनि पूरा नहुँदै २०७४ सालको माघ १९ गते  उहाँको निधन भयो । दिन बित्दै वर्ष दिन पुगेछ, उहाँलाई  भेटेको तीन दशक भएछ , समय प्रवाहमा उहाँलाई पहिलो पटक भेटेको उही मधुपर्कको कक्षमा बसेर उहाँकै स्मृतिमा कलम चलाइरहेको छु । गोरखापत्र संस्थानको परिसरमा पहिलो पटक भेटिनु भएका उही मान्छेलाई तीन दशकपछि सोही ठाउँमा भेट हुँदा मनु ब्राजाकी धेरै गलिसक्नु भएको थियो । कसैको साथ लिएर गोरखापत्रको चार तला उक्लिदा थकित भइसक्नु भएको उहाँ यति छिटै जानु होला भन्ने पटक्कै लागेको थिएन र यो पनि लागेको थिएन त्यति बेलैको भेट नै अन्तिम हुनेछ भनेर । भरेंगमै छेउ लागेर उहाँको भैसेपाटीस्थित घरमा भेटेर कुराकानी गर्ने र उहाँको बारेमा लेख्ने कुराको तय पनि भएको थियो । सोचेजस्तो कहाँ हुँदो रहेछ र चाहे जस्तो कहाँ हुँदो रहेछ र ?  

 

उहाँको सरलताका कुराका अनेकौं अनुभव सँगाल्न पाएको छु । महोत्तरीको एउटा कुनामा बसेर राजधानीमा चर्चाको शिखर चढ्ने क्षमता थियो उहाँमा , लेखनको बलले नै हो शिखर आरोहण गरेको । हामी त राजधानी बाहिरका मान्छे हाम्रो रचना कसले छाप्छ, कसले चिन्छ ? जस्ता कुरा नगरी लेखनको बलले नै राजधानीलाई चुनौती दिदै लेखेरै शिखर चढ्नु भएको हो उहाँले । लेखन कलमले चिनिने कुरा हो भूगोलले होइन भन्ने कुराको राम्रो उदाहरण हो उहाँ । बरु यत्तिसम्म भन्दा हुन्छ मनु ब्राजाकीको साहित्यिक जग र चुलिएको चर्चा महोत्तरीको भूमिमै हो । पछिल्ला समय काठमाडौं, ललितपुर अमेरिका उहाँका वासथलो भए ।      

 

अञ्चल साप्ताहिक पत्रिकामा वि.सं २०१९ सालमा उहाँको पहिलो रचनाको रुपमा भर्यांग शीर्षकको कथा छापिएको इतिहास नै सफल र सशक्त कथाकार मनु ब्राजाकीको आरम्भिक इतिहास बन्न पुग्यो । त्यहीबाट थालिएको यात्रा देशविदेशसम्म फैलिदै गयो । कथासँगै गजल विधामा पनि पछि त्यत्तिकै चर्चित बन्नु भयो । कथाकारकै रुपमा बढी चर्चा र नाम कमाउनु भएका उहाँका २०३८ सालमा अवमूल्यन,२०४२ मा आकाशको फल, २०४६ मा तिम्री स्वास्नी र म,२०५२ मा भविष्य यात्रा,२०६० मा पारदर्शी मान्छे,२०७० मा मनु ब्राजाकीका कथाहरु ,यसै वर्ष अन्नपूर्णको भोज जस्ता कथाका संग्रह प्रकाशित भए । गजल संग्रहहरुमा काँडाका फूलहरु ,के हो र जिन्दगी र गजलगंगा प्रकाशमा आइसकेका छन् । तिम्री स्वास्नी र म का लागि साझा पुरस्कार, अन्नपूर्णको भोजका लागि पद्मश्री पुरस्कार लगायत मैनाली कथा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पाण्डुलिपि पुरस्कार, गंगालक्ष्मी पुरस्कारआदिबाट सम्मानित मनु ब्राजाकी नेपाली साहित्यमा धेरैले रुचाएका कथाकार र गजलकार हुनुहुन्थ्यो, सम्मानित हुनुहुन्थ्यो ।  वि.सं २०६० देखि स्वास्थ्य त्यति अनुकूल नभएपछि लेखनबाट टाढिदै जानु भएको थियो ,यही स्वास्थ्यले दिन प्रतिदिन दुख दिदै आखिर २०७४ सालको माघ १९ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

जागिर

२८ असार, २०७६

बागमतीको आत्मालाप 

२८ असार, २०७६

उ कता,म कता

२३ असार, २०७६