• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

पत्रकार नारायण वाग्लेको ‘कोरियाना कफीगफ’ आउँदै

काठमाडौं । पत्रकार नारायण वाग्लेको साहित्यिक कलमबाट तयार भएको तेश्रो कृति अब छिट्टै सार्वजनिक हुने भएको छ ।

 

समाचार कक्षबाटै उनले सुरुगरेको चर्चित स्तम्भ ‘कफीगफ’ लाई नै निरन्तरता दिँदै यसपटक उनी नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ लिएर उपस्थित हुँदैछन् । गैरआख्यानलाई लेखक र सत्यको बीचमा बग्ने वायुसहित उभ्याउन सक्नु नै ‘कफीगफ’ले विकास गरेको स्वाद हो । त्यसैले वाग्लेको अघिल्ला दुइ उपन्यास भन्दा बेग्लै यो ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुनेछ । तैपनि आफूले पाएको स्वादअनुसार यसको विधा वर्गीकरण गर्ने जिम्मा भने पाठककै रहने वाग्ले बताउँछन्।

 

अढाइ दसकभन्दा लामो समय पत्रकारिताको ब्यस्त घेरामा बिताएका वाग्लेले यसबीच नेपाली समाजका भोगाइहरुको सुक्ष्म अवलोकन र विश्लेषण गर्दैआएका छन् । समाचारको खोजीमा डुलिहिँड्ने संवाददाता रहँदै उनले आफूभित्रको साहित्यिक व्यक्तित्वलाई कान्तिपुर दैनिकको कोसेलीमा नियमित ‘कफीगफ’ मार्फत् प्रकट गर्नथालेका थिए । त्यसले नेपाली लेखनको एउटा फरक धारालाई विशिष्ट शैलीमा अघि बढाएको थियो । एउटा तन्नेरीले उतिबेला पहिल्याएको त्यो नवीनताले बेग्लै पाठक घेरा पनि बढाउँदै लग्यो ।

 

वाग्लेले उभ्याएको त्यही जगमाथि सन् २००५ मा पहिलोपटक उनको उपन्यास ‘पल्पसा क्याफे’को जन्म भएको थियो । समकालीन नेपाली साहित्यको पाठक घेरालाई फराकिलो बनाउनु त्यो पुस्तकको महत्वपूर्ण उपलब्धि बन्नपुग्यो । यसको ३० पटक पुनःमुद्रण भइसकेको छ । पाठ्यक्रम भित्र नसमेटिएरै पनि यति धेरै पाठक पाएको संभवत यो पहिलो नेपाली साहित्यिक कृति हो ।

 

‘आज डेढ दसक पछि पनि यो पुस्तक वर्षेनी तीन हजार प्रति बिक्री भइरहेकै छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रकाशन इतिहासमै यो आज सम्मकै उल्लेखनीय उपलब्धि हो ।’

 

युवा पुस्ताका लेखक र साहित्यकारहरुलाई प्रेरणा प्रदान गर्नसक्नु त्यस पुस्तकको अर्को महत्वपूर्ण उपलब्धि थियो । नेपाली साहित्यमा आजका चर्चित हस्ताक्षरहरुले सार्वजनिक रुपमै ‘पल्पसा क्याफे नभइदिए मेरो कृति आउने थिएन’ भनेर आफुलाई अभिब्यक्त गरिसकेका छन् ।

 

वाग्लेको यो पहिलो प्रयासले त्यस वर्षको मदन पुरस्कारसमेत जित्न सफल भएको थियो । त्यसपछि वाग्ले दोश्रो उपन्यास ‘मयुर टाइम्स’ लिएर उपस्थित भए । ‘पल्पसा क्याफे’मा जसरी नेपालमा चलेको दसवर्षे द्वन्द्वमा बाँचेका युवा पुस्ताको ढुकढुकी बगेको थियो त्यसैगरि ‘मयुर टाइम्स’ मार्फत् वाग्लेले मधेस विद्रोहको बाछिटालाई झल्काउन खोजेका थिए ।अब भने वाग्ले उनी स्वयंले विकास गरेको आफ्नै ‘कफीगफ’ लाई निरन्तरता दिँदै तेश्रो कृतिमा प्रकट हुन खोजेका छन्।

 

‘नारायणको लेखन तीन शैलीमा वर्गीकृत छन्,’ लामो समय देखिका मित्र समेत रहेका प्रकाशक किरण भन्छन्, ‘उनी एकातिर समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकार हुन् । अर्कोतिर मनपराइएका उपन्यासकार हुन् । त्यसैगरि तेश्रो विशेषता भनेको उनी कफीगफ लेख्छन् ।’

 

यो ‘कफीगफ’ केहि वर्षअघि वाग्ले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको देन हो ।

 

यसपटक गैरआख्यान लिएर आउनुको कारणबारे सोध्दा वाग्ले आख्यान वा गैर आख्यान जेसुकै भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताउँछन् । ‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनी भन्छन्, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं ।’ यस्तो अवस्थामा पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्ने वाग्ले बताउँछन् । ‘म यो पुस्तकको पहिचानलाई खुला राखिदिन चाहन्छु, ’ वाग्ले भन्छन्, ‘पाठकहरुले आफ्नो स्वाद अनुसारै यसको मजा लिउन् र यसलाई वर्गीकृत गरिदिउन्।’

 

फेब्रुअरीको दोश्रो साता सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई बाक्लो गाताको चार सय ९५ रुपैयाँ तय गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार