• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

दधिराज सुवेदी राष्ट्रिय पुरस्कार साहित्यकार डा.पोखरेल र पत्रकार नेपाललाई प्रदान गरिने

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले २०७५ सालको दुई पुरस्कारको घोषणा गरेको छ ।

 

दधिराज सुवेदी राष्टिय भाषा साहित्य पुरस्कार साहित्यकार प्राडा माधवप्रसाद पोखरेललाई  एकाउन्न हजार राशी र सम्मानपत्र सहित प्रदान गर्ने भएको छ ।

 

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई पचीस हजार राशी र सम्मानपत्र सहित प्रदान गरिने भएको छ ।

 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा साहित्यको क्षेत्रमा लामो समयदेखि  दिइएको योगदानका लागि प्राडा पोखरेललाई  पुरस्कार दिइने निर्णय गरेको हो ।

 

पोखरेलका ध्वनीविज्ञान र नेपाली भाषाको ध्वनी परिचय, मेरो मान्छे, नागदहको थिति, गार्गीको गाँठो, नेपाली साहित्य कोष, लिम्बू नेपाली अङ्ग्रेजी शब्दकोश लगायत दर्जनौं कृति प्रकाशन छन् ।

 

बरिष्ठ पत्रकार नेपालले नागरिक दैनिक, कान्तिपुर साप्ताहिक, नेपाल मासिक, गोरखापत्र दैनिकलगायत राष्ट्रिय स्तरका पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् साथै उनी एक कुसल साहित्यकार पनि हुन् ।

 

उनका रङ्गमण्डल, अर्को प्रस्तर, चिन्ताका क्षणहरु, पाताल, शहरको कथा लगायतका कृति प्रकाशित छन् । वरिष्ठ पत्रकार नेपाल हाल राष्ट्रिय स्तरका बिभिन्न पत्रपत्रिकाका स्तम्भकारको रूपमा सुपरिचित छन् । 

 

नेपाली भाषा साहित्यमा समर्पित प्राज्ञ समालोचक दधिराज सुवेदीको नाममा उनका पुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले तीन वर्ष अगाडी रू पन्ध्र लाखको अक्षय कोषको व्यवस्था गरेर उक्त पुरस्कार स्थापना गरेका हुन् ।

 

प्रत्येक वर्ष साहित्यतर्फको एकाउन्न हजार राशी र पत्रकारितातर्फको पचीस हजार राशी र सम्मानपत्र सहित उक्त पुरस्कार प्रदान गरिन्छ ।

 

यसअघि साहित्यकार प्राडा. गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी र पत्रकारहरू हरिबहादुर थापा र शिवबहादुर कार्की पुरस्कृत भइसकेका छन् ।

 

प्राज्ञ दधिराज सुवेदीले नेपाली  भाषा साहित्यको क्षेत्रमा विगत चार दशक देखि निरन्तर योगदान दिएका छन् ।

 

उनका समालोचना, निवन्ध, कविता तथा भाषा साहित्यका विभिन्न सम्पादन सहित चार दर्जन कृतिहरु प्रकाशित छन् ।

 

विराटनगर निवासी त्रिहत्तर वर्षीय वरिष्ठ साहित्यकार सुवेदीको सम्मानमा उनका सुपुत्रद्वयले अक्षय कोषको व्यवस्था गरी पुरस्कार प्रतिष्ठानको स्थापना गरेका हुन् ।

 

यस वर्षको पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहबीच विराटनगरमा प्रदान गरिने छ ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार