• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

चिन्न छाडेको स्रष्टा

एकताकाको सक्रिय जीवन यतिखेर सुस्ताएको छ  । विभिन्न रोग र उपेक्षा पन्छाउदै निरन्तर लेखनका माध्यमबाट आफ्नो दरिलो उपस्थिति जनाउदै आउने उहाँ लेखनको त कुरै छाडौं शरीर समेत कमजोर बनेको जीवन बाँचिरहनु भएको छ । 


समय छँदै धेरैले उहाँलाई चिनेनन्, प्रज्ञा प्रतिष्ठानको दैलो कहिलै खुलेन उहाँका लागि, प्राध्यापन पेशामा पनि सन्तोष पाउनु भएन राजनीतिको मारमा पर्नुभयो । कविता, उपन्यास, निबन्ध लेखेर सशक्त हस्ताक्षरको छवि बनाए पनि डा. वानिरा गिरिलाई चिन्नेहरु कम भए । अहिले उहाँ स्वयं अरुलाई नचिन्ने अवस्थामा पुुग्नु भएको छ, विस्मृतिको रोगले गाँज्दै गाँज्दै अन्तत ओछ्यानमा सीमित बन्न पुगेको जीवन बाँचिरहनु भएको छ । 


प्राध्यापन, लेखन, अखबारी लेखन, सभा समारोहमा सहभागिता आदिले सक्रिय र सिर्जनशील जीवन बाँच्दै आइरहनु भएकी डा. वानिरा गिरि विगत चार वर्षदेखि विस्तारै विस्तारै निस्कृय बन्दैमात्र आउनु भएन आफूले माया गरेको क्षेत्र साहित्यबाट पनि टाढिनु भयो । कविता लेख्न नपाउनुलाई जीवनको सबभन्दा ठूलो सजायँ ठान्ने उहाँले आफ्नै कविता कृति काठमाडौं काठमाडौं मा लेख्नु पनि भएको छ–कविता लेखन मेरो पहिलो प्रेम हो । 


मेरो पहिलो प्रेमभन्दा पनि जवाफ पूरा हुन सक्दैन । मैले आफैलाई नढाँटी भन्न सक्नु पर्छ – यो मेरो व्यक्तिगत आवश्यकता पनि हो । अझ एक कदम अघि बढेर पनि भन्छु यदि कुनै शक्तिले मलाई दण्ड दिन चाहे जेल हाल्नु पर्दैन । त्यसको सट्टा आजदेखि तिमीले कविता लेख्न पाउन्नौ भने पुग्छ  । यो मेरो खसोखास आत्मस्वीकृति हो । 


कठै समय । अहिले रोगले उहाँलाई कविता (साहित्य) लेखनबाट पनि टाढा गरिदियो, घरभित्रै एक किसिमको जेल जीवन बाँचेजस्तो जीवन बाँच्न बाध्य पारिदियो । सात दशकको उमेर पनि नटेक्दै रोगले छोएपछि वानिरा गिरिको जीवन फेरिएको छ । पहिलेको सक्रियता देख्न पाइदैन, यतिखेर निस्कृय बन्न पुग्नु भएको छ । दुःखको जीवन । उहाँको दुःख हाम्रो पनि दुःख बनेको छ , उहाँले लेखेको साहित्य पढेको नाताले पनि भन्नै पर्छ । 


वि.सं २००३ सालको बैशाख २२ गते दार्जीलिंगको खरसांगमा जन्मिनु भएकी डा. वानिरा गिरि केटाकेटी उमेरदेखि नै विविध क्षेत्रमा केही न केही गरिरहने स्वभावको हुनुहुन्थ्यो । नाचगान, अभिनय, लेखन सबैमा उहाँको रुचि थियो । दार्जीलिंगबाट निस्कने दियो पत्रिकामा २०२० सालमा पहिलो कविता छापिएपछि उहाँ साहित्यकारको रुपमा चिनिन थाल्नुभयो । त्यही चिनारी फैलिदै फैलिदै वि.सं २०६९ सालसम्म आइपुग्दा उहाँ विश्वनारी नेपाली साहित्यरत्नको उपाधिबाट सम्मानित हुनु भयो । 


एकपछि अर्को कृति, एकपछि अर्को सम्मान, पुरस्कारले लेखन क्षेत्रमा चुलिदै जानु भयो । यसै मेसोमा उहाँले साझा पुरस्कार, मधुपर्क सम्मान, लोकप्रियादेवी पुरस्कार, गोमा सम्मान, रत्नश्री स्वर्ण पदक, राष्टिय कविता महोत्सवमा रजत पदक, गोरखा दक्षिण बाहु आदि पाउनु भयो । २०३१ सालमा पहिलो कृति एउटा जिउँदो जंगबहादुर, २०३४ मा जीवनः थायमरु, २०६८ मा काठमाडौं काठमाडौं जस्ता कविता सङ्ग्रहले उहाँलाई सशक्त कविको रुपमा चिनाइदियो । २०३५ मा प्रकाशमा आएको कारागार, २०४४ को निर्बन्ध र २०५६ को शब्दातीत शान्तनु उपन्यासले उपन्यासकारको रुपमा चर्चित बन्ने उहाँ साठीको दशकपछि  निबन्धकारको रुपमा पनि चुलिनु भयो । २०६७ को पर्वतको अर्को नाम पार्वती र २०६८ को जंगल जंगल उहाँका निबन्ध सङ्ग्रह हुन ।


लामो समय अखबारी लेखनबाट पनि आफ्ना अभिव्यक्ति पाठकसमक्ष प्रस्तुत गर्ने डा. वानिरा गिरिको गतिविधि सुस्ताएजस्तै उहाँको चर्चा पनि सुस्ताउन थालेको छ । निरन्तर ५६ वर्षदेखि चलेको कलम रोकिएसँगै उहाँको शोधखोज गर्नेहरु, कलम चलाउनेहरु पनि भेटिन हम्मे परेजस्तै भएको छ । बलेको आगो ताप्ने स्वभाव न हो मान्छेको । 


वानिरा गिरिको चिनारीका दुई पाटा छन्, सम्मानित जीवन बाँचेका शिक्षण र लेखन व्यक्तित्व नै उहाँको चिनारीका चुली हुन् । १६ वर्षको उमेरमै दार्जीलिंगस्थित सेण्ट जोसेफ स्कुलमा शिक्षक बनेर जागिरे जीवन थाल्नुअघि घरैमा ट्युशन पढाएर जीवन चलाएको गर्विलो इतिहास पनि छ उहाँसँग ।


वि.सं २०२२ सालमा काठमाडौं आएपछि पद्मकन्या क्याम्पस, ललितकला क्याम्पसमा लामो समय प्राध्यापन गर्ने उहाँले लामो समय अखबारी लेखनमा पनि आफ्नो सक्रियता देखाउनु भयो । कवितालाई प्रिय विधा मान्ने उहाँका अखबारी लेखन, गद्य लेखन पनि काव्यिक अभिव्यक्ति नै लाग्थे । बोल्दासमेत काव्यिक भाषामा बोलेजस्तै लाग्थ्यो । उहाँको परिचय र सम्मान यी दुबै क्षेत्रबाट प्राप्त भए । तर मान्छेको स्वभाव पनि कतिका लागि परिचय बनिदिदो रहेछ भन्ने उदाहरण हो उहाँ । हक्की र कसैलाई भन्न बाँकी नराख्ने उहाँकै स्वभावले पनि हुन सक्छ वानिरा गिरिको अघिल्तिर पर्न हतपत कोही चाहँदैन थिए ।


२०४४ सालको बैशाख २८ गते मीनभवनस्थित उहाँकै घरमा पहिलो पटक भेटेको हुँ उहाँलाई पहिलो भेटमै उहाँको व्यबहारबाट प्रभावित भएको पनि हुँ । पहिलो भेटको लगत्तै दोस्रो भेटमा उहाँसँगको भेटघाट त्यति सुखद रहेन । मान्छेको स्वभाव आ– आफ्नै हुन्छ लेखनमा डा. वानिरा गिरि सधैँ अब्बल नै रहनु भयो, शुरुका दिनमा कविता लेख्नु भयो त्यसैमा चर्चित बन्नु भयो, त्यसपछि थालेको उपन्यास लेखनबाट पनि उहाँ चुलिनु भयो । साठीको दशकपछि प्रकाशमा आएका दुईवटा निबन्ध सङ्ग्रहले पनि उहाँको चर्चा त्यत्तिकै रह्यो । कविता, उपन्यास, निबन्ध सबै विधामा धेरैका प्रिय लेखक बन्नु भयो । लाग्छ उहाँको स्वभाव चाहि कतिपयका लागि त्यति प्रिय भएन होला ।

 

मधुमेह, उच्च रक्तचापले गालेको शरीर, सात दशकको उमेर छोइसक्दा पनि लेखनमा निरन्तर लागि नै रहनु भएकै हो उहाँ । तीन वर्षदेखि बिस्तारै बिस्तारै विस्मृतिले गाँज्दै लगेपछि लेखन र अन्य गतिविधि बन्दप्रायः हुँदै गए, गएको बैशाखदेखि हिंड्नसमेत नसक्ने अवस्थामा पुगेपछि सक्रिय र सिर्जनशील डा. वानिरा गिरिको सक्रियता र सिर्जनामा पूर्णविराम लागेको छ । छोरा छोरी अमेरिकामा, उहाँ आफ्ना पति शंकर गिरिको साथमा मीनभवनमा बस्दै आइरहनु भएको छ ।


विगत तीन दशकदेखि उहाँको सहयोगीको रुपमा रहनु भएकी वीभा बोटे वानिरा गिरिको देख्दा देख्दैको सक्रिय जीवन ओछ्यानमा सीमित भएकोमा दुःखी बन्नु भएको छ र भन्नुहुन्छ चार वर्षअघिसम्म पनि उहाँ केही न केही गरेर बसिरहने, लेखिरहने गर्नुहुन्थ्यो, अहिले त सबै कुरा बिर्सने रोगले च्यापेपछि दुःख पाउनु भएको छ ।  नेपाली भाषा र साहित्यको क्षेत्रमा अनवरत लागिरहने साधकको दुखमा यतिखेर हामी पनि दुःखी बनेका छौं, हामीले त भन्ने यत्ति हो–शीघ्र स्वास्थ्य लाभको कामना । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार