• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरः संविधान संशोधन फेसनको विषय होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन् ।

 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उनले राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको सन्दर्भमा जनआकांक्षा बढ्नु स्वाभाविक भएको बताए ।

 

देशको समग्र विकासका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले ‘विकास–निर्माणका गतिविधि तीव्रगतिमा अघि बढाउनुपर्छ’–भने ।

 

सदनमा सांसद कृष्णभक्त पोखरेलले ‘चीनबाट नेपालसम्म रेल ल्याउने र पूर्व–पश्चिम रेल चलाउने सम्बन्धमा के प्रगति भइरहेको छ ?’ भनी प्रश्न गरे ।

 

साथै, उनले प्रधानमन्त्रीको आसन्न स्वीट्जरल्यान्डको भ्रमणकाबारेमा जिज्ञासा राख्दै ‘भ्रमणबाट नेपालले के लाभ लिनसक्छ ?’ भनी प्रश्न गरेका थिए ।

 

जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भएपनि अब विभिन्न सञ्जालले जमिनमार्फत् विश्वसँग जोडिएको बताउँदै जल यातायात सन्चालन गर्ने विषयमा विभिन्न चरणमा भारतसँग वार्ता भइरहेको जानकारी गराए ।

 

पूर्व–पश्चिम रेलको काम अघि बढिरहेको र स्रोत जुटाउन विभिन्न दुईपक्षीय र बहुपक्षीय निकायसँग वार्ता, छलफल भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले वीरगन्ज–काठमाडौं रेलमार्ग अघि बढाउन भारतसँग वार्ता निकै अघि बढेको उल्लेख गरे ।

 

उनले ‘केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेल सन्चालनका लागि चीनसँगको वार्ता र छलफल जारी छ’–भने ।

 

यही जनवरी २२ देखि २५ सम्म स्वीट्जरल्यान्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा आफ्नो नेतृत्वमा पहिलोपल्ट सहभागिता हुन लागेको अवगत गराउँदै प्रधानमन्त्री ओलीले भने–‘हामीले गरेको सफलताले नेपालप्रति विश्वको चासो बढेको छ ।

 

अब नेपाल सानो पछौटे मुलुककारुपमा नभइ विश्व मानचित्रमा सम्झनलायक मुलुककारुपमा स्थापित भएको छ ।’

 

भ्रमणका लागि यही माघ ६ गते आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्ने र माघ १२ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको उनले बताए ।

 

भ्रमण आर्थिक गतिविधिमा केन्द्रित रहने र दुनियाँका नयाँ आर्थिक ‘ट्रेन्ड’काबारेमा छलफल हुने भन्दै प्रधानमन्त्री ओलीले भ्रमणको ‘साइडलाइन’मासमेत अन्य महत्वपूर्ण भेटघाट हुने जानकारी गराए ।

 

उनले भ्रमणले नेपालको इज्जत र प्रतिष्ठा बढाउने र नेपालको अवस्था जनाइ नेपालप्रति सहयोगात्मक भावना बढाउन केन्द्रित बनाउने आश्वस्त पारे ।

 

सांसद अतहरकमाल मुसलमानले ‘रु ५० अर्बभन्दा ठूला आयोजना विना टेन्डर प्रधानमन्त्री कार्यालयबाट सीधै अघि बढाउने सरकारको नीतिले कसरी सुशासन हुन्छ रु’ भनी प्रश्न गरे ।

 

जवाफमा प्रधानमन्त्री ओलीले यसबारेमा कुनै निर्णय नभएको र निर्णय गर्ने कुनै योजना पनि नरहेको स्पस्ट पारे ।

 

सांसद प्रदीप यादवले ‘संविधान संशोधन कहिलेसम्म हुन्छ र सुनकोसी र कमला डाइभर्सनको काम कहिलेदेखि अघि बढ्छ ?’ भनी प्रश्न गरे ।

 

जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकता र औचित्यताका आधारमा गर्ने हो भन्दै ‘यो फेसनको विषय होइन’–भने ।

 

उनले भने–‘यो अन्धाधुन्ध स्वीकार वा अस्वीकार गर्ने विषय होइन । संविधान जनताका प्रतिनिधिले बनाएको हो । यो अपरिवर्तनीय होइन । जहिले औचित्य वा संशोधनको आवश्यकता हुन्छ, तब संशोधन हुन्छ ।’

 

सांसद चन्दा चौधरीले ‘मधेस आन्दोलनमा भएको क्षतिका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’ भनी प्रश्न गरेकी थिइन् ।

 

जवाफमा प्रधानमन्त्री ओलीले मुलुक परिवर्तनका लागि विभिन्न समयमा विभिन्न आन्दोलन भएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिकभन्दा पनि वास्तविक र सकारात्मक कार्यान्वयन गर्नुपर्ने कुरालाई बढी ध्यानमा राख्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार