• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

डा.केसीको जीवनरक्षाका लागि कांग्रेसको मागः राजनीतिक दुर्घटना निम्तिने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले इलाममा १६ औं पटकको अनशनमा बसिरहेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेका छन् ।

 

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा सांसद राधेश्याम अधिकारीले डा. केसीसँग आफैंले गरेका सम्झौता पालना नगर्ने सरकारका अगाडि नैतिक र कानुनी प्रश्न उठेको जिकिर गरे ।

 

उनले ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा १५औं अनशनताका डा. केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो ?’ भन्दै प्रश्न गरे ।

 

यस्तै, कांग्रेस सांसद धनकुमारी खतिवडाले डा. केसी अनशन बसेको ८ दिन बित्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै ‘आफैं सम्झौता गर्ने र आफैं तोड्ने सरकारको रणनीति के ?’ भन्दै प्रश्न गरिन् ।

 

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले पूर्वप्रधानमन्त्रीद्वय स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलेका अस्पतालहरु विघटन गर्न लागेको भन्दै आपत्ति जनाए ।

 

उनले प्रतिपक्षी दलप्रति सरकारको यस्तै असहिष्णु व्यवहार जारी रहे राजनीतिक दुर्घटना निम्तिने चेतावनी दिए ।

 

बैठकको शून्य र विशेष समयमा सांसदहरु नैनकला ओझा, बद्री पाण्डे, मुक्तकुमारी यादव, रमेशजंग रायमाझी, रामलखन चमार, विमला राईलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

यता, पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीलाई एउटा व्यक्ति भनेर अवमूल्यन नगर्न चेतावनी दिए ।

 

‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाव पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भीरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं’ कांग्रेसले भनेको छ ।

 

पहिले केसीसँग सहमति गर्ने र अहिले पालना नगर्ने प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको का‌ंग्रेसले बताएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार