• मंगलबार ५-३-२०७६/Tuesday 08-20-2019
विचार

वाइडबडी प्रकरण

परिदृश्य १ 

 

आफुलाई सँधै सहयोग गर्दै आएकी एउटा स्थानीय ट्राभल एजेन्सीको कर्मचारीसंग मलाई दिल्ली जानु परेको हुनाले नेपाल बायुसेवा निगमको (नेबानी) टिकट मिलाईदिनु हुन अनुरोध गरें । उनले प्रश्न गरिन, नेबानी कै फ्लाईटमा जाने र ? टिकट मिल्यो । दिल्ली हामी दुई बाबु–छोरा गयौं । सातापछि फर्कने दिन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डा पुग्दा थाहा लाग्यो नेबानीको फ्लाईट क्यान्सिल भएको छ । दिल्लीमा कहाँ जाने कुन ठाउँमा बस्ने त्यसको प्रबन्ध गर्न अत्यन्तै कठिन भयो । उनै ट्राभल एजेन्सीको मित्रलाई दिल्लीमा हामी अलपत्र परेको अवस्था अवगत गराएपछि उनकै सौजन्यमा भोलीपल्ट एयरइण्डियाको फ्लाईटमा काठमाडौं फर्कन सकियो । अलपत्र अन्य यात्रुहरुको अवस्था के कस्तो रह्यो थाहा भएन । हुल मूलमा ज्यान जोगाए जस्तो गरेर हामी काठमाडौं उत्रिन सफल भयौ । 

 

परिदृश्य २ 

 

केहि महिना पूर्व बैंकक जानुपर्‍योे । पुनः उनै ट्राभल एजेन्सीको मित्रलाई फोन गरेर नेबानीको फ्लाईट मिलाईदिन अनुरोध गरें । उनले दिल्लीको यात्रा मेरो स्मरण गराउँदै भनिन, ‘दिल्लीको जस्तो स्थीति आयो भने मलाई नगुहार्नुस नी’, काठमाडौं–बैंकक अन्य बायुसेवाहरुको उडान भएको मात्र होइन नेबानीको भन्दा अली सस्तो हुने सूचना पनि उनले नै दिएकी थिइन् । मलाई भने नेबानीबाट नै उड्न मन लाग्यो । निर्धारित दिन तथा समयमा नै  त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डामा पुगें । उडान समय भन्दा ढिलो हुने अग्रिम सूचना बिमानस्थलको सबै औपचारिकता समापन गरेपछि थाहा भयो । 

 

तोकिएको समय भन्दा डेड/दुई घन्टा पश्चात हाम्रो उडानको घोषणा भयो । हवाई जहाजतर्फ लाग्दा थाहा भयो उडान गर्ने जहाज एयरबसको वाइडबडी ३३३ रहेछ । बहुचर्चित नयाँ हवाई जहाज आधा भन्दा कम भरिएको थियो । भित्र पुराना नेबानीको हवाईजहाजहरुमा जस्तै भित्तामा नेपालीपना झल्कने कलात्मक चित्रहरु थिएनन् । कम उमेरका देखिने ३/४ परिचारिकाहरु तथा उनीहरुको सुरक्षामा लागिपरेको प्रतित हुने २/३ पुरुष परिचालकहरु थिए । बुझ्न अली कठिन हुने अंग्रेजी भाषामा आफुलाई ‘क्याप्टेन रोमियो’ भने जस्तो लाग्दछ । उनले ‘ट्राफिक कन्जेसन’ लाई दोष थोपार्दै उडान ढिलो भएकोमा क्षमा याचना गरेर हवाईजहाज धावन मार्गतर्फ अग्रसर तुल्याए ।

 

बिदेशी पाइलटले जहाज उडाउन लागेकोमा झलक्क एक अमेरिकी मित्रको भनाइ सम्झिए, ‘तिम्रो मुलुकमा जाँदा आउँदा म त जतिसुकै थोत्रो भए पनि तिमीहरुकै हवाई जहाजमा उड्ने गर्दछु । त्यस्तो डरलाग्दो पहाडको बीचहरुबाट जहाज उड़ाउने दक्षता नेपाली पाइलटहरु बाहेक अरु कसले गर्न सक्दछ ? अनि सर्भिस पनि उत्कृष्ट हुने गर्दछ’, बिदेशी क्याप्टेन अनि अज्ञात को–पाइलटले जहाज उडाउन लाग्दैछन् भन्दा आँङ्ग सिरिङ्ग हुने नै भयो ।

 

नेपाली पाइलटहरुले नेबानीको जेट बिमानहरु उडाउन थालेको ४७ बर्ष पुग्न लाग्यो । हालसम्म कुनै दुर्घटना भएन । त्यतीमात्र होइन अन्तर्राष्ट्रिय उडानको क्रममा गडबडी गरेको सिकायतहरु पनि  सुनिएको छैन । मनोबिज्ञान हुन सक्दछ, परिचारिकाहरुको ब्यबहार बिगतका नेपाली परिचालिकाहरुको जस्तो मैत्री थिएन । उनीहरुका निमित्त हवाईजहाज ठूलो भएकोले गर्दा हुनसक्दछ दौडादौडी नै परेको थियो । पेयपदार्थ बिगतमा मनग्य हुने गरेर सर्भ भएन । खानेकुराको गुणस्तर विगतमा नेबानीले उपलब्ध गराउनेको भन्दा निम्न थियो । बैंकक जाँदा ‘हेड फोन’ उपलब्ध भएको थियो । फर्कदा भने थिएन । किन हेडफोन उपलब्ध नभएको भन्ने प्रश्नको उत्तरमा परिचालिकाले गुणस्तर न्यून भएको हुनाले भनिन् । बैंककतर्फ लाग्दा जहाजमा उपलब्ध भएका ३०/३२ सिनेमाहरु मध्यबाट छानी छानी नेपाली बहुचर्चित चलचित्र सुनगाभा हेर्ने अवसर मिलेको थियो । फर्कदा भने हेडफोनको अभावमा पर्दामा सिनेमाहरु भए पनि हेर्ने कुरा भएन त्यसकारण कहिले बादल त कहिले आकाशबाट देखिने जमिनलाई हेरियो ।

 

पौष २३/२०७५ 

 

बिहान १० बजेको पत्रकार सम्मलेन गरेर पर्यटनमन्त्री रबिन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रकरणमा आफु निर्दोस भएको तथा दुई बाँकी किस्ता रकम बुझाएर मुलुकको गुम्ने नौं अर्ब जोगाएको र सत्यतथ्य छानबिन गर्नका निमित्त आफुले सहयोग गर्ने धारणा व्यक्त गरे । छानबिन कार्यलाई प्रभावकारी तथा स्वस्थ्य राख्नका निमित्त प्रचलन अनुसार छानबिनको दायरामा परेको उच्च अधिकारीले राजीनामा दिन्छन् । स्मरणमा रहेअनुसार २०५२ सालमा अर्थमन्त्री डा. रामशरण महतको बिदेशी बैंकमा खाता रहेको सम्बन्धमा एमाले संसदहरुले प्रश्न उठाएका थिए । डा. महतले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाए । 

 

छानबिन भयो उनी निर्दोष साबित भए । पछि पुनः अर्थमन्त्री पदमा बहाली भएका थिए । सरकारले  संसदीय छानबिन समिति मान्यता दिएन बरु उसले पूर्व न्यायमुर्तिको अध्यक्षतामा अर्को छानबिन समिति गठन गरेको छ । पंक्तिकारलाई थाहा भए अनुसार मन्त्री रविन्द्र अधिकारी बिद्यार्थी नेता हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका व्यक्ति । तिनी लगातार दुईपटक संबिधान सभाका चुनावहरुमा पनि बिजय भएका थिए । संसदको पछिल्लो चुनावमा बिजय हासिल हुनपूर्व तीनले लेखेको ‘समृद्ध नेपाल’ पढेर म निक्कै प्रभावित भएको थिए । 

 

राष्ट्रको पर्यटनमन्त्री पदमा अधिकारी नियुक्ति हुँदा खुशी लागेको थियो । उनले पर्यटन क्षेत्रमा गरेको सुधारका प्रयासहरुबाट प्रभावित भएको पनि हुँ । रबिन्द्र अधिकारीजस्ता युवकहरुले नै जति सक्दो चाँडो मुलुक संचालन गरे देशले उन्मुक्ति पाउँदछ भन्ने मेरो बिश्वास हो । त्यसकारण वर्तमान मन्त्रीपद तीनका एप्रेनटिस अवधी हुनेछ भन्ने व्यक्तिगत बिश्वास थियो । देशलाई हल्लाउने गरेर भूकम्प सरह आएको एयरबस घोटला तथा संसदीय उप–समितिले दोषी ठहर गरेपछि म जस्तो सर्वसाधारण तथा तीनका शुभचिन्तकका निमित्त नैतिक आधारमा तीनले राजीनामा दिनुपर्छ भन्ने थियो ।

 

अर्को अनुत्तरित प्रश्न भनेको नेबानीका निमित्त किन वाइडबडी जहाजको जरुरत भयो भन्ने हो ? लामो ५,००० देखि १३,००० किलोमिटरको दुरीसम्म उडन सक्ने क्षमता भएको बिमानको आवश्यक्ता किन परेको थियो ? युरोप, जापान, कोरिया आदी समुन्द्रपारका मुलुकहरुको उडान भर्नका निमित्त भन्ने उल्लेख गरिएको छ । जबकी असुरक्षित घोषित भएको कारणले गर्दा नेपाली हवाइजहाज कम्पनीहरुलाई युरोपियन मुलुकहरुको आकाशमा उड्न लगाएको प्रतिबन्ध हटेको छैन ।

 

आफु निर्दोष सावित हुनका निमित्त पदबाट राजीनामा दिएर भबिष्यको छानविन कार्यलाई सघाउन गर्ने तीनको नैतिक दायित्व हो । झन आफूले दुई किस्ता नबुझाएको भए राष्ट्रले नौ अर्ब गुमाउने थियो भन्नु तथा त्यसपुर्व महालेखा परिक्षकसँग गर्दै नगरेको परामर्श गरे भनेर संसदीय समितिमा बोल्नु जस्ता कार्यहरुले उनीप्रति आस्था हुनेहरुलाई निरस तुल्याएको छ । 

 

सर्वप्रथम हवाई जहाजहरु खरिद प्रकरणको चर्चा परिचर्चाका गाथाहरु सुन्दा पढ्दा दुवै हवाई जहाजहरु किनेको हो कि लीजमा लिएको हो त्यसको एकिन हुन अझै सकेको छैन । यदी लीजमा लिएर मुलुकलाई गुमराहमा राखिएको हो भने यो बिगतमा चिनियाँ ‘मित्र’ संग सरकार ढाल्न र आफ्नो सरकार गठन गर्न मांगेको रकम कम भन्दा सानो देशघाती कदम होइन । सहजका निमित्त खरिद घोटाला नै मानौं । यस घोटलालाई गुन्द्रीमुनी लुकाउन साम्यबादी सरकार सफल होला त्यस प्रयासमा उसलाई विपक्षी दलको सहयोग मिल्यो भने सर्वसाधारण नागरिकहरु अचम्मित हुने छैनन् । यत्रो ठुलो घोटाला दुईचार कर्मचारी तथा तीन मन्त्रीहरुको मिलोमतोमा भएको होला भनेर चार बर्षको बच्चाले पनि पत्याउदैन । दुई जहाजहरु खरिद गर्ने निर्णय कुनै पनि हालतमा नेबानीको तथा राष्ट्रिय हितलाई ध्यानमा राखेर गरिएको थिएन । यो सिमित व्यक्तिहरुले राष्ट्रको धनलाई दुरुप्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने उदेश्य प्रेरित कार्य थियो । यस आलेखको उदेश्य त्यस मनसाय अर्थात नेबानीको माध्यम राष्ट्रिय धनको लुट गर्ने आसय प्रष्ट्याउनु हो ।     

 

फाष्ट फरवार्ड गर्दै वाइडबडीको एयरबस बिमान खरिद प्रकरण तर्फ लागौ नेबानीले पहिलो बोइङ्ग जाहाज खरिद गरेर संचालनमा ल्याएको ४४ बर्ष पुग्न लागेको छ भने टुइनेटर जहाज संचालनमा ल्याएको ४५ बर्ष । ६१ बर्ष पुर्व डाकोटा हवाईजहाजबाट शुरु भएको नेबानी एकैपटक जेट युगमा प्रवेश गरेको थिएन । पल्याटरस्पोर्ट्स, फोकर फ्रेन्डसिप, एभ्रो, टुइनेटर हुँदै जेट युगमा प्रवेश गरेको हो । डाकोटा, पल्यासटरस्पोर्ट्स देखि फोकर फ्रेन्डसिप जहाज उडाउँदासम्म नेपालमा पाइलटहरुको चरम अभाव थियो । त्यस कालखण्डमा बिदेशी पाइलटहरुको सेवा नेबानीले उपयोग गर्थ्यो । सरकारले साठी–सत्तरीको दशकहरुमा भारत, सोभियत युनियन, बेलायत तथा पाकिस्तान जस्ता मुलुकहरुमा पाइलटहरुलाई तालिम गर्न पठाउने कार्यहरु गरेर नेबानीलाई सहयोग गरेको थियो । टुइनेटर जहाज आउनु पुर्व क्यानेडियन सरकारको सौजन्यमा नेपाली युवकहरुलाई क्यानडामा पाइलट तालिमका निमित्त पठाउने कार्य भयो । निगमले बोइङ्ग ७२७ भित्रयाउनु पुर्व दर्जनौंको संख्यामा त्यस समयका ‘सिनियर’ पाइलटहरुलाई सियाटल बोइङ्ग कम्पनीको मुख्यालयमा तालिमका निमित्त पठाएको थियो । दुईवटा ७५७ भित्रयाउनु पुर्व पनि पाइलटहरुलाई तालिम दिने गरेको थियो । वास्तवमा टुइनेटर जहाज देखि बोइङ्ग जहाजहरु सबै नेपाल वरालिने वा भित्रयाउने कार्य नेपाली पाइलटहरुले नै गरेका थिए । 

 

केहिवर्ष पुर्व हिमालयन एयरले खरिद गरेको दुई एयरबस भित्रयाउनु पुर्व पाइलटहरुलाई तालिमका निमित्त टुलिज पठाएको थियो । त्यसो त नेबानीले दुई एयरबस ३२० भित्रयाउनु पुर्व सिमित संख्यामा भए पनि आफ्ना पाइलटहरुलाई तालिमका निमित्त टुलिज पठाएको थियो । वाइडबडी जहाज भित्रयाउँदा भने स्थापित परम्परालाई त्यागेर बिदेशी पाइलटहरुको जिम्मामा जहाजहरु सुम्पिने कार्य गरियो । तालिम प्राप्त पाइलटको अभावमा हवाइजहाज भित्रयाउने चटारो किन पर्यो ?

 

अर्को अनुत्तरित प्रश्न भनेको नेबानीका निमित्त किन वाइडबडी जहाजको जरुरत भयो भन्ने हो ?  लामो ५,००० देखि १३,००० किलोमिटरको दुरीसम्म उडन सक्ने क्षमता भएको बिमानको आवश्यक्ता किन परेको थियो ? युरोप, जापान, कोरिया आदी समुन्द्रपारका मुलुकहरुको उडान भर्नका निमित्त भन्ने उल्लेख गरिएको छ । जबकी असुरक्षित घोषित भएको कारणले गर्दा नेपाली हवाइजहाज कम्पनीहरुलाई युरोपियन मुलुकहरुको आकाशमा उड्न लगाएको प्रतिबन्ध हटेको छैन । उक्त प्रतिबन्ध हट्नु पुर्व युरोप उडान गर्ने कसरी गुड्डी हाक्न सकेको ? युरोपको आकाशमा उड्न नपाएको नेबानीको जहाजलाई कोरिया तथा जापान मात्र होइन चीनले समेत उडान गर्ने सुबिधा दिएको छैन । कुन–कुन मुलुकमा हाम्रो जहाज उड्न पाउने त्यो निश्चित नै नगरी हतारमा जहाज भित्रयाउँदाको पिडा र प्रत्येकदिन गुमेको खर्चको हिसाब गरेर नेबानी बस्नुपरेको छ । यस परिपेक्ष्यमा उल्लेख गर्नुपर्ने अर्को वास्तविकता के पनि हो भने ट्राभलर म्यागजिनले बिश्वको २१ झुर एयरलाइन्सहरु मध्य नेबानीलाई नवौं स्थानमा राखेको छ । त्यो कलंक मेटनका लागि सम्बन्धित जिम्मेवार क्षेत्रले के कस्तो कार्य गरेका थिए जसले गर्दा हाम्रो बिमान सेवाले यदी उडने अनुमती पाएकै भए पनि प्यासेन्जरहरु पाउने थियो ?

 

अन्तरराष्ट्रिय उडान अत्यन्त सहज छैन । प्रतिस्पर्दा अत्याधिक छ । धेरै राष्ट्रिय ध्वाजाबाहकहरु घाटा व्यहोर्न नसकेर डुबेको इतिहास गुगलमा खोज गरे पाइन्छ । अमेरिकाको ‘प्रेस्टिज’ मानिएको पानएम जाहज कम्पनी बन्द भएको २५ बर्ष नाघिसकेको छ । बिश्वको उत्कृष्ट कहलिएको स्वीस एयर बन्द भएको पनि १३ बर्ष पुग्न लागिसकेको छ । त्यसैगरी स्पेन तथा बेल्जियम जस्ता मुलुकहरुको राष्ट्रिय ध्वाजाबाहकहरु उड्न छोडेको पनि दशक नाघिसकेको छ । उल्लेखित सबै बिमान सेवा कम्पनीहरु घाटा ब्यहोर्न असफल भएर बन्द भएका हुन् । अन्यत्रको कुरा नगर्ने हो भने पनि भारतको राष्ट्रिय ध्वाजाबाहक एयरइण्डिया देखि श्रीलंकाको श्रीलंकन एयर कुनै घाटा चुलिदै गएको कारणले गर्दा कुनै पनि दिन उडान गर्नबाट रोकिने अवस्थामा छन् । आलेखको शुरुमा उल्लेख गरे अवस्था परिवर्तन रहुञ्जेलसम्म नेबानीका निमित्त वाइडबडी जहाज सेतो हात्ती हुने निश्चित छ । प्रश्न उठ्छ के नेबानी संचालकहरुलाई आफ्ना कमजोरीका बिषयमा ग्यान थिएन ? यदी थियो भने उनले नेबानीको व्यवस्थापन सुधारका निमित्त के कस्ता पहल कदमहरु चालेका थिए ? जहाँसम्म पंक्तिकारलाई थाहा छ कुनै पनि रचनात्मक कार्यबिना हवाई जहाजहरु खरिद प्रक्रिया अघि बढाइएको थियो । हवाइजहाज खरीद निर्णय यस अर्थमा बिहे गर्ने हतारमा बेहुलीको टुंगो लाग्नु पुर्वको जन्ती भन्दा पनि दुशासी कदम थियो । व्यक्तिगत वा समुहगत राष्ट्रलाई लुट्ने उदेश्य प्रेरित ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार