• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

रंगमञ्चमा हामी मन भित्रको खुसी खोजिरहेका छौं कि पैसा?

‘शकुन्तलाको औंठी’ सकियो, नाटकबाट प्रतिक्रिया कस्तो पाउनुभयो ?

 

हामीले गर्दै आएका अन्य नाटकको तुलनामा यो केहि भिन्न प्रकृतिको नाटक थियो । रंगमञ्चमा दर्शकलाई ल्याउनको लागि एकै किसिमको नाटक गरेर पुग्दैन । हामी रंगकर्मीहरुले भिन्न किसिमका नाटकहरुमा काम गर्नुपर्ने हुन्छ । यही क्रममा ‘शकुन्तलाको औंठी’ मा हामीले केही नयाँ र फरक कुरा व्यक्त गर्न खोज्यो र दर्शकहरुले त्यसलाई रुचाइदिनु भयों । समग्रमा भन्नुपर्दा नाटकले राम्रो प्रतिक्रिया बटुल्न सफल भयो ।  

 


यती लामो समयसम्म रंगमञ्चमा जोडिनु भएको छ, तपाइलाई रंगमञ्च के हो जस्तो लाग्छ ?

 

अरुका लागि के हो त्यो त म भन्न सक्दिन तर मेरा लागि यो क्षेत्र चेतनाको उज्यालो बाँड्ने थलोको रुपमा बुझदै आएको छु । यो त्यस्तो ठाउँ हो जहाँ हरेक विचारहरुको प्रवाह हुन्छ । मेरो लागि यो क्षेत्र एक किसिमको ‘पेनकिलर’ हो । व्यक्ति अनुसार सफलताका मापदण्डहरु फरक–फरक हुन सक्लान तर मेरा लागि भने यसबाट मैले सिकेका भोगेका कुराहरुले जुन म धरातलमा उभिएको छु त्यो नै मेरा सफलता हो । 

 

 

अहिलेसम्म रंगमञ्चमा लागेर के सफलता पाउनुभयो त ?

 

व्यक्तिले गाडी चढेर हिंड्नुलाई सफलतासँग जोडेर हेर्ने सक्लान मेरो हकमा आम दर्शकले मलाई चिन्नु हुन्छ । त्यो मेरो लागि ठुलो सफलता हो । मेरो कर्मबाट म खुसी छु यसलाई नै म सफलतासंग जोडेर हेर्छु । एउटा सभ्य समाजका लागि हामीले केही योग्दान दिएर जान्छौं । समुन्नत समाजका लागि हामीले केही दिएर जान्छांै भने त्यो धेरै अमूल्य कुरा हो । म सभ्य समाज निर्माणको पथमा अगाडी बढदै गरेको महशुस गर्छु । यो देशको सच्चा नागरिक हुनुको नाताले मेरो जिम्मेवारी निभाइरहेको छु । नाटक मार्फत समाज रातारात परिवर्तन नहोला तर समयको कालखण्डसंगै व्यक्तिले अलग ढंगबाट सोच्न सक्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउँछ सायद यहि कुराहरुमा म रमाइरहेको छु ।


त्योबेलाको रंगमञ्च र अहिलेको रंगमञ्चमा फरक के पाउनुभयो ?

 

समयसंग धेरै कुराहरुमा परिवर्तन आए । दुःखको कुरा के थियो भने यो बेरोजगारहरुले गर्न कुरा हो । त्यो समयमा यसलाई बरालिंदै हिड्नेहरुको दिनचर्या भनेर लिइन्थ्यो । विगतको त्यो बुझाइको तुलनामा अहिले धेरै परिर्वतन भएको छ । आम अभिभावकले आफ्ना सन्तानलाई डाक्टर, पाइलट लगायत छिटो पैसा आउने पेशा व्यवसाय गरोस भन्ने सोच्छन् । अहिले पनि यस्तो सोच समाजमा व्याप्त छ । यो कर्मलाई अझै पनि कला व्यवसायको रुपमा हेरिदैन् । त्यतिबेला महिला पात्रलाई झनै बन्देजहरु पनि थिए । विगतका कतिपय नाटकहरुमा महिला पात्रको भूमिका पुरुषले गर्नुपर्ने बाध्यता थियो । कलाकार आवश्यक भएको समयमा हामीले घर–घरमा गएर उनीहरुको बाबु–आमासंगै अनुमति लिएर काम गरेका पनि छौं । उनीहरुको सुरक्षाको जिम्मेवारी लिएर मात्रै नाटक खेल्न अनुमति दिएका उदाहरणहरु छन । वर्तमान समयमा भने अन्य विधा सरह नाटकको पनि आफ्नै स्थान र यसको गरिमा बढेको महशुस हुन्छ । विस्तारै रंगमञ्चले व्यवसायिकता प्राप्त गर्दैछ । अहिले रंगमञ्चमा धेरै कुराहरुको सुधार पनि छ । 

 

 

तपाई यो पेशाबाट आर्थिक रुपमा सन्तुष्ट हुनुहुन्छ ?

 

अन्य व्यवसायमा जस्तो आर्थिक लाभ लिन नसकिएला तर यसले आधारभूत आवश्यकता पुरा गर्न सक्छ । व्यक्तिको खुशी के मा छ भन्ने कुराले अर्थ राख्छ  । हामी मन भित्रको खुशी खोजिरहेका छौं कि पैसा । रंगकर्ममा लागेर बाँच्न सकिन्छ । मलाई चाहिने खर्च यसबाटै पुग्छ ।

 

अहिलेसम्म कतिजति नाटकहरुमा अभिनय गर्नुभयो होला ?

 

रंगमञ्चमा खेलेका नाटकको संख्या ५० बढी भए । सडक नाटक, बिषयबस्तु केन्द्रीत अन्य नाटकहरु सयौंको संख्यामा पुगे होलान ।

 

तपाईहरुको एक्टर स्टुडियोको सक्रियता अलि कम भयो भन्ने सुनिन्छ, के हो ?

 

त्यस्तो पनि होइन । हामीले जन–मानसमा उर्जा प्रदान गर्न किसिमका नाटक गर्छौं र त्यो बेजोड होस भन्ने हाम्रो चाहना हुन्छ । त्यहि अनुरुप नै नाटकहरु मञ्चन भइरहेका छन् । रंगकर्ममा लाग्न चाहने नयाँ पुस्तालाई पनि उर्जा दिने नाटकहरु गर्नुपर्छ भनेर हामी लागेका छौं । नाटक ग¥यौं त्यसले आम समुदायमा कुनै प्रभाव नै छाड्न सकेन भने त्यस्तो नाटक गरेर पनि त अर्थ छैन । संख्यात्मक भन्दा पनि गुणात्मक नाटकमा हामी केन्द्रीत हुन खोजेका हौं । 

 

 

अहिले रंगमञ्चमा नाटक निर्देशन गर्नेको लहर नै चलेको छ, के भन्नुहुन्छ ?

 
कला बुझेको व्यक्तिले निर्देशन गर्छ भने उसले त्यसको मर्म बुझेको हुन्छ । रहर गरेर मात्रै निर्देशनमा सफल हुन सकिंदैन । त्यसमा व्यक्तिको लगाव अथवा झुकाव हुनुपर्छ । निर्देशन गर्नु भनेको एकदमै ठुलो र जोखिमको काम हो । रंगमञ्च एक्लैले गर्ने कुरा पनि होइन । यसमा अन्य समुहहरुको पनि ठुलो भुमिका हुन्छ । आफनो समुहसँग मिलेर काम गर्न सकिएन भने यसमा ठुलो दुर्घटना हुन पनि सक्छ । यसले रंगमञ्चलाई अवश्य नै राम्रो गर्दैन किनभने दर्शकहरु नाटक टिकट काटेर हेर्न आउँछन् र त्योबेला दर्शकले काटेको टिकटको मुल्य हामीले दिन सकेनौं भने भोली फेरी त्यहि दर्शकलाई रंगमञ्चमा फर्काउन गाह्रो हुन्छ । 

 

प्रस्तुती : सुकृत नेपाल 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार