• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

मुम्बईको त्यो गार्ड

"हजुर नेपालबाट आउनुभा' ?" नन्दु आफैँ मनेर आएर बोल्यो ।

 

म अपार्टमेन्ट बाहिर जामुनको रूखमुनि राखिएको बेन्चमा बसेर चारैतिरको हरियाली हेर्दै थिएँ । कम्पाउण्ड वरिपरि रङ्गविरङ्गी बोगनभिला ढकमक्क फुलेका थिए । मूल बाटोमा लहरै रहेका गुलमोहरका  रूखहरू आफ्ना राता फूलका जोबनले मदमस्त झुलिरहेका थिए । कम्पाउन्डको पर्खाल चारैतिर सधैँ हरिया रहने पातेबोटहरू लगाइएका थिए र भित्र बाहिर गर्ने मूल गेटको सामुन्ने केही फूलका बोटहरू पनि रोपिएका थिए । मालीले सबैतिर पानी छर्कँदै थियो । 

 

ऊ मालीलाई केही निर्देशन दिएपछि मसामु आएको थियो । होइन भने बिहान मैले उसँग कुरा गर्दा राम्ररी बोल्न खोजेको थिएन ।

 

म कार्यालयको कामले चार दिनलाई मुम्बई आएको थिएँ र साथी विजय पटेलको फ्ल्याटमा बसेको थिएँ । अन्धेरी ईस्टमा रहेको एक सुन्दर अपार्टमेन्टको भुइँतलामा थियो उसको तीन बेडरूमको फ्ल्याट । तर ऊ त्यहाँ अहिले एक्लै रहेछ । श्रीमती माइत गएकी रहिछ बडोदरा, गुजरात । बाबुआमा पनि घर, सुरत गएका रहेछन् । छोरो हाइदराबादमा एउटा आइ.टी कम्पनीमा काम गर्दोे रहेछ । 

 

मलाई एयरपोर्टबाट ल्याएपछि उसले सबै कोठा देखाएर सँगै बस्न अनुरोध गर्दै भनेको थियो, “किन होटेलमा बस्ने कुरा गर्छौ ? यति वर्षपछि भेट भएको, दुईचार दिन भए पनि सँगै बसेर पुराना याद ताजा गरौँ, हुन्न !” 

 

ऊ र म सँगै पढेका थियौँ । उसको आत्मीय आग्रहमा म त्यहीँ बसेको थिएँ उसका बाबुआमा बस्ने कोठामा । 

 

म दिउँसोभरि आफ्नो काममा कुद्थेँ । बेलुकी साथीसँग घुम्न निस्कन्थेँ । हामी दुई धेरैपछि भेट भएका बन्धु, थरीथरीका रमाइला गफ गथ्र्याँै र खानपीन बाहिर गरेर अपार्टमेन्ट फर्कन्थ्यौँ । रमाइलोसित कटिरहेका थिए मेरा दिनहरू ।

 

त्यस इलाकामा लहरै थुप्रै अपार्टमेन्टहरू थिए । दाँयापट्टि, केही पर पन्जाबी सरदारजीहरूको हाउजिङ सोसाइटी थियो । त्यसैको छेउमा गुरुदुवारा थियो । त्यो इलाका पूरै थरीथरीका बोट बिरुवाले ढाकिएको हरियो–परियो, मनोरम थियो । 

 

हाम्रो अपार्टमेन्टमा बिहान र राती गरी दुईटा गार्ड थिए । तिनले आठ घण्टाको भने पनि दिनको बाह« घण्टा ड्युटी गर्नुपथ्र्यो । तिनैमध्येको एउटा थियो नन्दु । उसको ड्युटी  बिहान सातबजेदेखिको थियो । राती अबेर बाहिरबाट आएका बेला अर्को गार्डलाई देख्थेँ । त्यो गोरो युवक, खाइलाग्दो शरीरको  थियो । कहिलेकाँही बिहानै मर्निङ्ग–वाकमा निस्केका बेला म उसलाई फ्ल्याटमा बस्नेहरूको गाडी धोइरहेको देख्थेँ । 

 

नन्दुले आफूलाई त्रिसट्ठी वर्षको भने पनि ऊ निकै बूढो देखिन्थ्यो । दुब्लो थियो उसको शरीर । नयाँ देखेर हो कि यताउति हिँड्डुल गर्दा उसले मलाई एकोहोरो हेरिराख्थ्यो । उसको पहिरन पनि अनौठो थियो । उसले गार्डको धर्के कमिज र कालो पेन्ट त लगाएको हुन्थ्यो तर पेन्टमाथि कमिज खुला छोडेको हुन्थो र खुट्टामा जुत्ता नभई हवाइचप्पल हुन्थ्यो । टाउकामा टोपी वा क्याप कहिल्यै देखेको थिइनँ । ससाना कपाल सेतै फुलेका थिए । म आश्चर्यले भरिएर उसलाई तलदेखि माथिसम्म नियाल्नुको मुख्य कारण उसको लामो टुप्पी थियो, जसलाई उसले सुर्के गाँठो पारेर राख्थ्यो । मलाई हेर्दा ऊ बडो विचित्रको मुद्रामा उभिएको हुन्थ्यो । उसले दाहिने खुट्टा केही अगाडि तेस्र्याएको हुन्थ्यो, देब्रेहात कम्मरमा राख्थ्यो र केही सोचेझैँ गरी थुतुनो चुच्चो पारेर चोर औँलाले गालामा छोएको हुन्थ्यो अनि मलाई हेथ्र्याे । उसको टुप्पी र तीखो अनुहारका कारण मलाई त्यो मान्छे गडवालतिरको कुनै पाण्डे होला भन्ने लागेको थियो । 

 

उसले पम्प हाउसमा पसेर पानी खोलेको, बढार्न आउने कुचीकारलाई निर्देशन दिएको, नाला सफा गर्नेलाई हकारेको सबै म मेरो कोठाको ठूलो झ्यालबाट देख्थेँ । त्यस्तो बेलामा आँखा जुधे ऊ मुसुक्क हाँस्न थालेको थियो ।

 

हिजो बिहान बाहिर निस्कँदा उसले यथामुद्रामा उभिएर हेरेको देख्दा मलाई भित्रभित्रै खपनिसक्नुको  हाँसो उठेको थियो; बलैले रोक्दै बोलेको थिएँ, “क्या हाल है गार्ड साहब ?”

 

“ठीक है साप !” उसले इषत् हाँस्दै भनेको थियो । 

 

उसको लबज नेपालीको जस्तो लागेर मैले सोधेको थिएँ, “तपाईँ नेपाली हो ?” 

 

उसको आशा विपरीत मैले नेपाली बोलेकाले होला ऊ एकैछिन अलमलिएको थियो । हो, होइन भने झैँ उसले मौन रहेरै टाउको मात्र हल्लाएको थियो । मैले उसको मनस्थिति बुझिसकेको थिएँ । घरायसी कामदार, सुरक्षा गार्ड, होटेलका बेयरा, कुक आदि काम गर्न आएका नेपालीको उपस्थिति मुम्बईमा बाक्लै थियो । लाजले होला, मैले भेटेका धेरैले आफुलाई फुकाइहाल्न खोज्थेनन् । उसको प्रकाश्य हाउभाउले उसलाई पनि त्यही रसायणले अलमल्याएको होला भन्ने मेरो ठम्याइ थियो । 

 

“के नाम तपाईँको ?” 

 

“नन्द ।” उसले नजर अर्कैतिर फर्काएर बोलेको थियो । 

 

उसलाई परिरहेको अप्ठ्यारो मनन गर्दै धेरै कोट्याएर थप कष्ट दिन उचित नदेखेर म हाँसेर टाउको हल्लाउँदै हिँडेको थिएँ ।

 

 

तर ऊ अहिले आफै मनजिक आएर बोल्न खोजेको थियो ।

 

 

“घर कहाँ हो नि ?” मैले उसको पहिलो प्रश्नमा हो भनेर टाउको हल्लाएपछि उसले उत्साहित भएर थप प्रश्न राखेको थियो ।

 

“काठमाडौं ।”  

 

“काँथिम् हो ? मेरा बैनी–ज्वाइँ छन् वानेश्वरमा ।” उसले आफ्नै लवजमा बोल्यो र हातले मुख पुछ्यो ।

 

“मेरो कुपन्डोल हो । तपाईँको कहाँ नि ?”  

 

“ए ! मेरो त स्याङ्जा, पुतली बजार हो । उसले मालीतिर हेरेर बोल्यो र “पानी क्यो बर्बाद करते हो । थप्पड खाने माँगता” भनेर हकार्दै उसलाई दाहिने हात उज्याएर देखायो । केटो डराउँदै पानी बन्द गर्न कुद्यो । “नहकारे त मान्दैमान्दैनन् यहाँका रैथाने ।” उसले मतिर हेर्दै भन्यो र मेरा अगाडि पहिलेकै जस्तो गरी उभियो ।

 

“ए, त्यता त मेरा आफ्ना मान्छे छन् । बजारबाट कता हो ?”

 

“ठ्याम्मै बजारमा त होइन । उत्तर जानुपर्छ चारकोसजति, पर्वतजिल्लाको सीमानाछेउ पर्छ ।” उसले मुन्टो यताउति पार्दै भन्यो । उसको कुरा गर्ने शैलीले मलाई लाग्यो ऊ बोल्न चाहन्छ तर फुक्न  चाहँदैन ।

 

“रातीको गार्ड पनि त्यतैका हुन ?” मैले कुरा खोतल्ने प्रयासमा प्रश्न राखेँ ।

 

“तो बहादुर ? ऊ त पश्चिमे डोटेल हो, अछामतिरको । हामीसित तिनका कुरा मिल्दैनन् ।” उसले ओठ चेप्राएर दाहिने हात नचाउँदै भन्यो । 

 

“बिहान देख्थेँ उसले यहाँका गाडी पुछ्दै थियो ।” 

 

“आऽऽ । त्यस्तो काम कल्ले अरोस् ।” उसले घिन मानेको अनुहार पार्दै बोल्यो । “मलाई पनि भनित्ते साहेबहरूले ।” उसले खैनी खाँदो रहेछ क्यार बोल्दा मुखमा थुक आउँथ्यो । उभिइ उभिइ त्यहीँबाटै पिच्च थुक्दै कुरा थप्यो, “जसलाई पुगेको छैन उसैले कमाओस् । अर्को पनि तेतैतिरको छ, उः तो पल्लो कोलोनीमा । राती होटेलमा काम गर्छ, दिउँसो गार्ड बस्छ ।” उसले अझ पनि अचम्मकै भाव दर्शाइरहेको थियो । मसित कुरा गर्न आएको थियो तर बोल्दा मतिर हेर्दैनथ्यो, अन्तै हेथ्र्यो । भुइँमा खसेको जामुन टिपेर ओल्टाइपल्टाइ गर्दै

 

सोध्यो, “तपाई के थरी ?” 

 

“सुवेदी । तपाईँको नि ?”  

 

“शऽऽरमा ।” उसले टाउको माथितिर उचालेर लेग्रो तान्दै भन्यो । त्यसो गर्दा उसको टुपी कुमतिर हल्लिन थाल्यो । मलाई रमाइलो लाग्यो ।

 

“मेरो सुवेदी भने जस्तै तपाईँको के नि ?” मैले हाँस्दै सोधेँ ।

 

“हामी चापागाइँ हौँ । नागरिकतामा मेरो नाम षडानन्द चापागाइँ छ के रे, अब ह्याँ कल्ले तेस्तो नाम डाक्न सकोस् ! मैले सजिलो पार्न नन्द शर्मा लेखाएको हुम् । नन्द, नन्द भन्दाभन्दै अब सबैले नन्दु भन्न थाले । नन्दु भनेसी यो वरपरको दश कोलोनीका सपले चिन्छन् मलाई । पछिल्लो वाक्य बोल्दा उसले दाहिने हात टाउकामाथि राखेर चारैतिर घुमायो ।

 

“तपाईँ यहाँ आएको कति भयो ?।” ऊ केही खुल्दै थियो र मैले प्रश्न थपेँ ।

 

“ह्याँ, बम्बई त म पचीस वर्ष काम गरेर गएको हुम् । दुई वर्ष घर बसेँ, ऐले आएको यस्तै तीन वर्ष भयो ।” उसले बोल्दाबोल्दै साइकलको क्यारियरमा कपडाको पोको राखेर कोलोनीबाट जाँदै गरेको धोबीलाई देखेर ऊ कराउँदै कुद्यो, “अए, अए लन्ड्रीम्यान, ठहरो ! तीन सौ चारका साहबका कमिज एक छुट गया था, लाए कि नही ?” 

 

म एक छिन ऊ जाँदै गरेको हेरिरहेँ । बिरामी जस्तो देखिन्छ । यस्तो उमेरको मान्छेलाई गार्ड भनेर किन राखेको होला । सस्तो श्रमिक पाएर हो कि ! यो फेरि त्यत्रो वर्ष काम गरेर घर गएको मान्छे दुई वर्षमै  किन फर्केको होला यो बुढेसकालमा ! परिवार सँगै छ कि एक्लै बसेको छ ! उसको हालत देख्दा तलबले एक्लो जीउ त धान्न मुस्किल जस्तो देखिन्छ, कसरी परिवार पाल्ने ? गाउँमा पुग्दो छैन होला कि विचराको ! पुग्ने भए कसले पो उठाउँथ्यो र यस्तो कष्ट परदेशमा ! म सोच्दै कोठातिर लागेँ ।

 

बेलुकी विजय आएपछि जुहु बिच घुमाउन लग्यो । म पहिले पनि त्यहाँ गइसकेको हुनाले त्यति आनन्द त लागेन । भीड बढी नै थियो । फोहोर पनि थियो । लाग्थ्यो, अरब सागरको क्षारिलो पानीले बगरलाई पखाल्दा–पखाल्दै पनि त्यहाँको फोहोर निख्रिन सकेको छैन । पानीपुरी, भेलपुरी, पाउभाजी, वडापाउ, कुल्फी, आइसक्रिम आदिका टहरे पसलहरूमा व्यापार उस्तै चलिरहेका थिए, खचाखच । घोडचढी, भलिबल, जगिङ्ग, वाकिङ्ग जस्ता क्रियाकलाप पनि आफ्नै रफ्तारमा जारी थिए । तर पहिलेभन्दा केही व्यवस्थित पारिएको रहेछ त्यहाँको परिवेश । 

 

होटेलमा डिनर गरेर फर्कँदा रात परिसकेको थियो । अरब समुद्रको महिम–बेउपर बान्द्रा र वर्लीलाई जोडने कन्क्रिट स्टीलसहित केबुलको जालोद्वारा तयार पारिएको आठ लेनको राजीव गान्धी सि–लिङ्क भनिने सुन्दर समुद्री पुलको माथिबाट हाम्रो गाडी कुद्दै थियो । असङ्ख्य बत्तीको चमकले टल्केका अट्टालिकाका छायाँ सागरको पानीमा प्रतिबिम्बित भएर सुन्दर दृश्य सृष्टि भएको थियो । परपर देखिएका शहरका उज्याला गगनचुम्बी भवनहरू र फराकिला बाटाका दुवैपट्टि जगमगाइरहेका बत्तीका रङ्गीन प्रकाशले सम्पूर्ण मुम्बई चम्किरहेको थियो । म सहरको मनमोहक दृश्यको रसपान गर्दै गाडिको सिडी प्लेयरबाट निस्केको मीठो धुनको तालमा झुमिरहेको थिएँ । 

 

 

“मुम्बई रात्रीमा झनै् सुन्दर देखिन्छ है ?”  विजयले मतिर हेर्दै अङ्गे्रजीमा बोल्यो । मलाई लाग्यो ऊ पनि गाडीको स्टेरिङ् घुमाउँदै शहरको सुन्दरताको रसास्वादन गर्दै छ । सङ्गीतको तालमा झुमेकै अवस्थामा मैले सकारात्मक टाउको हल्लाएँ । ऊ मुसुक्क हाँस्यो अनि फेरि बोल्यो, “भोलि काम सकेर तिमी पर्सि जाने रे ?” मैले फेरि उस्तै गरी टाउको हल्लाएँ । “त्यसो भए भोलि बिहान हामी निस्कँदा  टिकट कन्फर्म गराउनुपर्छ, सम्झिराख्नू ।” म मग्न भएर हल्लिइरहेको देखेर उसले हाँस्दै भन्यो, “धुन राम्रो छ है ?” मैले मुसुक्क हाँसेर टाउको हल्लाएँ ।

 

भोलिपल्ट बिहान ब्रेकफास्ट गरेर हामी बाहिर निस्कने तरखरमा थियौँ । । विजय लुगा लाउँदै थियो । म तयार भएर गेटबाहिर निस्केँ र बाटाको रमिता हर्न थालेँ । चार लेनको लिङ्क रोडमा गाडीहरू ट्याँट्याँ–टुँटुँ गर्दै बेतोडले कुदिरहेका थिए । पर बाटामाथिको कन्क्रिटको पुलमा निर्माण कार्य चल्न्दैै थियो । माटोमुनि र माथि गरी कुद्ने मेट्रो रेल चलाउने व्यवस्था हुँदै थियो मुम्बईमा ।

 

 

“चिया खानुभो’ हजुर ?” मनजिकै आएर नन्दु बोल्यो । उसको पहिरन र हुलिया उस्तै थियो, हिजो जस्तो देखेथेँ । 

 

“अँ, तपाईँले ?” 

 

“ज्यू, एकसय दुई नम्बरकी मालकिन असल छिन् । कहिलेकाइँ डाकेर चिया–खाजा दिन्छिन् । आज तीँ खाएँ । म सितिमिति अरूले दिएको खान्न के रे ।” उसले आँखा चिम्म गर्‍यो र  टाउको हल्लाउँदै मुख ङिच्च पार्‍यो । उसका ससाना टम्म परेका पहेँला दाँत पूरै देखिए । उसका कुरा र मुखाकृति दुवैले मलाई हाँस्न वाध्य पारिरहेका थिए । तर म आँखा चिम्लेर उभिइरहेँ । ऊ फेरि बोल्यो, “हजुर पिलेनमा डाइरेक्ट काठमान्डुबाट आउनुभा’ हो ? यो प्रश्न उसले मेरो सामुन्ने आएर आँखैमा हेरेर गर्‍यो ।

 

“हो, किन र ?”  

 

“नाइँ ।” ऊ केही अकमकायो अनि तल हेर्दै बिस्तारै बोल्यो, “डाइरेक्ट फ्लाइट बन्द छ भन्दा सुनित्तेँ । कान्छो छोरालाई अरब पठाम् भनेको । विदेश काममा पठाउन कडाइ अरिच्च रे हो, नेपाल सरकारले ?”  

 

“त्यस्तो कडाइ छैन, जाउआउ भई नै  रहेको छ । म आउँदा जहाजमा धेरैजसो विदेश काममा जाने युवाहरू त थिए । काठमाडौं मुम्बई फ्लाइट तिनै नेपाली कामदारकै भरमा त चलेको छ नि ।”  

 

मेरो कुरापछि ऊ घोरियो । 

 

कुरा कै क्रममा थाहा भयो उसका तीनवटा छोरा र दुईटी छोरी रहेछन् । ठूलो चेन्नाइमा चप्पल कारखानामा काम गर्दो रहेछ । दुईटाले गाउँमा खेतीबारी हेर्दा रहेछन् । जेठीको बिहे भइसकेको रहेछ । अब गएर कान्छीको बिहे गरिदिने विचार रहेछ । श्रीमती पनि गाउँमै बसेर घर सम्भालेकी रहिछन् ।

 

“तपाईँ यहाँ एक्लै बस्नुहुन्छ ? उसका कुरा सुनेर म छक्क पर्दै थिएँ ।”

 

“हजुर ।” उसले सजिलै टाउको हल्लायो ।

 

“कहाँ ? क्वार्टर दिएको छ ?”

 

“के क्वाटर दिन्थे यी साइँदुवाहरूले ।” उसले मुख बिगा¥यो, अनि हात तेस्र्याउँदै भन्यो, “पर एकजना दयालु साहू छन् । पुरानो चिनजान हो । उनकै कम्पाउन्डपछाडि एउटो कटेराँ बस्न दिएका छन् ।” 

 

“अनि खाना ?”

 

“म एक्लो जीउलाई कति चाहिन्छ र । यसो एक मुठी चामल उमालो र उमालेकै तरकारीसित खायो । तेसको चिन्ता छैन ।” उसले हातको पन्जा हल्लायो ।

 

म अन्योलको अवस्थामा पुगेको थिएँ । ऊ मेरा निम्ति झन्झन् रहस्य बन्दै गइरहेको थियो । किन होला यो मान्छेले यसरी धानेको आफ्नो जीउ ? मैले सोधेँ, “सबै रहेछ गाउँमा, परदेशमा यस्तो दुःख गरेर किन बस्नुभएको नि ?”

 

मेरो कुरा सुनेर उसले ओठको चेपमा आएको थुक ‘सिप’ गर्दै मुखभित्र तान्यो अनि भन्यो, “क्यारम त हजुर ! रोगको ओखती–मूलो गर्न ह्याँ बसेको हुम् ।” ऊ चुप लाग्यो म पनि चुपै लागेर एकोहोरो उसलाई हेरिरहेँ । 

 

ऊ एकाएक खोक्न थाल्यो । तीनचारचोटि नाइटो नै बाहिर आउलाझैँ खोकेपछि उसको मुखबाट एक चम्चाजति बाक्लो कफ निस्क्यो । उसले सडकछेउ थुकेर आयो र एक हातले छाती थिच्दै र अर्को हातले मुख पुछ्दै मसामु आएर उभियो ।

 

त्यो पीडादायी अवस्थाको प्रत्यक्षदर्शी भएपछि मेरो मुटु नै काम्यो र भित्र डरको एउटा मोटो पत्र जमेजस्तो भयो ।  त्रसित आवाजमा मेरो मुखबाट प्रश्न निस्क्यो, “तपाईलाई के भएको छ ?”  

 

“स्याँस्याँ हुन्छ, सास फेर्न गाह्रो हुन्छ । बेलाबेला खाँसी हुन्छ ।” उसले मुख चपाउँदै  भन्यो ।

 

“डाक्टरले के भन्छ ?” उसले लीलावती अस्पतालमा जँचाएर औषधी खाँदै रहेछ र मैले सोधेँ ।

 

“धूँवा, धूलोबाट र चिसोबाट बच, फिरिजको नखा । अनि के खाँदा तँलाई बेफाइदा गर्छ त्यो नखा भन्छ । मैले त्यस्तो केही खान्नँ के रे ।”

 

“तपाईँले खैनी खाएको देख्छु, बेफाइदा गर्दैन र ?”

 

“यो अम्मल हो हजुर ।  यही आएर तीस वर्ष अघि देखुन्ट बानी परो । छोड्न सकिन्न ।” 

 

“डाक्टरलाई सोध्नुभएन ?”

 

“सोधित्तेँ, तुमको अच्छा लगता है तो थोडाथोडा खावो भन्यो । कैलेकाइँ खान्छु, मन भुलाउन ।” ऊ खिस्स हाँस्यो ।

 

“तपाईँलाई सुगर त छैन ?” उसलाई देखेर मलाई फिक्री अनि टीठ पनि लाग्न थालेको थियो ।

 

“चिनीको रोग ? नाइँ, नाइँ तो ता छैन ।” उसले डिच्च हाँस्दै छिटोछिटो टाउकोका साथै हात पनि नचायो । 

 

“हाई ब्लड प्रेसर नि ?” मैले त्रस्त स्वरमै सोधेँ ।

 

“प्रेसर छ । त्यसको पनि दबाई खान्छु ।” उसले यति सहज किसिमले व्यक्त गर्‍यो मानौँ त्यो त कुनै रोगै होइन । 

 

 

उसको कुराले म आश्चर्यमा परेको त थिएँ नै चिन्ता पनि लागिरहेको थियो । म पनि प्रेसरको रोगी हुँ । तीनतीन महिनामा जँचाइ राख्नुपर्छ । खानपान, रहन–सहनमा हिफाजत गर्न भन्छ डाक्टरले । स्ट्रोक, हार्ट–अट्याक जे पनि हुनसक्छ रे । मलाई यता एक्लै आउनुपर्दा डर लागिरहेको थियो । श्रीमतीले पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

 

बिहानको बेला चिसो हावा चलिरहेको भए पनि मलाई गर्मी अनुभव भइरहेको थियो । मैले ऊतिर हेरेँ । म के भानौँ उसलाई ?

 

“तपाईलाई गाह्रोसाह्रो पर्दा कसले हेर्छ ?” उसले आफ्नो असमर्थता केही जनाउँछ कि भनेर मैले प्रश्न राखेँ ।

 

“एउटा गाउँले भाइ छ, मीत मामाको छोरो । पर थानेमा होटेलमा काम गर्छ । फोन गरेर त्यसलाई डाक्छु ।”  उसले गोजीबाट मोबाइल झिकेर देखायो । म फेरि सोचमा परेँ । 

 

“अरे नन्दु !” उसलाई कसैले बोलायो । उसले “आया साप” भनेर करायो र मतिर हेरेर “सोइटीको चियरमेनले डाक्योे” भन्दै कुद्यो । ऊ कुदेको थियो तर लत्रेजस्तै देखिन्थ्यो । उसलाई गाह्रो परिरहेको थियो । अनुहार देख्दा उसको शरीरमा रक्तअल्पता पनि छ जस्तो लाग्थ्यो । आह ! यो कस्तो स्थिति हो ? आकर्षण हो कि विकर्षण हो जीवनप्रतिको ! 

 

म सोच्दै थिएँ; विजयले मनेर गाडी ल्याएर रोक्यो । मैले भारी मनले ढोका खोलेँ ।

 

हामी घुमफिर गरेर खाना खाएर फर्कँदा राती भइसकेको थियो । मलाई भोलि फर्कनु थियो । बाटामा पर्ने जेट एयरवेजको कार्यालयमा पसेर टिकट कन्फर्म गरेको थिएँ, बिहान १०ः४० मा थियो फ्लाइट । 

 

बिहान हतारहतार आठ बजे निस्केको थिएँ एयरपोर्ट जानका लागि । गेट खोल्न रातीको ड्युटी गर्ने केटो आयो । बिहान सात बजे त यसको पालो सकिएर नन्दु आउनु पर्ने हो । मेरो मन आत्तियो । विजयलाई गाडी रोक्न भनेँ र केटालाई झ्यालतिर बोलाएँ ।

 

“नन्दु किधर है ?” मैले मनको आतुरता रोक्दै हिन्दीमा सोधेँ । मैले चाहेरै ऊसँग नेपाली बोलिनँ ।

 

“साप कल रात उस के सिने में बहुत दर्द हुवा और उस को रात में ही अस्पताल ले जाया गया ।”
खबरले मलाई स्तब्ध पा¥यो । म चिसो भएँ ।

 

विजयले गाडी कुदाएर मतिर हेर्दै अङ्ग्रेजीमा भन्यो, “त्यसलाई हर्ट–अट्याक भयो होला ।”

 

म केही बोल्न सकिनँ । बाटोभरि मन अमिलिइरह्यो । के भयो होला नन्दुलाई !  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार