• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

अर्थ मन्त्रालयद्वारा प्रधानमन्त्रीको बचाउः सम्बोधन तथ्यमा आधारित

काठमाडौं । अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पस्ट पारेको छ ।

 

उनले सम्बोधनकाक्रममा उल्लेख गरेका केही तथ्यांकबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।

 

मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वार्षिक विन्दुगत आधार मूल्य ४.२ प्रतिशत रहेकामा पहिलो पाँच महिनामा मूल्य वृद्धिदर ३.७ प्रतिशतमा झरेको जनाएको छ । गत आवको पहिलो पाँच महिनामा त्यस्तो वृद्धि ४.२ प्रतिशत थियो ।

 

यस्तै, चालू आवको पहिलो पाँच महिनामा राजश्व असुलीको वृद्धिदर ३२ प्रतिशत छ । साविकमा केन्द्रीय कोषमा जम्मा भएका केही करका क्षेत्र तथा सवारी रजिष्ट्रेसन, घरजग्गा बहालकर प्रदेश र स्थानीय तहमा हस्तान्तरणपश्चात् उक्त वृद्धि भएको मन्त्रालयको भनाइ छ ।

 

त्यस्तै, महालेखा नियन्त्रण कार्यालयको २०७५ मंसिरसम्मको तथ्यांकअनुसार चालू आवको पाँच महिनामा कुल खर्च सात प्रतिशतले वृद्धि भएकामा चालू खर्च १३ प्रतिशतले घटेको र पुँजीगत खर्च २५।३ प्रतिशतले वृद्धि भएको छ ।

 

कुल खर्चको वृद्धिदर कम हुनामा चालू खर्चमा गरिएको मितव्ययिता र अघिल्लो वर्षको यसै अवधिमा भएको निर्वाचन खर्च प्रमुख कारण हो भन्ने मन्त्रालयको ठहर छ ।

 

विप्रेषण आयतर्फ आर्थिक तथा औद्योगिक क्रियाकलापमा क्रमशः वृद्धि हुँदै गएका कारणलेसमेत वैदेशिक रोजगारीमा जानेको संख्या चालू आवको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१।२ प्रतिशतले घटेपनि सोही अवधिमा विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको छ ।

 

नेपाल राष्ट्र बैंककाअनुसार चालू आवको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भइ रु तीन खर्ब ३१२ अर्ब २६ करोड पुगेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भइ रु तीन खर्ब ५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार