• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

रोजगारीका लागि जापान जाने नेपालीलाई जापानी सरह सुविधा !

काठमाडौं । नेपाल र जापान सरकारबीच भइरहेको संवाद र सहमति कायम रहे वा दुई देशबीच कामदार लैजाने सम्झौता भए अबको केही महिनाभित्र नेपाली कामदारहरु जापानमा रोजगारीका लागि जानेछन् ।

 

विभिन्न खाडी मुलुकलगायत मलेसिया, कोरिया, मकाउलगायतका देशहरु नेपालीको भरपर्दो गन्तब्य बनिरहेका बेला जापान पनि भरपर्दो गन्तब्यको सूचीमा दरिनेछ ।

 

पछिल्लो समय नेपाल र जापान सरकारबीच भएको छलफल अनुसार नेपालीका लागि जापान पनि अब रोजगारको आकर्षक गन्तब्य बन्ने देखिन्छ ।

 

जापानले नेपाललगायत अन्य देशबाट ३ लाख ५० हजार कामदार लैजाने निर्णय गरिसकेको छ । सन् २०१९ अप्रिल महिनाबाट जापानले कामदार लैजान सुरु गर्दैछ ।

 

विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेगरी दुई प्रकारका नयाँ भिसा अनुमति प्रणालीमार्फत कामदारलाई जापान पुर्‍याइने छ ।

 

अहिले पनि आधिकारिक रुपमा करिब ८५ हजार नेपाली जापानमा बसोबास गरिरहेका छन् । अब भने नयाँ आवासीय नीति अनुरुप दक्ष नेपाली कामदार जापान पठाइने सरकारी तयारी छ ।

 

उच्च दक्षताभएका कामदारहरुले यहाँ भिसाको अवधी थप्न पाउनेछन् र सेवा सुविधाहरु पनि थपिने छन् ।

 

जापानमा आधिकारिक रुपमा बसोबास गरिरहेका नेपालीहरुको संख्या ८५ हजारको हाराहारीमा रहेको छ जसमा अधिकांश विद्यार्थी र कामदार छन् । व्यावसायीका रुपमा पनि नेपालीहरुको संजाल ठूलो छ ।

 

श्रम मन्त्रालयका सचिब महेश्वर दाहालले हालै बीबीसीलाई दिएको जानकारी अनुसार जापानका अधिकारीहरू यहि जनवरी १६ तारिख नेपाल आउने भनेका छन् । त्यसबेला जापानी पक्षसँग कुराकानी गरेपछि धेरैकुरा स्पष्ट हुनेछ ।

 

दुईदेशबीच रोजगारीबारे सम्झौता नहुँदै कतिपय कम्पनीहरूले जापान पठाउने विज्ञापन गर्न थालेको खबर आएकाले सतर्क रहन र भ्रममा नपर्न सुझाव सचिब दाहालले सुझाव दिएका छन् ।

 

बीचमा दोश्रो व्यक्ति नराखी प्रतिस्पर्धी आधारमा कामदार रोज्ने प्रस्ताव जापानको रहेको बताइएको छ ।

 

त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन जापानले नेपाललाई पनि मस्यौदा ‘प्रस्ताव मेमोरेन्डम अफ को–अपरेसन’ (एमओसी) पठाएको हो ।

 

जापानको प्रस्तावमा नेपाल सरकारले अध्ययन र गृहकार्य गरिरहेको छ । प्रारम्भिक प्रस्तावमा जापान जान चाहनेहरूसँग के हुनुपर्छ भन्ने प्रष्ट उल्लेख गरिएको छ ।

 

प्रस्ताव बमोजिम जापानले दुई प्रकारका कामदार लिन खोजेको देखिन्छ । कुनै विषयमा ज्ञान र सीप भएका दक्ष कामदार एवम् अति दक्ष क्षमता भएका कामदार ।

 

हाल २७ वटा विविध शिर्षकको भिसामा जापानमा बस्न पाइन्छ । जसमा अब दुई वटा थपेर २९ वटा भिसा तयारी गरिदैछ ।

 

अर्धदक्ष र दक्ष कामदार छुट्टाइएको छ जसको पाँच बर्षे भिसा कायम गरिएको छ । दक्ष कामदारका हकमा भने भिसा नवीकरण हुने भएको छ ।

 

आप्रवासी नितीमा खुकुलो बनाएको जापानले विभिन्न क्षेत्रमा नेपालीहरुलाई पनि रोजगारीको अवसर प्रदान गर्ने तयारी गरिहेको हो ।

 

तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई जापानी सरह सुविधा दिन प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

 

जापानले भित्र्याउन लागेका आप्रवासी कामदारलाई कुनै भेदभाव नगरिने र जापानी सरह सेवा सुविधा दिने जापानले नेपाल सरकारलाई पठाएको मस्यौदा प्रस्तावमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार