• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

अक्षर मै बितेको जीवन

अक्षरसँग खेल्दै जीवनको  नौ दशकको उमेर काटिसक्नु भएका मदनमणि दीक्षित अझै अक्षरसँगै खेल्दै हुनुहुन्छ । साहित्य र पत्रकारिताको माध्यमबाट अक्षरको साधना गर्दै माडसाबको पहिचान बनाउने उहाँले जीवनका केही वर्ष शिक्षणमा लागेर पनि अक्षर सिकाउने काम नै गर्नुभयो । लेख्नु र निरन्तर लेखिरहनु एउटा कुरा लेखेर पनि दरिलो कृति लेख्नु ठूलो कुरो हो यस्तै ठूलो कुरो बन्न पुगेको छ उहाँको माधवी उपन्यास ।


त्यसो त मदनमणि दीक्षितको कलमले कथा, उपन्यास, निबन्ध विधामा पनि त्यत्तिकै राम्रा कृति सिर्जिनु भएको छ, धेरैलै माधवीलाई मन पराइदिए ,माधवी अब्बल रहेको मात्र हो । माधवी र भूमिसूक्तजस्ता उपन्यास प्रकाशमा ल्याएर नेपाली उपन्यास साहित्यलाई हाँक दिनु भएको छ । उहाँको साहित्यिक यात्राको मूल्यांकन र लेखाजोखा गर्नेहरुले माधवी र भूमिसूक्तको मूल्यांकन निश्चित रुपमा विशिष्ट रुपमा गर्नेछन् । यसमा उहाँको विचार अलि भिन्न छ ,उहाँ भन्नुहुन्छ– आकारले साना भएपनि मेरा त्रिदेवी, मेरी निलिमा माथिल्लो स्तरका छन् । 

 

लेखेर नथाक्ने मदनमणि दीक्षितले  ९७ वर्षको उमेर टेकिसक्नु भयो । अस्वस्थ शरीरले बेलाबखत अस्पताल पुर्याइरहन्छ र पनि लेखनबाट टाढिने सोचसम्म बनाउनु भएको छैन बरु भनिदिनुहुन्छ –लेख्न सक्दिनँ भन्दाभन्दै पनि निरन्तर लेखिरहेको छु, नलेखी बस्ने सक्दिनँ । आँखा कमजोर हुँदै छन्, कान कमजोर हुँदै छन्, शरीर गलिसक्यो मलाई थाहा छ म दिन प्रतिदिन मृत्युको नजिक पुगिरहेको छु भन्ने अनुभव भइरहेको छ मलाई । तथापी लेख्ने काम छुट्दैन  । लेख्ने कुरा धेरै बाँकी  छन् ।


श्रग्वेद घोक्नेहरु थुप्रै छन् र मुखाग्र भन्नेहरु पनि छन् । तर यसको व्याख्या विश्लेषण गर्नेहरु छैनन भन्दा पनि हुन्छ  । मैले श्रग्वेदको व्याख्या गर्ने , समाजलाई बुझाउने चेष्टा गरें,वैदिक साहित्यलाई आधुनिक किसिमले प्रस्तुत गर्ने भनेर धेरैले भन्छन् पनि । आफ्नै लेखनीका बारेमा भन्दै हुनुहुन्थ्यो उहाँ । 


बौद्धिकता, असाधारण स्मरण शक्ति अनि गहन अध्ययनले खारिनु भएका मदनमणि दीक्षित विविध विधामा कलम चलाउने साहित्यकार र विविध क्षेत्रमा सक्रिय रहने व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ । विविध क्षेत्र भन्नाले साहित्य, पत्रकारिता, राजनीति, फोटोग्राफी आदि क्षेत्र ।  वि.सं १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिनु भएका मदनमणि दीक्षितको साहित्ययात्रा  दुई दशकको उमेर पनि नपुग्दै थालियो । सन १९४१ मा बनारस बसेर म्याटुकुलेशन गरेपछि भागवतगीताको पहिलो अध्यायको नेपाली अनुवाद गरेर बुबा आमालाई देखाउदा स्याबासी पाउनु भएको थियो उहाँले । बुबा आमाले ठूलो मान्छे भनेर त्यतिखेर गरेको भविष्यवाणी सत्य साबित भईदियो ।  त्यतिखेर थालिएको साहित्य यात्राले विश्राम लिएको छैन ।


पछिल्लो समय जय पराजय नामक कृति (२०७२) अघि उहाँका  कसले जित्यो कसले हार्यो (२०२१) हाम्रा ती दिन (२०२७) ,मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ  (२०३२) लाखौं शिशु लिफ्ट मागिरहेका छन् । (२०३४), माधवी (२०३९),बर्लिन डायरीका पाना (२०४१) ग्यास च्याम्बरको मृत्यु (२०४२),चरैवेती (२०४४), त्यो युग (२०४७),द्रौपदी र सीता (२०४९), विदुषी गार्गी (२०४९), मेरी निलिमा (२०५०) ,जेण्डा (२०५१), त्रिदेवी (२०५१), विश्वका प्रथम वैज्ञानिक उद्धालक आरुणी, हाम्रा प्राचीन  नारी , भूमिसूक्त (२०५८), श्वेतकाली (२०६०), जय पराजय (२०७२) जस्ता कृति प्रकाशित भइसकेका छन् । उहाँले अनुवाद गर्नु भएको  दशलाख हिरोसिमातिर (२०४०),किन्काकुजी (२०४५) आदि कृतिले उहाँको अनुवाद साहित्य क्षेत्रतिरको योगदानलाई पनि प्रष्टयाउँछ ।  


लेखेर नथाक्ने मदनमणि दीक्षितले  ९७ वर्षको उमेर टेकिसक्नु भयो । अस्वस्थ शरीरले बेलाबखत अस्पताल पुर्याइरहन्छ र पनि लेखनबाट टाढिने सोचसम्म बनाउनु भएको छैन बरु भनिदिनुहुन्छ –लेख्न सक्दिनँ भन्दाभन्दै पनि निरन्तर लेखिरहेको छु, नलेखी बस्ने सक्दिनँ । आँखा कमजोर हुँदै छन्, कान कमजोर हुँदै छन्, शरीर गलिसक्यो मलाई थाहा छ म दिन प्रतिदिन मृत्युको नजिक पुगिरहेको छु भन्ने अनुभव भइरहेको छ मलाई । तथापी लेख्ने काम छुट्दैन  । लेख्ने कुरा धेरै बाँकी  छन् ।


नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएर काम गर्दागर्दै नवयुग पत्रिकासँग आवद्ध हुने उहाँले २०१४ सालमा महिनाको ३०० रुपैयाँ तलब खाने गरी हालखबर दैनिकमा जागिर खाएपछि मदनमणि दीक्षितको पत्रकारिता जीवन थालिन्छ । पत्रकार मदनमणि दीक्षितको चर्चा नेपाली पत्रकारिता जगत्ले पनि गर्नै पर्छ कुनै समय पत्रकारितामा बेग्लै स्थान बनाएको समीक्षा साप्ताहिकको सम्पादकको रुपमा अलग छवि बनाउनु भएका उहाँको पत्रकारिताको आरम्भ वि. सं २०१४ सालमा हालखबर दैनिकमा प्रधान सम्पादक भएर थालिएको पत्रकारिता २०५२ सम्म निरन्तर चलिरह्यो ।


वि.सं २०१६ सालको चैतदेखि समीक्षा साप्ताहिकमा संलग्न उहाँले आर्थिक अवस्थाको कारण बन्द गर्नुपरेको यथार्थ मात्र होइन पटक पटक गरी नौ पटक समीक्षा बन्द गर्नु परेको , दुई पटक जेल बस्नु परेको , कहिले प्रहरी हिरासतमा रहनु परेको तीतो विगत पनि सँगाल्नु भएको छ । उहाँ विगततिर फर्कनु हुन्छ र उही तीतो इतिहास बताउनुहुन्छ–समीक्षा चलाउन मैले बाराका मौजा बेच्दै गएँ । आखिर आर्थिक अवस्थाले साथ नदिएपछि  २०५२ मा समीक्षा बन्द गर्नुपर्यो । 


अखबारी लेखनमा पनि त्यत्तिकै सक्रिय उहाँले जीवनको धरै समय  सहित्यलाई दिदै आउनु भयो । केही वर्ष (२००४ देखि २००६ सम्म ) वीरगंजस्थित त्रिजुद्ध हाइस्कुलमा प्रधानाध्यापक भई सेवा गर्ने मदनमणि दीक्षितले राजनीतिमा पनि आफूलाई चिनाउनु भयो । समय प्रवाहमा शिक्षण,राजनीति, पत्रकारितालाई क्रमशः छोड्दै आउनुभयो । साहित्यसँग भने नाता यथावत रहेको छ । लाग्छ सम्मान र नाम पनि यसै क्षेत्रले बढी दिएको छ , अरु क्षेत्रको तुलनामा  ।


नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसम्म बन्नु भएका उहाँले साहित्य साधना र सिर्जनामा मदन पुरस्कार  र साझा पुरस्कार (२०३९, माधवी उपन्यासका लागि ), आदिकवि भानुभक्त पुरस्कार, बसुन्धरा श्री, शंकर कोइराला स्मृती पुरस्कार, राष्टिय कलाश्री सम्मान ,पहलमान सिंह स्वाँर दीर्घ साहित्य सम्मान , पाण्डुलिपि पुरस्कार आदि पाइसक्नुभएको छ । पत्रकारितामा योगदान दिए बापत् प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, इमेज एसियन पेण्ट्स मिडिया सम्मान पाउनुभएको छ । 


काठमाडौंको कालिकास्थानमा परिवारका साथ बस्दै आइरहनु भएका मदनमणि दीक्षितलाई यता केही समयदेखि बुढ्यौलीसँगै रोगले दुख दिन थालेको छ । पहिले जस्तो धारा प्रवाह इतिहासका एकएक घटनालाई मुखाग्र भन्न सक्ने अवस्थामा कमी आएको छ ।र पनि उहाँको कलम रोकिएको छैन । अक्षर साधना र साहित्य सिर्जनामा उहाँको यो अनुकरणीय र सम्मानयोग्य कार्यको प्रशंसा नगर्ने कमै होलान । 


साहित्य र साहित्यकारलाई त्यत्तिकै सम्मान गर्ने उहाँले कविवर माधव घिमिरेको अश्वत्थामा काव्यलाई नोबेल प्राइजका लागि गरेको सिफारिस एउटै उदाहरण मनग्गे होला । कुनै बखत साहित्यकारहरुको तस्बीर खिच्दै संकलन गर्ने बानी पनि सम्मानकै उदाहरण मान्दा हुन्छ । लेख्ने र साहित्यमा सक्रिय रहने उहाँ कै घरमा पटक पटक पुगेको छु र साहित्य र पत्रकारिताका बारेमा धेरै कुराकानी भएका छन् । एक पटकको भेटमा सोधेको पनि थिएँ जीवनको नौ दशकको उमेर टेकेको मान्छे आजको दिनसम्म आइपुग्दा आफ्नो छवि कस्तो पाउनुभएको छ ?


म ६–७ वर्षको उमेरदेखि नै गैरीधाराको ठूलो घरमा हुर्किए । परिवार पनि ठूलो थियो । बाल्यकालदेखि नै  म बडो स्वाभिमानी मानिस हुँ । घमण्ड चाहि कहिल्यै गरिनँ तर उसको भन्दा मेरो राम्रो हुनुपर्छ भन्ने भावना थियो म मा । अरुभन्दा पृथक हुनुपर्छ भन्ने भावना अझै ममा छ । घरबाट बजार पठाउदा म सस्तो सामान खोजीमा लाग्थें । यो पनि मेरो स्वाभिमानको आरम्भिक अवस्था हो ।


यो स्वभाव अझै म मा छ , मेरो छवि  यही नै बनेको हुनुपर्छ । उहाँको छवि नेपाली साहित्य र पत्रकारितामा अब्बल साधक र सर्जकको रुपमा रहेको चाहिं धेरैलाई लाग्ने गरेको छ । उहाँको लेखनीले निरन्तरता पाओस् । लेखन मै जीवन बिताउने एउटा श्रद्धेय लेखकलाई हामीले भन्ने यती हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार