• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

‘महिलाले महिला मन–पराउनुको भित्री कथा’

काठमाडौं । महिलाले महिलालाई मन पराउँदा आउने बाधा व्यवधानको बारेमा लेखिएको कथा हो ‘साथीको कथा’ नाटकमा यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा समेटिएको छ । रेनुका कार्कीको परिकल्पनाका तथा निर्देशन रहेको नाटकलाई पत्रकार सागर चन्दले भारतीय नाटककार विजय तेन्दुलकरको ‘मित्रार्ची गोष्ट’ बाट अनुवाद गरेका छन् । भारतमा निकै विवादास्पद भएको यो नाटक पहिलोपटक सन् १८८१ मा मञ्चन भएको थियो । नाटक पहिलोपटक नेपालमा मञ्चन भएको हो ।


नाटकले त्रिकोणात्मक प्रेमकथा मार्फत समलिंगी सम्बन्ध र यसका आयामलाई देखाउने प्रयास गरेको बताउँछिन् निर्देशक रेनुका कार्की । नेपाली समाजले अझै पनि समलिंगी सम्बन्धलाई सहजै नलिने बताउँदै निर्देशक कार्की भन्छिन, ‘लैंगिक पहिचान प्राकृतिक कुरा हो भन्ने बुझाउन यो नाटक सहयोगी बन्नेछ ।’


नाटककी मुख्य पात्र सुमित्रा साथी नमाको साथमा रमाउन खोज्छे तर उनलाई समाज, आफन्त तथा वरीपरिको परिवेशले राम्रो नजरले हेर्दैन । यही कुराहरुमा आउने जटिलताको विषयमा नाटकको कथा केन्द्रित छ । जब परिवारले नमाको विहे अरु कतै गरिदिन्छन तब सुमित्रालाई साथ दिने कोही हुँदैन र अन्त्यमा उसले आत्महत्याको बाटो रोज्छे । यही नै हो ‘साथीको कथा’ 

 

 

नाटकमा नमा र सुमित्राको प्रेमलाई देखाउन प्रर्यायवाचीका रुपमा भगवान श्रीकृष्ण र राधाको परिवेशलाई नाटकको रुपमा प्रस्तुत गर्न खोजिएको छ जुन उत्कृष्ट देखिन्छ । जसमा श्रीकृष्णलाई राधाले आफुहरुमा सम्बन्धको बारेमा सोध्छिन तब उनले उत्तर दिन्छन कि त्यो सम्बन्ध समस्त सम्बन्ध भन्दा बेग्लै छ ।


नाटकको सबैभन्दा सबल पक्ष भनेको यसमा कलाकारहरुको अभिनय नै हो । नाटकका मुख्यपात्र बाबुलाल अर्थात आयुष प्याकुरेलको अभिनय उम्दा छ, कथाको अर्को प्रमुख पात्र सुमित्राको भुमिकामा सुष्मा निरौलाको भुमिका पनि दमदार नै देखिन्छ । त्यस्तै बाबुलालको साथी पाण्डुको अभिनय गरेका अनिल सुब्बा दर्शकलाई हसाउँने नाटकका मुख्य औजारका रुपमा प्रस्तुत भएका छन् । खलनायक (दलबहादुर) का रुपमा उत्रेका सूर्यमान लिम्बु र शारदा अधिकारीको अभिनय पनि नराम्रो मिल्दैन । 


संगीत, दृश्य परिवर्तन, प्रकाश ब्यवस्थापन तथा कथाको गठजोडले गर्दा नाटकभरी दर्शकलाई कथाले बाँधेर राख्छ । समलिंगी समुदायको बिषयबस्तु नेपालमा अहिले सामान्य लागे पनि भित्रभित्र उनीहरुकोे अवस्था कस्तो छ भन्ने यस नाटकबाट बुझ्न सकिन्छ ।

 


नाटकमा सुरुमा कथा सुस्त बगेजस्तो लागे पनि क्लाइमेक्समा दृश्यहरु हतारमा बनाइएको हो कि जस्तो पनि लाग्छ र साथै नाटकका केहि दृश्य हटाइए जस्तो पनि अनुभुति हुन्छ । नमालाई कथामा बाबुलालले सोधेको प्रश्न ‘तिमी कुन पार्टी की हौ’ भन्ने प्रश्नको उत्तर नाटकले दिंदैन अर्थात नाटकमा नमा समलिगीं नै हुन कि महिला छुट्याउन आवश्यक ठानिएको छैन । समलिंगी समुदाय प्रति खुल्दै गइरहेको नेपाली समाजमा यो नाटक केही बर्ष पुरानो लाग्न सक्छ । युवाअवस्था तथा कलेज जीवनको बारेमा प्रस्ट बोलेको नाटकले सुमित्राको पारिवारिक अवस्थाको बारेमा पुर्णरुपमा ब्याख्या गर्न चुकेको छ । समग्रमा भन्नु पर्दा नाटकको रुपमा दहरिएको नाटक फरक विचारमा चाख राख्ने मान्छेहरुले छुटाउन नहुने छ । 


नाटकमा आयुस प्याकुरेल, सुस्मा निरौला, अनिल सुब्बा, शारदा अधिकारी र सूर्यमान लिम्बुको अभिनय रहेको छ । नाटक मण्डला थिएटर अनामनगरमा पुस ६ देखि २२ गतेसम्म मञ्चन भईरहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार