• बुधबार ५-४-२०७६/Wednesday 08-21-2019
विचार

डा. तुलसी गिरी र समकालिन नेपाल

डाक्टर तुलसी गिरीका बिषयमा केटा–केटी उमेरदेखि आजका दिनसम्म आईपुग्दा धेरै सुनियो केही थाहा पाइयो । तिनी नेपाली राजनीतिक क्षितिजका सायद राजा महेन्द्र पछिका सबैभन्दा बढि कन्ट्रोभर्सियल व्यक्ति थिए । बाचुनजेलसम्म तिनी चर्चामा रहे र मृत्यु उप्रान्त पनि चर्चा मै छन् । व्यक्तिगत हिसाबले तिनीसंग उठबस पंक्तिकारको भएन । पुर्वाग्रह पिडित भएको हुनाले गर्दा नै हो तिनी एकजना मात्रै यस्ता व्यक्ति हुन् यस जिन्दगीमा जसले मसँग मुख खोलेर आफुलाई निमत्यौदा पनि मैले डेरामा बोलाइन । राजा महेन्द्र तथा तुलसी गिरी दुबै महत्वकांक्षी थिए र उनीहरुको व्यक्तिगत अभिष्ट पुरा गर्न यो मुलुकलाई प्रयोगशाला तुल्याएका हुन् । हामी जनता जनार्दन उनीहरुको प्रयोगशालाको गिनी पिगमा परिणत भयो । देशले वर्तमान अवस्थामा जुन नियती भोग्दैछ त्यो अवस्थामा नमेटिनुमा यी दुई व्यक्तिहरुले त्यसबेला खेलेको भूमिकाले महत्वपुर्ण भूमिका खेलेको छ  भन्नेमा मलाई हिजाको दिनमा जति बिश्वास थियो आज पनि त्यती नै छ । उनीहरु दुईजनाको मिलोमतोमा बामेसर्न लागेको प्रजातन्त्रको हत्या भयो अनि मुलुक डिरेल भयो ।     

 

राजधानी प्रवेश
डा.गिरी र बिश्वबन्धु थापाको भेट हुनु ‘एक्सिडेन्टल’ थियो । त्यो दरभंगा बसभित्र दुई अपरिचित नेपालीहरुको भेट थियोे । डा.गिरी बिश्बन्धुको पृष्टभुमी जस्तै नेपाली कांग्रेस दलभित्रको लोकप्रियता, बिशेश्वरप्रसाद (बीपी)सँगको सामिप्य तथा क्रान्तिकारी छवी आदीसंग राम्रैसंग परिचित थिए । जब तीनलाई आफुसंगको सहयात्री बिश्वबन्धु भन्ने पहिचान भयो त्यसपछि उनी नजिक हुन थालेका हुन । त्यही दिनदेखी शुरु भएको दुईबिचको सम्बन्ध जिन्दगीभरको लागि कायम रह्यो । 

 

बिश्वबन्धु संगको ‘दोस्ती’ मार्फत क्रान्तिकारी नेता बीपी तथा राजा महेन्द्रसँगको मात्र होइन काठमाडौंका स्थापीत परिवारहरुसंगको सामिप्य बढाए । धनी जमिन्दार पिताजीले महत्वकांक्षी पुत्रलाई नेपाली कांग्रेस प्रवेस गराएर ‘क्यारियर बढाव’ का निमित्त कांग्रेस पार्टी लाई प्रत्येक महिना दश हजार रुपैयाँ चन्दा दिने वाचा पनि गरेका थिए । उक्त रकम प्राप्ती पछि नेपाली कांग्रेसको शुवर्ण शम्शेरसँगको आर्थिक ‘डिपेन्डेन्स’ घटाउने बिपीको चाहना थियो जुन पुर्ति हुने बिश्वास कहिले पुरा हुन सकेन किनकी उक्त चन्दा रकम पार्टीले वा पार्टी नेताले पाउदै पाएनन् । 

 

पुतलीसडकको एम हाउसमा निवासी तथा नयाँसडक स्थीत काठमाडौं मेडिकल हलमा प्रैक्टिस गर्ने डा.गिरीको व्यक्तित्वबाट बिपी प्रभाबित जति थिए त्यति काठमाडौं रहँदा डा. गिरीले उपलब्ध गराउने गाडीको सेवा तथा मेजवानी । बिश्वबन्धुसंग कै सम्बन्ध मार्फत बसन्त शम्शेरको अत्यन्त सुन्दरी छोरी किशोरीसंगको सामिप्य बढ्यो । गिरी तथा किशोरी दुबै बिवाहित थिए । ड़ा.गिरीको छोरा छोरीहरु पनि जन्मिसकेका थिए । किशोरी तथा बिश्वबन्धु थापा बीचको सम्बन्ध अति घनिष्ट थियो । साँझ बसन्त शम्शेरको दरबारमा किशोरी र बिश्वबन्धुले ब्याडमिन्टन खेल्ने गर्थे । किशोरी र बिश्वबन्धु बीचको सम्बन्ध ‘पल्टुनिक’ थियो भन्ने बिश्वास भएपछि डा.गिरी नेपाली रोमियोमा परिणत भए किशोरी जुलियट । अन्र्तगत किशोरी र डा.गिरी दुबैको दोश्रो बिवाह सम्पन्न पनि भयो । शुरुका दिनहरुमा जब डा.गिरी किशोरीलाई यम हाउस प्रवेश निषेध गरिएको थियो त्यस्ता दिनहरु मा बिश्वबन्धुको कोठामा तन्नाको छेकोबार हालेर एकातिर बिश्वबन्धु र अर्कोतिर नब बिवाहित गिरी दम्पत्ती सुत्ने गर्थे । 

 

पैसा मोह 
डा.गिरीलाई पैसाको महत्वका बिषयमा राम्रो ग्यान थियो । त्यसकारण तीनले आफनो मेडिकल कलेजका अभिन्न मित्र डा.जोगिन्दर झालाई नेपाल भित्राएर आफनो प्रभावलाई सदुप्रयोग गरेर व्यापारमा संलग्न तुल्याए । डा.झाले कमाएको मुनाफाले अपुग भएको अवस्थामा डा.गिरी राजा महेन्द्रसंग हात थाप्न चुक्दैन थिए । राजा महेन्द्रले मन्त्रिपरिषद अध्यक्ष गिरीले आफुले लगाएको औठी समेत मागेको गुनासो राजाले आफतहरुसंग गर्थे । डा.झा मार्फत आफनो उच्च जीवनस्थरलाई कायम गर्न अर्थात अलिसान महलमा बस्न, मोटर फेरी रहन तथा शहरमा नाम चलेका राम्रा महिलाहरुसंग को सम्पर्क बढाउन प्रयोग गरे । पछिल्लो कालखण्डमा राजा ज्ञानेन्द्र राजाबाट मात्र होइन लोकतान्त्रिक सरकारसंग हात अघि सार्न पछि पर्दैन थिए ।    

 

सम्बन्ध जसले मुलुकको मुहार फेर्यो  
डा.गिरी बिपीसंगै जस्तो बिश्वबन्धु मार्फत नै राजा महेन्द्रको सम्पर्कमा पुगेका हुन् । त्यो सम्बन्ध प्रगाड हुनुमा दुबैको स्वार्थ गासिएको थियो । मुलुकको इतिहासमा आधुनिकरण गर्ने तथा आफना शंततिको बर्चस्व मुलुकमा कायम गर्ने मिशनमा लागेका राजा तथा डा गिरीको सम्बन्ध प्रगाड हुनुमा दुबैको  महत्वकांक्षाले अत्याधिक भुमिका खेलेको थियो । गिरीका निमित्त नेपाली कांग्रेस मार्फत आफुले पाउन सक्ने  सबै हासिल भइसकेका थिए । आठ नौ बर्षको अवधीमा तीनले साधारण सदस्यबाट साहयक महासचिव हुँदै महासचिव तथा उप-प्रधानमन्त्री हुँदै मन्त्रीपद प्राप्त गरिसकेका थिए । नेपाली कांग्रेसले तीनलाई दिन सक्ने अरु केही थिएन । बिपी र शुवर्णपछि गणेशमान तथा सुर्यप्रसाद थिए बरियत क्रममा जसलाई चाहेर पनि डा.गिरीले मात्र होइन बिपीले पनि बिस्थापित गरेर तुलसी गिरीलाई उहाँहरुको स्थान दिन सक्नेवाला थिएनन । डा.गिरीलाई राम्रैसंग थाहा थियो बिपीले पार्टी भित्र कति कसरत गर्नु परेको थियो तीनलाई स्थापीत गर्नका निमित्त । राजालाई गाली गर्न पर्यो भने बीपीले तुलसी गिरीलाई अघी सार्ने गर्थे । डा.गिरी जबरजस्ती तर्क गर्ने सार्मथ्य राख्द थिए तर नेपालीमा लेख्न सक्दैन थिए । लेख्ने कार्यका निमित्त तीनलाई बिश्वबन्धु नभई हुदैन थियो । गिरीले हिन्दी भाषामा बोलेका तर्कहरुलाई नेपालीमा उल्था गर्ने कार्य बिश्वबन्धुको हुने गर्थ्यो । बिपीबाट जे उपलब्धि हासिल सम्भव थिएन त्यो राजाबाट हुने निस्कर्स थियो राजा महेन्द्रसंगको सामिप्य । 

 

पंचायती प्रणाली 
डा. गिरीलाई पंचायतको आमा उपाधी किन दिइयो त्यसको बास्तवविक्ता थाहा छैन तर पंचायती खाका भने तीनले कोरेका हुदै होइन । राजाको षडयन्त्रको मतियार डा.गिरीलाई सत्ता हत्याएपछी राजाले आफु सर्वेसर्वा तुल्याउँदै छन् भन्ने भरोष्शा थियो । राजाले सत्ता हत्याएपछि आफु कसरी हाबी हुनु पर्दछ भन्ने रेखांकन तीनले कोरेका त थिए तर कस्तो राजनीतिक प्रणाली अन्र्तगत भन्ने थिएन । यस बिषयमा राजा  स्वंयम पनि अनभिग्य थिए । 

 

पौष १ गते पुर्वका दिनहरुमा राजाबाट आउँदा दिनहरुमा राष्ट्र संचालन कार्यका निमित्त तीनलाई अहंभूमिका दिने आश्वासन दोराउने कार्यबाहेक अरु केही मिलेको थिएन । बिश्वबन्धुको न्युर्योकबाट काठमाडौं आगमनको भोलिपल्ट दरबारमा भएको थियो । त्यस अवसरमा राजाले तीनलाई भनेका थिए मैले सत्ता लिए तिमी र गिरी मिलेर अबको मार्गचित्र कोर्ने कार्य गर । पौष १३ को घोषणामा राजाले आफनो अध्यक्षतामा गठन गरेको मन्त्रिपरिषदको बरियत क्रममा डा.गिरीलाई दोश्रो तथा बिश्वबन्धुलाई तेश्रो स्थान मिल्यो । जबकी उहाँहरु दुबै भन्दा ‘सिनियर’ ऋषिकेश शाह थिए । तिनी डा.गिरी तथा थापा भन्दा पहिले नै नेपाली कांग्रेसको महासचिब भइसकेका अनि अमेरिकाका लागी राजदुत तथा संयुक्त राष्ट्रसंघको स्थाई नेपाली प्रतिनिधि थिए । भारतीय सामाजवादी नेता जय प्रकाशले दिएको ग्राम पंचायत पुस्तिकाको आधारमा राष्ट्रिय स्थरको राज्य संचालन गर्ने पंचायती प्रणालीको खाका निर्माण गर्ने कार्य बिस्वबन्धुले सचिव कुलशेखर शर्मा तथा ग्राम बिकास बिभाग का निर्देशक तारादेब भट्टराईको सहयोगमा तयार पारेका हुन् । 

 

कुटनीतिक दक्षता 
सत्ता हत्याएको लगत्तै भारतीय प्रधानमन्त्रीको समर्थन जुटाउन डा.गिरीलाई राजा महेन्द्रले दिल्ली पठाए । यस कार्यमा गिरी पूर्ण रुपमा असफल सिद्ध भए । त्यसपछि राजाले तीनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी त सुम्पिए तर कुटनीतिक कार्यमा भने संलग्न गरेनन बरु तीनको भारत बिरोधी छबी राजाले निर्माण गरिदिए । ऋषिकेश शाह मार्फत अन्तरराष्ट्रिय समर्थन प्राप्ति गर्ने तीनको चाहना पनि शाहले दिल्लीमा गएर भारतीय प्रधानमन्त्री नेहरु लाई ‘राजा गर्न नहुने कार्य गरेका हुन् तर तीनले यो कदम उठाईसके त्यसकारण समर्थन गरिदिनु होस’ भनेको थाहा पाएपछि चकनाचुर हुन पुग्यो । ऋषिकेश शाहको उपयोगिता पनि राजाका निमित्त समाप्त भयो । तिनी विस्तारै किनारा लागे । 

 

राजासंगको सम्बन्ध चिसिनुको कारण 
डा.गिरीसंग राजा महेन्द्र चिढिनुको पछाडिको प्रमुख कारण राजाको नाममा आफैले शासन व्यवस्था संचालन गर्ने गिरीको महत्वकांक्षा थियो । मन्त्रिपरिषदको अध्यक्ष पद प्राप्ति पछिका दिनहरुमा गिरी राजाको पकड भन्दा बाहिरिन थाले । दरबार आफुबिना लंगडो हुन्छ भनेर खुल्ले आम घोषणा गर्न उनी हिच्किचाउँदैन थिए । दरबारमा हुने राजाको अध्यक्षतामा हुने क्याबिनेटका बैठकलाई आफनै अध्क्षयतामा सिंहदरबारमा तीनले संचालन गर्न थाले । संखालु राजालाई गिरीको नियती प्रति झनै संखा बढ्न थालेको हो । सत्ता सम्हालेको चार बर्ष बित्दासम्म राजा महेन्द्रका निमित्त डा.गिरी बोझ साबित हुन थालिसकेका थिए । डा गिरी कै सबैभन्दा भरपर्दो सहायक सुर्यबहादुर थापालाई राजाले गिरीलाई आफुले बिस्थापित गर्ने संदेश २०२१ सालको शरुवात मै दिएका थिए । बिश्वबन्धु थापालाई डा.गिरी पछिको प्रधानमन्त्री पदमा नियुक्त गर्ने मनसाय राजाको थियो त्यही कारणले गर्दा तीनलाई राष्ट्रिय पंचायतको अध्यक्ष पदबाट राजिनामा गराएर मन्त्रिपरिषदको बरिष्ठ उपाअध्यक्ष पदमा नियुक्त गरेका थिए । बिश्वबन्धुले खुलेआम ‘बहुदल बक्स्नु पर्दछ’ भनेर माग गर्ने थालेपछि भने राजा महेन्द्रले  डा. गिरी र बिश्वबन्धु दुबैलाई चकित तुल्याउदै आफनो इशारामा चल्ने सुर्यबहादुर थापालाई मन्त्रिपरिषदको अध्यक्ष पदमा २०२१ माघ १३ का दिन नियुक्ति गरे । राजालाई घुर्की लगाए बापत जेलमा थुनेर दुबैलाई ठेगान लगाए । 

 

राजा बिरेन्द्रलाई पंचायत अझै संक्रिय तुल्याउने इच्छा भयो त्यसकारण तीनलाई कुनै जिममेवारी नदिई ‘राजनीतिक सल्लाहकार’ पदमा डा गिरीलाई नियुक्त गरे । २०३२ मंसिर १५ का दिन तीनले डा गिरीलाई प्रधानमन्त्री पद पनि सुम्पीए । गिरीका निमित्त बाइसबर्ष पछि मुलुक संचालन गर्ने अवसर मिलेको थियो । डा.गिरीले यस अबधीमा दरबार निकट हुनु भन्दा आफनै मनोमानी चलाउन थालेपछि दरबारले कार्पेट काण्ड को ‘घाडो भिराएर’ दुई बर्षसम्म पनि तीनलाई उक्त पदमा आसिन हुन दिएनन् ।   

 

प्रजातन्त्र तथा डा.गिरी  
राजाबाट प्रधानमन्त्री पदमा नियुक्त भएका डा.गिरीको  मानव अधिकारको धारणा ‘मानव अधिकारका बिषयमा कार्टरको (समकालीन अमेरीकी राष्ट्रपति जसले मानव अधिकारलाई आफनो परराष्ट्र नितीको अभिन्न अंग तुल्याएका थिए) परिभाषा र मेरो परिभाषा अलग अलग छ’ भनेर घोषणा गरे । ‘राष्ट्रिय मेल मिलाप’ को नारा लिएर नेपाल भित्रिदा साथै  थुनामा परेका पुर्व प्रधानमन्त्री बिपीको स्वस्थ स्थिती नाजुक भएको हुनाले तिनलाई अमेरीकामा उपचारका निमित्त पठाउन पर्ने सिफारिस गर्ने दरबार द्धारा खटिएका दुई डाकटरहरु मृगेन्द्र राज पाण्डे तथा लक्ष्मी नारायण लाई तीनले धम्काउदै ‘बिपी मोरेर यो देशमा केही हुने वाला छैन त्यसकारण उसलाई यहि रहन दिनुहोस राजालाई अमेरिका पठाएर उपचार गर्ने सल्लाह दिने होइन’ भनेका थिए । त्यसो त राजालाई बम हाने बापत हिरासतमा रहेका दुर्गानन्द झालाई ‘बाहुनको छोरो’ लाई फासीको सजाय दिनु हुन्न भन्ने राजाका सल्लाहाकारहरुको खिलाफ झालाई फासी दिनैपर्ने धारणा पनि मन्त्रिपरिषदका अध्यक्ष डा.गिरी को थियो ।  

 

अन्तमा 
प्रजातन्त्रको पुनःस्थापना पश्चात पछि डा.गिरी संगको मेरो कोलोम्बोको अन्तिम भेटमा तीनले आफु नेपाल नफर्कने कारण उल्लेख गर्दै हिन्दु धर्म त्यागी सकेको तथा जेवेवा विटनेस धर्मालम्बीहरुले राजनितीमा संलग्न हुन निषेध गरिएको हुनाले भन्ने थियो । तर ज्ञानेन्द्र सत्तासिन भएपछि तीनको मन परिवर्तन भएको हो । ज्ञानेन्द्र पदच्युत भएपछि पुन मुग्लान लागेका डा.गिरीको नेपाल आगमन सायद प्राकृतिक थियो । एलास्काको सालमान माछा एट्लान्टिक महा–समुन्द्रको भ्रमण पश्चात जीवनलिला बिसौन पुन एलास्का फर्के जस्तै ।                        

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार