• आइतबार १०-६-२०७५/Sunday 01-20-2019
अन्तर्वार्ता

‘हामी केही संख्यामा नेकपामा प्रवेश गर्दैमा केही हुनेवाला छैन’

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) छाडेर स्वतन्त्र राजनीतिक समूह बनाई तत्कालिन नेकपा एमालेसँग सहकार्य गरी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा सूर्य चिन्ह लिएर निर्वाचनमा सहभागी भएका हृदयेश त्रिपाठी नेपाली राजनीतिमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । 

 

नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तन देखि मधेश आन्दोलनका क्रममा अग्रणी भूमिका निर्वाह गरेका उनी सिंगो नेपाल र मधेशमा न्याय, समानता र समृद्धिका लागि क्रियाशिल रहँदै आएको बताइन्छ । । बर्तमान राजनीतिक घट्नाक्रम, सरकारको कार्यशैली र उनको भावी रणनीतिका बारेमा फ्रेसन्युज नेपालका लागि पत्रकार सुकृत नेपालले उनीसँग गरेको विस्तृत कुराकानीको सम्पादित अंश :- 

 

पछिल्लो राजनीतिक घटना क्रमलाई कसरी हेरिरहनु भएको छ ?

 

जनता जुन उत्साहका साथ चुनावमा सहभागी भए र जुन अपेक्षा गरेका थिए त्यो सन्तोषजनक देखिदैंन । संसद पूर्ण गतिमा अगाडी बढ्न सकेको छैन । शान्ति सुरक्षा, आम नागरिकको सुरक्षासँग जोडिएका धेरैं बिषयहरुमा सरकार चुकेको जस्तो देखिन्छ । यी विषयमा सुधार गर्नुपर्ने आवश्यक्ता छ । 

 

अहिलेको सरकारका गतिविधीबारे के भन्नुहुन्छ ?

 

यसमा नतिजा आउन समय लाग्छ । एकबर्ष पनि भएको छैन । निती तथा कार्यक्रम सार्वजनिक हुदाँदेखी नै एक किसिमको निराशा र आक्रोश पैदा भएको थियो । धेरै गैर एजेण्डाहरुमा सरकार अल्मलिन पुग्यो । बलियो सरकार भएकाले पनि संस्थागत संरचना निर्माणमा लाग्नुपर्ने हुन्छ । पछिल्ला दुई दशकलाई आधार मान्ने हो भने नेपालको विकास खर्च पूर्णरुपमा भएको पाइँदैंन । के कारण हो त ? कानुनी अड्चनले हो कि ? राज्यका संरचना नै कमजोर भएर हो कि ? यो सरकारले अब त्यसतर्फ सोच्नु पर्ने हुन्छ । हरेक सरकारको काम कर्तव्य र अधिकार हुन्छ । यो सरकार आफंैमा बलियो छ । मन्त्रीमण्डल परिर्वतन हुन सक्ला । यस प्रकारको स्थीर सरकारले संरचनागत सुधार र कानुनी सुधारतर्फ चासो दिन आवश्यक छ ।

 

 

हरेक दिन बलात्कार तथा हत्या लगायतका घटना डरलाग्दो रुपमा सार्वजनिक भइरहँदा सुरक्षा संयन्त्रले काम गर्न नसकेको हो ?

 

प्रहरी प्रशासन, हाम्रो देशको सुरक्षा संयन्त्र अहिले अत्यन्तै कमजोर देखिएको छ । सुन काण्डको घटना बाहिर आए लगतै चौतर्फी रुपमा सवालहरु उठे, जुन जाएज थिए । संगठित तस्करीमा सुरक्षा संयन्त्र नै जोडिएको छ । हाम्रो कर्मचारी प्रशासन, सुरक्षा संयन्त्रमाथी आमरुपमा प्रश्न उठिरहेको छ । कतिपय घटनामा उनीहरु मुछिरहेका छन् । यी त केहि सार्वजनिक भएका र देखिएका घट्ना मात्रै भए । पर्दा पछाडि के कति भए त्यसको हिसाव नै छैन ।

 

कञ्चनपुरको घटनाको कुरा गर्दा त्यहाँका तत्कालिन एसपी, जिल्ला प्रशासन कार्यालय लगायतले के देखायो भने, हामी पतन उन्मुख प्रशासनलाई बोकेर हिडिरहेका रहेछौं । जुन निकायले नै स्वंय अपराध लुकाउनलाई हरेक प्रपन्च रच्दैछ । यी यावत निकायहरु सरकारका अंग हुन जसले सरकारलाई नै खिया लगाउने काम गरिरहेको हो कि जस्तो लाग्छ । यो सरकारले यस्ता घटनातर्फ गहिरो ढंगबाट सोच्नुपर्छ । हामीले प्राप्त गरेको विरासतमाथि यदि ती निकायबाट खिया लगाउने काम हुन्छ भने सरकारले बेलैमा सोच्नु पर्‍यो । कारवाही अगाडी बढाउनु पर्‍यो ।

 

यो सरकारलाई अर्को लान्छना पनि लागिरहेको छ । मुलुकी ऐनको फौजदारी र देवानी (मुलुकी अपराध संहिता) जुन यो भन्दा अगाडिको संसदले पास गर्‍यो । विगतको सरकारको पालामा पास भयो । त्यही पारित गर्दा भनिएको थियो– ०७५ भाद्र १ गते देखि लागू हुने । जब लागू भयो सरकार फेरिएको थियो । आम जनतामा के प्रभाव प¥यो भने सबै यहि सरकारले पारित गरेको हो । यहि सरकारले निर्माण गरेको हो भन्ने सन्देश आम जनतामा प्रवाह भयो । पास गर्दा अहिले प्रतिपक्षमा भएको पार्टी पनि थियो । विगतको संसद र सरकारले गरेको कामको दोष पनि यो सरकार माथी आइलागेको अवस्था छ ।

 

आम–जनतासंग प्रत्यक्ष रुपमा जोडिएको विषय हो, बजेट र कर । करको विषयमा प्रदेश सरकारलाई कमजोर बनाउने हिसाबमा नेपाली कांग्रेस र तत्कालिन एमाले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर लागे । करको कुरा आउँन थालेपछि साथीहरु आतंङकित भएका छन । त्यसैले यसमा कुनै मापदण्ड छैन । एकरुपता ल्याउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।

 

प्रदेश सरकारले जुन ढंगबाट काम गर्नेुपर्ने हो त्यो हुन नसकेको गुनासाहरु आउन थालिसकेका छन्, के भन्नुहुन्छ ?

 

संविधान निर्माण गर्दा प्रदेशको संरचना काम कर्तव्य र अधिकार तोकिएकै हो । अहिले प्रदेशको संरचनालाई बलियो बनाएर लैजानु पर्ने छ तर माहोल छैन । अहिले संघीयतालाई एक किसिमले बदनाम गर्न भनेर लागेको जस्तो देखिन्छ । हामीहरुका लागि संघीयता आवश्यक थियो । कांग्रेस र तत्कालिन एमाले जस्ता पार्टीहरुका लागि यो एउटा बाध्यता थियो । संघीयता अन्तरिम संविधानको पहिलो ड्राफ्टमा आएको होइन । मधेश आन्दोलनले तताएको हो । यसबाटै बुझनुपर्छ आमा को हो ? अब आइहाल्यो, यसलाई केही गर्दा छोड्न पनि मिलेन । ‘मितको टाउको बेलै सरह’ टाउको फुट्यो मित कै फूटला । अब संघीयता एक्लै कसैले हटाउन सक्दैंन । अब कसैले हटाउन पहल ग¥यो भने सबै उपलब्धी गुम्छ । यसलाई फाल्न सक्ने आँट, साहस कसैले गर्न सक्दैन । कुनै नेता, संस्था कसैले पनि यसलाई हटाउन सक्दैन ।

 

मधेश आन्दोलनको अगुवा नै हुनुहुन्छ, मधेशले जे चाहेको हो त्यो प्राप्त गर्‍यो ?

 

छैन । मधेशले प्राप्त गर्न सकेको छैन । तत्कालिन समयमा जे सम्झौताहरु अनुकुलका काम कारवाहीहरु हुन सकेका छैन । जस्तै: अहिलेको संविधानमा विभिन्न आयोगहरुको कल्पना गरिएको छ । समावेशी आयोग, मधेश, मुस्लिम, दलित, जनजाति आयोग लगायत भनेर उल्लेख गरियो । दलित र समावेशी आयोगको काम, कर्तव्य केहि हदसम्म समेटियो अरु आयोगबारे खासै उल्लेख नै गरिएन । तत्कालिन संविधान निर्माताहरुले ती आयोगहरु बनाउँदा सबैलाई समेटेनन् । समावेशी आयोगमा उनीहरुको ध्यान किन बढी गयो भने त्यो खस आर्यहरुको लागि बनाइएको थियो । उनीहरुको जनसंख्याको आधारमा नियुक्ती हुन सकेन भने त्यसको लागि पनि छुट्टै अध्ययन गरेर सरकारलाई त्यसको कारण दिनुपर्ने भन्ने छ । नेपालका तत्कालिन संंविधान निर्माताहरुको मनोविज्ञान त्यहाँ प्रकट हुन्छ ।

 

 

राजपा छाडेर स्वतन्त्र समुह बनाउनु भयो, सूर्य चिन्हमा चुनाव लड्नु भयो, कसरी यो सबै हुनपुग्यो ?

 

राजपाको निर्माणमा हाम्रो भूमिका थियो । राजपा पार्टीको रुपमा अघि बढ्न सकेन । देशमा विभिन्न चरणमा स्थानीय चुनावहरु भए । जब एक, पाँच र सात नम्बरमा राजपाले त्यसबेला निर्वाचन आयोगमा पार्टी दर्ता गराउन सकेको थिएन  । चुनाव चिन्ह नै लिन सकेन र हामीलाई अध्यक्ष मण्डलबाट बहिष्कार गर्नुपर्छ भन्ने अर्ति बुद्धि दिइयो । हामीले बहिष्कार गर्‍यौं । त्ससैबेला धेरै घटनाहरु पनि भए । गोली समेत चल्यो । हामीले संघर्ष गर्‍यौैं । दुई नम्बर प्रदेशमा १९ वटा गाउँपालिका र नगरपालिका थपियो । उहाँहरुले चुनावमा भाग लिनुभयो । एउटै पार्टी अलग–अलग प्रदेशमा अलग–अलग निती अम्वलन गर्छन भने त्यो राजीतिक पार्टी होइन ‘रामलिला’ पार्टी हो । 

 

नेकपामा सामेल हुने या सरकारमा जाने कुरा के भइरहेको छ ? 

 

यसमा छलफल भइरहेको छ । छलफल दुईवटा कोणबाट भइरहेको छ । एउटा नेकपासँग पनि वार्ता सम्वाद भइरहेको छ अर्को  छुट्टै राजनीतिक दल पनि निमार्ण गर्न सकिन्छ भन्ने राय पनि छ । 

 

‘सुखी नेपाली र समृद्धि नेपाल’ सरकारी अभियानलाई सार्थकता अभियानमा तपाई कत्तिको बिस्वस्थ हुनुहुन्छ ? 

 

कुनै पनि संविधान आफैमा पनि दुईवटा पक्ष हुन्छन् । म नेपालको संबिधान मात्र होइन संसारभरी कै संविधानको कुरा गर्दैछु । एउटा संविधानको आर्दश छवी बन्छ । संसारका सबै संविधान पढियो भने आर्दश छवी के हुन्छ भने, त्यहाँ गरिवी छैन, असमानता छैन, बराबरी छ । अर्को त्यसको वस्तुगत जुन छवी हुन्छ त्यो देशको अवस्था हो । फेरी त्यो भिन्न हुन्छ । त्यहाँ अभाव, चरम गरिवी, चरम असमानता, शोषण दमन देखा परिरहेको हुन्छ र संविधानमा समानताका कुराहरु लेखिएका हुन्छन् । त्यसले राज्यको बनावट र चरित्रले बाँकी चिज निधो गर्छ ।

 

नारा हाम्रो देशले धेरै नै भोगेको छ । पञ्चायतकालमा पनि यसरी मापदण्ड देखि लिएर त्यसमा पनि राजाका हरेक चोक चोकमा श्रीपेच सहितका महावाणी नाराहरु लेखिएका हुन्थे । पञ्चायतीहरु त्यहि जपेर बस्थे । तर की पुर्याउन सकेनन् र हुँदाहुँदा पञ्चायत जोगाउन सकेनन् । पञ्चायतले केहि गर्न सकेन । पञ्चायतको विरुद्ध हामी आन्दोलनमा थियौं अरु हाम्रा विरुद्ध सडकमा आउन सकेनन् ।

 

अहिले आर्थिक चुनौति हाम्रा सामु छ । हामी कहाँको बजेट प्रणाली कस्तो हुने भन्ने छ । पहिलो पटक अर्थमन्त्रीले स्वीकार गर्नुभएको विकास खर्च भन्दा पनि साधारण खर्च बढी छ भन्ने कुरा उहाँले बाहिर ल्याउनु भयो । विगतमा त्यो लुकाइन्थ्यो । बाहिर आउदैंनथ्यो । 

 

कानुनी र संरचनागत ब्यवधानहरु छन । यी सबै कुराहरुलाई सम्बोधन गरियो भने ति समस्याहरु स्वतः कम हुदैं जाने देखिन्छ । अर्को कुरा, जुन नेपालमा कमै चर्चा पाउने विषय छ । किसानले उत्पादन गरेको हरेक उत्पादनको उसले मूल्य निधारण गर्न सक्दैन् । त्यसैले उसको अवस्था राम्रो हुन सकेको छैन । यर्थाथमा भन्ने हो भने नेपालमा किसानको हितको बारेमा सोच्ने राजनीतिक दल छैन ।

 

परम्परागत हिसावले मिडलक्लासले नेपाली काग्रेसंलाई हाकेको छ । सर्बहाराको पार्टी हुँ भनेर कम्युनिष्टहरुले भन्दै आएका छन तर सबै किसान कै सन्तान हुन । अहिले पनि धेरैं जनसंख्या कृषीमै निर्भर छ । जबसम्म बहुसंख्यक किसानको समृद्धि हुँदैन नेपाल समृद्ध हुन सक्दैंन ।

 

यहाँ गगनचुम्बी भवन बनाएर, ठूला डिपार्टमेन्टल स्टोर खोलेर, ५४ अर्बको चामल विदेशबाट मगाएर, ९४ करोडको टोमेटो सस ल्याएर यहाँको किसान कसरी माथी उठ्न सक्छ ? अहिले त झनै किसानको अवस्था नाजुक हुदैं गएको छ । न भनेको समयमा मल पाउँछन न त उनीहरुले निर्धारण गरेको मूल्य नै पाउँछन । किसान ऋणमा फसेको छ । किसानको विषयमा यहाँको बौद्धिक जमात पनि मौन छ । भन्नलाई म पनि किसान, मेरो बुवा पनि किसान भन्छ । यहाँका नेता, कर्मचारी, प्रहरी प्रशासन, कानुन व्यवसायी सबैका बाबुआमा किसान नै छन् । नेपालको राजनीतिमा जो संगठित छ उनीहरु कै हालिमुहाली छ । किसान संगठित हुन सकिरहेको छैन । जव किसानको समृद्धि हुन्छ तव मात्रै देश समृद्ध हुने हो ।

 

किसानको समृद्धिको मुख्य आधार भनेको नै उनीहरुको उत्पादनले सही मूल्य प्राप्त गर्नु हो । किसानको उत्पादनको मूल्य उसलाई थाहा हुन्छ । लगानी कति लाग्यो भन्ने कृषकलाई मात्रै थाहा हुन्छ । उसको उत्पादनमा अरु कसैले मूल्य निर्धारण गर्ने होइन् । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो विफलता नै यहि हो । यो भन्दा लाज मान्नु पर्ने अरु कुनै विषय छैन । जवसम्म यस विषयमा नेपालका अर्थविदहरुको ध्यान पुग्दैन तवसम्म नेपाल सुखी र समृद्ध हुनै सक्दैन । मेरो भविष्यवाणी यहि हो ।   

 

नेकपा प्रवेशको तयारी र कुन स्थानमा रहने केहि त सोच्नु भएको होला ?

 

नेपालको कम्युनिष्ट आन्दोलन किन डिले भयो भन्नेतर्फ म केहि भन्छु । माक्र्सवाद र यहाँका कम्युनिष्ट अन्तर छ । काल्पनिक वर्गका लागि यहाँ लडाई भयो, यहाँ भएका समस्या सम्बोधनमा कसैको ध्यान जान सकेन । यहाँका कम्युनिष्ट नसलवादी राजनीति गर्न पुगे । मधेशमा वि.स.२०१५ सालमा जुन चर्चा थियो । स्वर्गीय मदन भण्डारीले केही गर्न खोज्नु भएको थियो तर पछि हरायो । पछि प्रचण्ड, बाबुरामजीहरुले कोशिस गर्नुभयो । जसले लडाइको चेत बढेर गयो । समग्र मधेस आन्दोलनलाई प्रेरणा दिने काम माओवादी आन्दोलनले दिएको हो । लड्नु पर्छ भन्ने भावना विकास गरेकै हो । 

 

हामी केहि संख्यामा नेकपामा प्रवेश गरेर हुने केही होइन । जुन पार्टी पहिले नै ठूलो छ । हामी जानु आवश्यक छैन । हामी कुनै वेरोजगार भएर रोजगारको खोजिमा छैनौं । नेकपामा नेता र कार्यकर्ताको पनि कुनै अभाव छैन । जो पटक–पटक जो आन्दोलित भए मधेशी, थारु लगायतका सवालमा संम्बोधन हुन आवश्यक छ । यो पार्टीसंग निती कार्यक्रम र व्यवहार नभएसम्म हामी प्रवेश गरेर के गर्ने ?

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार