• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेकपाभित्र नेतृत्वको चर्को आलोचनाः भीम रावलले पेस गरे ३५ बुँदे सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक जारी छ । मंगलबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वको कडा आलोचना गरेका छन् ।

 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलकाक्रममा स्थायी कमिटीका सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् ।

 

सरकार र पार्टी सन्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सन्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन् । स्थायी कमिटी सदस्य भीम रावलले मनोमानि ढंगले सचिवालय गठन गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।

 

नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि जनाए ।

 

उनले १४ पृष्ठ लामो ३५ बुँदे विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए  । मंगलबार बोल्ने ८ जना स्थायी कमिटी सदस्यहरुमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए ।

 

नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदन्डअनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेकाले त्यसलाई रोकिनुपर्ने बताए ।

 

मंगलबारको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राखेका थिए ।

 

शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सोमबार भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भुसालले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको लामो समय भइसक्दासमेत तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन ।

 

त्यसैगरी, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट नगरिएको भन्दै आलोचनासमेत हुँदै आएको छ । अर्को बैठक बुधबार (भोलि) बिहान ८ बजे फेरि बस्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार