• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कांग्रेसको विधानमा सहमति जुट्न हम्मे, बैठक लम्बिन सक्ने

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठक अस्तब्यस्त बनेको छ । पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न नसक्दा प्रतिनिधिहरुमा अन्योलता छाएको छ ।

 

महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा त्यसको छलफल नै प्रारम्भ हुन सकेको छैन ।

 

बैठकमा पेस हुने मुख्य दस्तावेज विधान मस्यौदामाथि सहमति जुटाउने प्रयास पटक पटक असफल हुँदै आइरहेको छ । मंगलबार दिनभर शीर्ष नेताहरुबीच विधानका विषयमा सहमति जुटाउने प्रयास भए पनि असफल भयो ।

 

विधान मस्यौदामाथि लामो समयदेखि सहमतिका लागि प्रयासरत नेताहरूले अहिलेसम्म सहमति गर्न सकेका छैनन् । साँझ दोस्रो तहका नेताहरु एक ठाउँमा बसेर विधानको टुंगो लगाउने प्रयास गरिरहेका छन् । संसदीय दलको कार्यालयमा केही नेताहरु छलफलमा जुटेका छन् ।

 

पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भईरहे पनि अन्तिम सहमति जुट्न नसक्दा महासमितिको बैठकमा विधानको विषयमा घनिभूत छलफल हुन सकिरहेको छैन् । कांग्रेस केन्द्रिय सदस्य गगन थापाले साँझसम्ममा केही सहमति जुट्ने आश्वासन दिए ।

 

पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले कुरा भइरहेको छ । तर त्यसको निर्वाचन पद्दतीमा कुरा मिल्न सकेको छैन, थापले भने ।

 

सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य इतरका सबै निर्वाचित हुनुपर्ने पक्षमा छन् ।

 

पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका विषयमा पनि नेताहरुबीच कुरा बाझिएको छ । जसका कारण महासमिति बैठक ओझेलमा परेको छ ।

 

विधानकै विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठक सकिने दिन भईसक्दा पनि विधान प्रस्तुत नभएपछि  सदस्यहरु भने पार्टी नेताहरुप्रति आक्रोसित भएका छन्

 

अधिकांश जिल्ला सभापतिहरु नेतृत्वप्रति खनिएका छन् । बैठक भद्रगोल बनेको छ । कतिपय प्रतिनिधिहरु चिया चौतारीमा व्यस्त छन् भने कतिपय व्यक्तिगत काममा लाखापाखा लागेका छन् ।

 

विधान टुंग्नो लाग्न नसकेकाले केही बेरका लागि महासमिति बैठक नै स्थगित गरिएको छ । जसका कारण काठमाडौंमा जम्मा भएका प्रतिनिधिहरु अलमलमा परेका छन् भने केही प्रतिनिधिहरु जिल्ला फर्कन थालेका छन् ।

 

केन्द्रीय समितिबाट विधान मस्यौदा पारित हुन नसक्दा महासमिति बैठक लम्बिने निश्चितप्राय बनेको छ ।

 

निर्धारित कार्यतालिकाअनुसार मंगलबार नै बैठक सकिनुपर्ने हो । तर बैठकको मुख्य दस्तावेज विधान अझै केन्द्रीय समितिबाट पारित नहुँदा बैठक सर्ने निश्चित भएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार