• शनिबार २-११-२०७६/Saturday 05-25-2019
अन्तर्वार्ता

काले गन्धर्वको सारङ्गी भित्र लुकेको पिडा 

सारङ्गी कहिले देखी बजाउन थाल्नुभयो ?

 

बाबु–आमा सानैमा बित्नु भयो । एक्लोपनमा साहारा बनेर आयो यहि सारङ्गी । दशबर्षको उमेर देखी नै बजाउन थाले । आमा–बुवा गुमाउँदाको पिडा मनमा थियो । मेरो पिर व्यथा भूलाउने माध्यम नै यहि भयो । ८० बर्ष पुगे आफूले जानेको यो कला अहिले पनि बजाउँछु ।

 

सारङ्गी बजाउन थाल्नु भएको पनि झण्डै ७० बर्ष भईसकेछ, ती पुराना दिन कस्ता थिए गीत गाए बापत के पाउनु हुन्थ्यो ?

 

गाउँघरमा गीत गाउदैं हिडीन्थ्यो । पैसाको म्ुख देख्न पाइदैंन्थ्यो । गीत गाएबापत कोदो मकै दिन्थे । औंलामा गन्न मिल्नेले सुका मोहर दिन्थे । त्यतिबेला त्यो पैसा अत्यन्तै ठूलो लाग्थ्यो । समय वित्तै जाँदा ५ रुपैँया पाउन थालियो । त्यो पनि हाम्रो लागि त्यतिबेलाको ठूलो रकम नै थियो, पछि उमेर बढ्दै गयो । बिवाह भयो । अब अहिले मेरो परिवारको गुजारा  यसैले नै धानी रहेको छ ।

 

सारङ्गी बजाउदैं कहाँ कहाँसम्म पुग्नु हुन्थ्यो ?

 

यो ठाउँ भन्ने नै छैन । देशका विभिन्न भेगमा पुगे । पुर्व मेची देखी पश्चिम महाकाली सबै तिर पुगे । सारङ्गी बजाएर गीत गाएर परिवार पालेकै थिए । मलाई वियोगले छाडेन । मलाई माया गर्न गीत गाउन हौसला दिने आफ्नै दाजुलाई गुमाउनु प¥यो । बाबु–आमाले सानैमा छोडेर गए । दाईले पनि यति छिटै यो संसार छाडरे जानुहोला भन्ने थिएन । मेरो जीवनमा नसोचेका घटनाहरु एक पछि अर्को गर्दै आए । मेरो श्रीमतीले पनि मलाई छाडेर गइन । अहिले छोरा बुहारी र नाति–नातिना हामी सबैसंगै छौं ।

 

त्यतिवेला समाजका ठूलाबडाहरु माझमा पनि सारङ्गी बजाएर उनीहरुलाई प्रभावित पार्नु भयो कि भएन ?

 

सारङ्गी बजाएर विरहका भाका गाउँदै गर्दा राजा त्रिभूवनले पनि हेनु भएको थियो । त्यस्तै पछि महेन्द्रका पालामा पनि मैले गीत सुनाउने अवसर पाए । गीत सुनाउन जाँदा सुरक्षाकर्मीले घेरेर धेरै समय गीत गाउनै दिदैन्थ्यो । गीत गाए बापत राजाले खै धेरै नै पैसा दिनुहुन्थ्यो होला । उहाँका सुरक्षाकर्मीले ‘लौ यति हो’ भनेर सय, पचास हातमा थमाइदिन्थे ‘अब भयो’ भन्दै ठूलो स्वरमा हप्काउथे र म त्यहाँबाट आफ्नो बाटो लाग्थे ।

 

त्यतिबेलाका समयमा सारङ्गी बजाएरै जिवीका चलाउन कति सहज थियो ?

 

अहिलेको जस्तो थिएन । गीत गाएर उठाएको अन्न बाली हुन्थ्यो त्यहि पनि फेरी ढिकीमा कुट्नु पर्ने हुन्थ्यो । कुटेको अन्न एकै छाकमा सकिन्थ्यो । जहान परिवार पाल्न पनि कठिन थियो । आफुले जानेको काम चटक्कै छोडन पनि मन हुदैनथ्यो । जे जस्तो भए पनि गाउन छाडिन । सारङ्गी रेट्दा आफुभित्रका दु.ख पिडा पनि कम भएको जस्तो लाग्थ्या र त्यसैले पनि म बजाउँदै हिड्थे । पहिले हाँत मुख जोर्न निकै कठिन थियो । भैंसीलाई खुवाउने खोले आटोले पनि बिहान बेलुकाको छाक टार्नु पर्ने हुन्थ्यो । पकाउने केही नहुँदा भुटेको मकै खाएर पनि कयौं रात कटाइयो ।

 

त्यो समय सार्वजनिक समारोह त पक्कै हुन्थे होला, समारोह तीर कत्तिको सारङ्गी बजाउनु भयो ?

 

सार्वजनिक रुपमा आयोजना हुने कार्यक्रम, भेलाहरुमा थाहा पाएसम्म पुग्थे । राजाको सवारीहरु हुदा धेरै पटक गाएको छु । कविताहरु पनि लेख्थे ।

 

पहिले पहिलेका गीत र हिजो आजका गीतमा के फरक पाउनुहुन्छ ?

 

त्योबेला मौलिक भाकाहरुलाई स्थान दिइन्थ्यो । गीत संकलन गर्दा समाजमा भएका घटनाहरुलाई गीतको भाकामा समेट्न्थ्यिो । आजभोलि त्यो चलन हराएर गयो ।  अहिले हाम्रो मौलिकता हराउँदै गएको छ । अहिलेका गीत संगीतमा मौलिकपन भेटिदैन । लोक दोहारी भाका भनिन्छ तर त्यसमा मौलिकपन हुँदैन । समाजका बास्तविकता समेटनु पर्नेमा अनेक किसीमको बिकृति देखिन्छ ।

 

यसतर्फ गीत संकलक यो क्षेत्रमा लाग्ने सबैले मनन गरेर मौलिक पहिचान बचाउन र हाम्रा पुराना बाजाहरुको संरक्षण तर्फ ध्यान दिन जरुरी छ । आधुनिक बन्ने नाममा हामीले हाम्रो पहिचानलाई मास्नु हुदैंन । यसको जगेर्न गर्ने तर्फ सबैले पहल गर्नुपर्छ । 

 

प्रस्तुति: सुकृत नेपाल 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार