• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अन्तर्वार्ता

‘हचुवाका भरमा मदिरा नियन्त्रण गर्न खोज्नु ठिक होइन’

मदिरा व्यवसायीहरु अहिले आफ्नो लगानी फस्ने चिन्तामा छन् । विस्तारै व्यवस्थित बन्दै गएको व्यवसायलाई सरकारले नियन्त्रण गर्न खोजेको उनीहरुको आरोप छ । सरकारले जारी गर्न भनेको ‘मदिरा उत्पादन तथा विक्री बितरण नियमन तथा नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ ले व्यवसायी निराश छन् ।

 

व्यवसायीसँग छलफल नै नगरी कार्यकारी आदेश ल्याउन लागेको भन्दै उनीहरु बिरोधमा उत्रेका छन् । संभावना बन्दै गरेको स्वदेशी व्यवसायमा सरकारले ध्यान नदिंदा उद्योगको लगानी धरासायी हुने र यसले देशको अर्थतन्त्रमा समेत असर पुग्ने उनीहरुको भनाई छ ।

 

यही सिलसिलामा नेपालमा मदिरा व्यवसायको अवस्था र  सरकारले गर्न खोजेको नियन्त्रणका बारेमा फ्रेसन्यूज नेपाल ले नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्ण प्रसाद नेपालसँग गरेको कुराकानीको अंश:-

 

मदिरा ऐनबारे यहाँहरुको मुख्य गुनासो के हो ?

 

मदिरा ऐनमा हाम्रो कुनै असहमती छैन । सरकारले ल्याएको नियम कानुनमा हामी पनि बाँधिनु पर्छ । सरकारले जे नियम कानुन बनायो त्यो प्रभावकारी हुनुपर्छ । अन्तः शुल्क ऐन, मदिरा ऐनलाई प्रभावकारी बनाउन सरकारले चासो दिएको छैन । पहिले सरकारले जे नियम बनायो त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्छ । बाँकी जे जस्ता बिषयहरु छन त्यसमा दोस्रो चरणमा बहस गर्न सकिन्छ । विहान १० बजे देखि राती १० बजेसम्म मात्रै मदिरा विक्री वितरण गर्न भनिएको छ । अवैध किनबेच रोक्ने भनिए पनि त्यो हुन सकेको छैन । अवैध मदिराहरुले बजार पाइरहेको अवस्था छ । जुन कुरामा सरकारको ध्यान जानुपर्ने हो त्यसतर्फ कुनै पनि सरकारी निकायले चासोको रुपमा हेरेको छैन ।

 

सरकार र व्यससायी बिच छलफल भएरै ऐन यहाँसम्म आइपुगेको होइन ? 

 

केही समय अघि गृह मन्त्रालयका प्रतिनिधीहरुसँग कुरा भएको थियो । यसलाई व्यवस्थित बनाएर लैजानुपर्छ भन्ने उहाँहरुको विचारमा हामी पनि पूर्णत सहमत छौं । जुन किसिमबाट तथ्याकंहरु दिनुहुन्छ त्यसमा हाम्रो पूर्ण सहमति छैन । समाजमा हुने हरेक किसिमका घटना, बलात्कार, हिंसा, कुटपिट, दुर्घटना सबैको मुख्य कारण मदिरा नहुन सक्छ । अपवादका रुपमा केही घटना हुन सक्छन् । जस्तो अबैध घरेलु मदिराहरुको सेवनका कारण घटनाहरु भएका छन् तर सबै घटना  मदिराले नै निम्त्याएको मान्न सकिंदैन् । कतिपय देशहरुमा मदिरा अत्यन्तै कम प्रयोग हुन्छ तर पनि यस्ता घटनाहरु त भएका छन् । हरेक घटना हुनुको पछाडी मदिरा नै कारक हो भन्न मिल्दैन । खासगरी गाउँघरमा बनाइने घरेलु मदिरा यसमा मुख्य जड हुन सक्छ सरकारको अनुगमन यसतर्फ पनि हुनुपर्छ ।

 

 

स्वदेशी मदिरा उद्योगबारे सरकार कडा रुपमा अघि बढेको हो ?

 

जुन अवैध रुपमा चलेको मदिरा छ त्यसको नियन्त्रणमा सरकार जान सक्नुपर्छ । सरकारलाई कर तिरेको क्षेत्र, अर्थतन्त्रमा टेवा दिइरहेको कुरा त सरकारले मनन गर्नुप¥यो । सरकारको कदमले भोलीका दिनमा घाटा सरकारलाई पनि हुन्छ । राजस्वमा समेत असर पुग्छ । अवैध मदिराले बजार लिन्छ जसले जन–स्वास्थ्यमा पनि त असर गर्छ । अहिले देशमा झण्डै ६० प्रतिशत स्वदेशी मदिराले बजार धानेको छ । भोलीका दिनमा विदेशी मदिराले ठाउँ लिन्छ । यहाँका व्यवसायीको लगानी डुब्छ । यो त सरकारलाई पनि भार पर्ने कुरा हो ।

 

सरकारले विदेशी मदिरालाई प्रथमिकता दियो भन्ने यहाँहरुको बुझाइ हो ?

 

विदेशी मदिरालाई सरकारले प्रथमिकता दिइरहेको छ । स्वदेशी मदिरालाई प्रोत्साहन गर्न सकेको छैन । करोडौंको लगानी छ यो व्यवसायमा । हचुवाको भरमा यसलाई नियन्त्रण गर्नु राम्रो होइन । अहिले २५ देखी ३० प्रतिशत विदेशी मदिरा नेपालमा खपत हुन्छ । सरकारले यहाँका व्यवसायीलाई नियन्त्रण गर्दै गयो भने भोलीका दिनमा विदेशी बजार हावी हुनसक्छ । सरकार यस्तै ढङगबाट अघि बढ्यो भने नेपालका मदिरा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुग्छन ।

 

तपाईहरुको माग पुरा भएन भने कसरी अगाडी बढनुहुन्छ ?

 

यो लाखौं मजदुरको भविष्य र उनीहरु आश्रीत परिवारसंग जोडिएको विषय होे । दुई लाख बढीले रोजगार पाएका छन् । यसै पनि सरकारले युवालाई सहि ढंगबाट परिचालन गर्न नसकिरहेको अवस्था छ । अहिले चलिरहेको व्यवसाय हल्लाको पछि लाग्दा भोलीका दिनमा व्यवसायीहरुमा समेत निराशा पैदा हुन जान्छ । त्यस्तै गर्दै आएका रोजगारबाट विस्थापित भएर अझै धेरै युवा काम कै लागि खाडी जानुपर्ने अवस्था आउनुहुन्न भन्ने हाम्रो मुख्य आवाज हो । सरकारले यसतर्फ उदासिन भयो भने देशभरीबाटै काम ठप्प पारेर धर्ना, जुलुस विरोध कुन रुपमा अगाडी बढ्ने भन्ने हामी व्यवसायीहरुले पनि आफ्नो  ढंगबाट अगाडी बढनु पर्ने हुन्छ । ब्यवसायीहरु बिस्थापित हुने अवस्था आए महासंघ चुप लागेर बस्ने छैन । आफ्ना ब्यवसायीहरुको अधिकारको लागी जस्तो पनि कदम चाल्न पछि हट्ने छैन ।

 

प्रस्तुति :- सुकृत नेपाल 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार