• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
डबली

पोखरा देखि जोमसोमसम्मको यात्रा : एक अनुभूति

प्रा.डा. माधवी सिंह शाह

असोजको दोश्रो सप्ताहतीर, हामी पोखरा पुगेका थियौ । यसपालीको पोखरा यात्रा र बसाईमा बिगतका भ्रमण भन्दा अलि छुट्टै सोँच सम्भावनाहरु तर्फ उन्मुख हुने मौका मिल्यो । यसपटकको हाम्रो यात्राको मुख्य उदेश्य, श्री मुक्तिनाथको दर्शन भएकोले पनि, हामीले, पोखरा देखि जोमसोम, मुस्ताङ्गसम्मको साँगुरो जोखिमपूर्ण बाटामा पर्ने बस्ती, खोला–नाला, छहरा, चट्टान, हिम–श्रृंखला र बिबिध प्राकृतिक दृश्यावलोकन गर्ने अवसर पायौ । वास्तवमा काठमाडौंको  कोलाहल, प्रदुषण युक्त धुलाम्य बातावरण तथा खाल्टा खुल्टीले भरिएको सडकलाइ आफ्नो दैनिकीमा झेल्न वाध्य, हामी राजधानीबासी निरिह जनतालाई, पोखराको, ताल, खोला–नाला, हिमाल र प्राकृतिक वातावरणको स्वच्छताले आकर्षित गर्नु स्वभाविक नै हो । 

 

पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा दुई चार दिन बिताउँदा रमाईलो लाग्नुका साथै, हामीले यसका अन्य विविध पक्षबारे पनि स्वतस्फुर्त विचार गर्न पुग्यौ । पोखराको नामसंगै जोडिएका यहाँका थुप्रै दर्शनीय स्थलहरु गुफा, झरना, ताल तथा नौका बिहार र प्याराग्लाइलिङ जस्ता शाहसिक खेल यांहाका रमाईला पक्षहरु हुन् । यसका साथै  विश्व शान्ति स्तुप, म्युजियम तथा हिम टाकुरा अवलोकन गरिने सारनकोट जस्ता स्थलहरुको सौन्र्दयता वा महत्व उल्लेख गरिरहनु पर्ने यहाँ आवश्यकता देखिदैन ।

 

यसका अलावा पनि  हाम्रा आस्थाका केन्द्र थुप्रै पबित्र मन्दिरहरु र श्री बिन्दवासिनी माई तथा तालबाराहीदेवी र अन्य देवीदेवताको दर्शनले पनि यस क्षेत्रको महत्व र  आकर्षण बढाएकोछ । वास्तवमा, त्याहाका प्राकृतिक मनोरम शौन्दर्यता र  रमाईला पक्षहरु बारे, हामी नेपालीले भन्दा पनि बढी विश्वका अन्य मुलुकका नागरिकहरुले बुझेको तथ्य, त्यहाका सडकहरुमा अझ  खासगरेर स्थानिय लेकसाईड  वा अन्य पर्यटकीय स्थलहरुमा भेटिने बिभिन्न मुलुकबाट आएका पर्यटकहरु देख्दा स्वत बुझ्न सकिन्छ ।  यसका साथै, लोअर तथा अपर मुस्ताङ्ग अथवा बिभिन्न हिमाली भेगमा ट्रेक्किंग या पदयात्राका निमित पनि, पोखरा एउटा बेसक्याम्पको रुपमा अवस्थित छ.। त्यसैले पनि, यहाको चहलपहल र आवतजावतमा पनि थप व्यस्तता बढाएको जस्तो लाग्छ ।

वास्तवमा, पोखरा शहर मात्र होईन, यस भेगका विभन्न जिल्लाहरू पर्वत, बेनी, म्याग्दी, जोमसोम अर्थात् लोअर र अपर मुस्ताङ्गका बाटाघाटा गाउँ–शहर, बस्ती आदिको आफ्नै बिशेषता र  बिबिधताले  भरिएको यो क्षेत्र, आफैमा नै एउटा पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गईरहेको स्वत अनुभूति हुनपुग्छ । यस क्षेत्रमा पर्यटननै प्रमुख व्यवशाय तथा बहुसंख्यक वासिन्दाको जीविकोपार्जनको स्रोत साधनको रुपमा बिकसित हुँदै गईरहेको स्पष्ट देखिन्छ । तर, यसकै व्याखा र वर्णन गर्नु यस लेखाईको अभिप्राय पक्कै होईन । यसको उदेश्य त पोखरा, मुस्ताङ्ग आदि क्षेत्रहरुको  प्राकृतिक शौन्दर्यता र यसमा अन्र्तनिहित विकासको संभाव्यताहरुको  प्रादेशिक वा राष्ट्रिय अर्थतन्त्र संग जोडिएका बहु आयामिक प्रसंग बारे संक्षिप्त उल्लेख गर्नु हो । 

 

अर्थशास्त्रको एउटा विधार्थीको आँखाले हेर्दा, पोखरा लगायत यस क्षेत्रको आर्थिक उत्थानका र सर्वोपरी बिकासका निमित्त यहाका शौन्दर्यता–स्वच्छ्ता–सुगमताका साथै स्थानिय उत्पादकत्व र उपयोगिताको अभिवृद्धि गर्नसकिने निकै फराकिला ठाउँहरु भेटिन्छन् । सुगम–सहज र साना–तिना प्रयासबाट पनि सम्भव सुधारका पाटा तिर पनि सम्बन्धित निकायको ध्यान नपुग्नुले पर्यटकीय बिकाश मात्र होईन कि आर्थिक बिकासलेनै अवरोध झेलिरहेको स्वत अनुभव हुनपुग्छ ।

 

पोखराको कुरा गर्दा, यहाका बाटो–घाटो  सडक आदिको गुणस्तर निश्चित रुपमा, काठमाण्डौको भन्दा राम्रो रहेको स्पष्ट देखिन्छ । काठमाडौँमा जस्तो बिदेशी पाहुनाहरुलाई देखाउन अथवा झुक्याउन रातो–रात बनाईने अस्थायी  पिच (कालो–पत्रे)  देखिरहेका हामीहरुले, त्यहाका सडकको स्थायित्व  र स्तरयिता, तुलनात्मकरुपमा उच्च रहेको स्वत  बुझ्न र महशुश गर्न सक्छौ ।  यसका साथै, खासगरेर पर्यटकको घुईचो लाग्ने लेकसाइडमा अवस्थित होटेल संचालक, बिभिन्न कलात्मक बस्तुका  पसलहरुका व्यवशायीहरुमा पनि व्यवस्थापन, प्रस्तुति, औपचारिकता सर–सफाई आदिमा नागरिक सचेतना, राजधानीको तुलनामा निकैनै राम्रो रहेको स्वत महशुश हुनपुग्छ ।

 

त्यसैगरी, दर्श्निय स्थल, पार्क, मन्दिर ताल–तलैया तथा प्राकृतिक सम्पदा आदिको संरक्षणमा, साधारण सफाई, सडक बाटो–घाटो संरक्षण र नागरिक दायित्वबारे जागरुकता बढ्ने–बढाउने, वातावरण सृजना हुँदै गईरहेको पनि देख्न सकिन्छ । तैपनि यसका वावजूद, पोखरालाई थप सुन्दर सुखद र सम्पन्न बनाउन सकिने प्रशस्त फराकिला आयामहरू देखा पर्छन ।

 

पर्यटकहरुका लागि आकर्षणको केन्द्रबिन्दु मानिएको लेकसाईडकै कुरा गर्दा पनि, एकातर्फ पर्यटन आकर्षणका दृष्टिकोणले स्थापित पसल, होटेल, रेष्टुरेन्ट आदि पक्तिवद्ध रुपमा बिकसित हुँदै गएको भएता पनि, अर्को तर्फ फिश–टेल र शिव मन्दिर पार्क हुँदै, श्री केदारेश्वर मणि महादेवको मन्दिर, बैदाम सम्म पैदल यात्रा गर्दा रुख–विरुवा, रेलिंग पछाडिको हरियाली जंगल र यसै संग आवद्ध फेवाताल निकै सुन्दर र मन–मोहक देखिन्छ । तर, निरीक्षण गर्दै जाने हो भने, यसको संरक्षण गर्न र सुन्दरता बढाउन गर्नु पर्ने सुधारका कामहरु पनि प्रशस्तै मात्रामा भेटिन्छन ।

 

यसका लागि धेरै ठुलो श्रम र साधनको आवश्यकता पनि पर्दैन । तर ईच्छा–दृढलगनशीलता र प्रतिवद्धता भने चाहिन्छ नै चाहिन्छ । बिभिन्न ठाउमा, पैदल यात्राको बाटो फुट–पाथमा रहेका रुखहरुको चबुतराहरु भत्केका छन, जसलाई पुन–निर्माण र एक रुपतामा  व्यवस्थित गर्नु पर्ने देखिन्छ । बीच–बिचमा भत्केका रेलिंगहरुलाई, आवश्यकता अनुरुप मरम्मत संरक्षण र रंगरोगन गरि पुनर–जीवित गर्न सकिन्छ ।. त्यसैगरि, रेलिंग पछाडिको हरियाली स्थल (जंगल) लाई स्याहारशुसार गरेर यसको शौन्दर्यतामा अभिवृद्धि गर्न सकिन्छ ।. श्री केदारेश्वोर मणि महादेवको मन्दिर परिसरमा पर्ने उपवन–बाग, बंगैचा र प्रांगण सम्म पुग्ने बाटो रमणीय छन् ।. तर, यसको आवश्यकता अनुरुप, उचित स्याहार र संरक्षण गर्न प्रशस्त ठाउंहरु बाकीनै रहेको त्यहाँ पुग्ने जो कोहीलाई पनि स्वत महशुश हुनसक्छ । . मन्दिर परिसरमा रहेका हरियालीयुक्त बाटामा वा जंगलमा यत्रतत्र रहेका पत्थरमा कुदिएका आकृति र चित्रहरुले कुनै संदेश प्रवाह गरिरहेको अनुभूति हुन्छ ।. तर, यसलाई व्यवस्थित गर्नु पर्ने आवश्यकता पनि टड्कारो रुपमा देखा पर्छ ।

 

 यो उपवन र यस्ता चित्र कुदिएका पत्थरहरुलाई उचित व्यवस्थापन गरिएमा, निश्चितरुपमा यसको आकर्षणमा अझै अभिवृद्धी हुनजानेछ ।. यस मन्दिर प्रांगणमा रहेको, बिभिन्न देवीदेवताहरु श्री गणेश, नारायण, भगवती , लक्ष्मी र वाशुकीको मन्दिरका साथै मध्य भागमा रहेको शिव मन्दिर सबैका लागि ठुलो आस्था र श्रद्धाका केन्द्रका रुपमा अवस्थित छ भने मन्दिरको द्वारमै रहेको बुद्धको ठुलो मुर्तिको पनि आफ्नै गरिमा रहेको देखिन्छ ।. यसका साथै, यस परिसरमा अवस्थित चौसट्ठी शिवलिंग र हनुमानजीको मन्दिर पनि विशेष उल्लेखनिय हुनआउछ ।. मन्दिर भित्रै रहेको वैदिक विधाश्रम तथा गुरुकुल, जसमा थुप्रै वटुकहरुले आश्रय र वैदिक शिक्षादिक्षा प्राप्त गरिरहेकाछन, त्यो पनि महत्वपूर्ण आयाम रहेकोछ ।

 

 मन्दिर भित्रै रहेको योगकेन्द्र (पतंजली)को पनि विशेषता रहेको देखिन्छ ।. योगअभ्यास स्थलबाट फेवातालको सुन्दर र मनोहर दृश्य अवलोकन गर्न सकिन्छ ।. तर, यी सबै वस्तुस्थिती र स्थलहरुलाई अझ आकर्षक उपयोगी र गरिमामय बनाउन सकिने सुधारका ठाँउहरु प्रशस्तै छन् भन्न कुनै अत्युक्ति हुनेछैन । मन्दिर परिसरमा पस्ने बाटो देखि लिएर प्रांगण र वोरपरका वातावरण तथा योगकेन्द्र सम्मलाई अझ व्यवस्थित संरक्षित र सुन्दर बनाउन सकिय, धार्मिक दृष्टिकोणका साथै, प्राकृतिक, पुरातात्यिक र योगअभ्यास आदिका लागि पनि, प्रत्यक किसिमका स्वदेशी बिदेशी समुदाय र पर्यटकका लागि, यो स्थलको गरिमा बढ्नुका साथै, सर्वाधिक महत्वपूर्ण हुनजाने निश्चित छ ।. त्यसैगरी, फेवातालको वोरीपरीको नया बनाईएका बाटाहरु, बस्ने शेड,  त्याँहाका बेन्चहरु उचित सरसफाई, संरक्षण तथा सडकमा साँझ पख देखिनै रातभरिका लागिनै बिजुली बत्तीको राम्रो प्रबन्धको पर्खाईमा रहेकाछन ।. यसको उचित प्रबन्ध मिलाउन सकिएमा, तालबाराही देवीको दर्शन गर्न आउने भक्तजनहरुका साथै फेवातालमा घुम्न आउने स्वदेशी–बिदेशी पर्यटकहरुका लागि पनि, निश्चित रुपमा, यो अझ बढी आकर्षक मनोरन्जक र आनन्ददायी हुन जानेछ ।.   

 

श्री मुक्तिनाथ दर्शनका निमित्त पोखराबाट जोमसोम मुस्ताङ्ग सम्म पुग्ने क्रममा, काली गण्डकीको तिर ैतिर, पाहाडी र साँगुरो–जोखिमयुतm बाटोबाट हेमजा, पर्वत, बेनी, म्याग्दी, तातोपानी, मार्फा हुँदै आफ्नो गन्तव्य सम्म पुगियो। . बाटोमा पर्ने बेनी स्थित श्री गलेश्वोर महादेवको मन्दिरमा पुगी दर्शन गर्ने शुभअवसर प्राप्त भएकोमा खुशी लाग्यो ।. त्यसैगरि, म्याग्दी बेनी नगर पालिका ४ स्थित तातोपानी कुण्डको पनि प्राकृतिक उपचारको दृष्टिकोणले महत्व बढ्दै गईरहेको बुझियो ।.  प्राकृतिक उपचारका ईच्छुक देशीबिदेशी नागरिकहरुको आउनेजाने क्रममा निकैनै अभिवृद्धी हुँदै गएको थाहा पाईयो।

 

 छाला सम्बन्धि रोग मात्र नभएर ग्यास्ट्रिक, ढाढ दुख्ने पेट दुख्ने, शरीर सुन्निएको रोग निराकरणका लागि अत्यन्त उपयोगी भएको सम्बंधितहरुको ठम्याई रहेछ । कुण्डको मुहानबाट प्राकृतिक रुपमानै बिरेनुन र सल्फर सहितको तातो पानी आउनाले स्वाभाविकरुपमा यसले एन्टीबायोटिकको काम गर्ने व्यवस्थापकहरुको भनाई सुनियो । यँहा स्नान गर्दा एकको रोग अर्कोलाई सर्दैन भन्ने तथ्य बताईन्छ । त्यसैले पनि, देश भित्र र बाहिरबाट, प्राकृतिक उपचारका लागि आउनेहरु र पर्यटकहरुको संख्या बढ्दै गईरहेको ज्ञात भयो ।  तर, यसको अनुपातमा आबासको र अन्य आवश्यक सुबिधासहुलियतको उचित व्यवस्थापन हुनसकेको छैन भन्ने पनि थाहा पाईयो । पर्यटक र आगन्तुकहरुलाई आकर्षण गर्न र उनीहरुको बसाई लम्ब्याउन सुविधायुक्त होटेल  र अन्य  सहुलिएतको व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिन्छ ।

 

बाटामा, ठाउँठाउमा देखिने विशालकाय पहाड र चट्टानले भरिएको आश्चर्य चकित पार्ने दृश्यहरुको अवलोकन गर्ने मौका प्राप्त भयो  । कतिपय, ठाउंमा हिंउले ढाकिएको पर्वत–श्रृखला र उच्च पाहाडीबाट, तिब्ररुपमा बहिरहेको जलाधारयुक्त छहरा तथा झरनाको  सुन्दरसजिव दृश्यले मनमा उल्ल्हास र आनन्दको तरंग उत्पन्न गराईदिन पुग्थियो । यस क्षेत्रमा, जीवनमा एकचोटी  आईपुग्नै पर्ने रहेछ भन्ने धारणा स्वत मनमा पलाउन पुग्यो ।

 

पोखराबाट जोमसोम पुग्ने क्रममा, अत्यन्त बिकट बाटोमा थुप्रै ठाँउमा भेडाच्यांग्राको बथान भेटिएको थियो । त्यस्तो  अफ्ठ्यारो र ठाडो उकालोमा पनि, तिनीहरु मजाले हिडिरहेको देखेका थियौ । हाम्रो उत्सुकतालाई शान्त पार्दै, मोटरचालकले हामीलाई, यी प्राणीहरु, त्यही माहौलमा जन्मी हुर्कीबढेकाले, उकालोवोरालो अथवा चिसो वा हिउँको प्रभावबाट पुरै मुक्त हुने कुरा बताएका थिए । दशैँको चाड नजिकिएसंगै, त्यहाका किसानहरुले यी भेडाच्यांग्रालाई पोखरा र अन्य गन्तव्यसम्म पुर्याउदै गरेको र यो उनीहरुको वर्ष भरिको  उत्कृष्ट व्यापारिक अवसर भएको पनि अवगत गराएका थिए ।

 

जोमसोमसम्म पुग्ने बाटो साँगुरो  र अफ्ठ्यारो  भए तापनि, त्यहाँ पुगिसकेपछी, श्री मुक्तिनाथ दर्शनका निमित, जोमसोमबाट मन्दिरको फेदी सम्म पुग्ने बाटो भने फराकिलो र निकै सुगम थियो । मन्दिर परिसरमै पुग्नका निमित, उकालो चढ्न नसक्नेहरुका लागि घोडाको सवारी उपलब्ध  थियो । त्यसैगरि, कागबेनी सम्म पुग्ने मोटरबाटो पनि सहज र सुगमनै पाईयो ।

 

वास्तवमा भन्ने हो भने, कतिपय दृस्टीकोणले यो क्षेत्रको महत्व र उपयोग मान्छेहरुको सचेतनाका साथै दिनानुदिन बढ्दै गईरहेको महशुश हुनपुग्छ । सर्वप्रथम त, सम्पूर्ण हिन्दु र बौद्ध धर्मावलम्बीहरुका आस्थाका केन्द्र श्री मुक्तिनाथको दर्शनका निमित पनि वर्षेनी छिमेकी मुलुकका  र स्वदेशकै भक्तजन तथा तिर्थातीहरु अत्यन्त बढी मात्रामा पुग्ने गर्छन। त्यसैगरी, हिन्दुहरुका लागि कागबेनीमा गरिने पितृश्राद्धको आफ्नै गरिमा भएकोले पनि, यसैका लागि बर्षेनी, मान्छेहरुको आवतजावत चलिनैरहन्छ ।

 

यी त धार्मिक पौराणिक र आस्थासंग जोडिएका प्रसंगहरु भए । यसका अलावा पर्यटकिय दृष्टीकोंणले पनि, यो क्षेत्र अत्यन्त महत्वपूर्ण हुनपुगेकोछ । मनोहर हिमश्रृखंला अवलोकनबाट आँखा मन मष्तिषकको सुख शान्ति र तृप्तीको आनन्द उठाउनका लागि, बिदेशी पर्यटकहरुको घुईचो लागेको देखिन्छ । लोवर तथा अपर मुस्ताङ्गमा पदयात्राको (ट्रेकिंग) आकर्षण पनि प्रचुर मात्रामा बढ्दै गईरहेकोछ । बेनीबाट उकालो लागे पछि ठाउँठाउमा  प्रशस्त पर्यटकहरु पदयात्रा गर्दै अघि बढिरहेका पनि भेटिन्छन । तर, जोमसोममा केही होटेल र आवाशको प्रबन्ध ( होमस्टे) भएता पनि मांग अनुरुपको बसोबास तथा अन्य  सहुलियत व्यवस्थापनमा धेरै कमीकमजोरी रहेको छ । यसतर्फ ध्यान पुर्‍याउन सके पर्यटकहरुको बाक्लो आगमन र उपस्थितीले, यस क्षेत्रको आर्थिक उपलव्धिमा र साथै राष्ट्रिय अर्थतन्त्रलाई पनि यसले सहयोग पुर्याउने निश्चित छ । 

 

मुस्ताङ्गको व्यवसाय र खेतीपातीको सन्दर्भमा खासगरेर यो क्षेत्र, स्याउ उत्पादनमा उत्कृष्ट रहेको त हामी सबैले बुझिआएकै तथ्य हो । तर, यसको निकासीपैठारी  र बजार व्यवस्थापनमा गर्नु पर्ने धेरै काम वांकीनै रहेको पनि स्पष्ट बुझिन्छ । ठाउँठाउमा स्याउ थुप्रिरहेको तर बाटोघाटो तथा यातायात सहुलियतको अभावले गर्दा बजार ज्यादै साँगुरो र सिमीत हुनगएको छ । भन्डारणको पनि उचित ज्ञान सिप र सुबिधा नहुँदा,  किसानहरु सकेसम्म त्यहा पुगेका बटुवा वा आवतजावत गर्ने बस वा निजी अथवा भाडाका गाडीहरुका यात्रुहरुलाई अत्यन्त सस्तोमा बेच्न वाध्य हुनपुग्छन। वास्तवमा त्यँहीको सेरोफेरो अर्थात् स्थानिय बजारमै बेच्नु पर्ने उनीहरुको वाध्यता हुन्छ।

 

बिस्तृत बजार सम्म पंहुच नहुँदा, प्रयाप्त उत्पादन गरे पनि फायदा पाउन असमर्थ हुन्छन। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। किसानहरुमा सचेतना सिप सहुलियत आदिको अभिबृद्धी गर्नुका साथै उत्पादन भण्डारण र बजार बितरणको उचित व्यवस्था गर्न सकिय सम्बन्धित किसान र क्षेत्रले मात्र फायदा पाउने होईन कि मुलुकनै स्याउमा आत्मनिर्भर हुनसक्ने र छिमेकी मुलुकका बजारसम्म पनि पुग्न सक्ने सम्भावना प्रखर देखिन्छ । छिमेकी मुलुकबाट, ठुलै संख्याँमा अन्य फलफूलका साथै स्याउ पनि आयात हुने गरेको सर्वबिदितै छ । जोमसोमको दुई रातको बसाईमा, राती पनि खोला सुसाईरहेको आवाजले आफैमा अनौठो महशुश हुनपुग्थियो । भेडाच्यांग्राको बथानका बथान दिउसो मात्र होईन कि अबेर राती सम्म पनि, झ्यालबाट हेर्दा हिडिरहेको देख्दा आश्चर्य लाग्यो । 

 

चिसो हिमाली भेग र चट्टानीलो जमीन भएकाले पनि, त्याँहा खेतिपातीको खासै संभावना देखिदैन। तर पहाडी जमीनमानै उब्जनी हुने उत्कृष्ट खालका आलु र अन्य प्रकारका खाधान्न कोदो फापÞmर आदि प्रशस्त मात्रामा उत्पादन हुने थाहा पाईयो । यसका साथै, उपभोग र उपचारमा प्रयोग गरिने अन्य प्रकारका वस्तुहरु जस्तै शिलाजीत, जडिबुटीबाट निर्मित औषधि र भान्छा घरमा प्रयोग हुने जिम्मुहरुको उपलव्धि तथा उत्कृष्टतामा पनि यस हिमाली भेग अग्रणी पक्तिमानै पर्छ । तर यस्ता सम्भाव्यताहरुको उचित उत्पादन व्यवस्थापन र वितरण पद्वतीको विकासतर्फ सम्बन्धित निकाय (प्रादेशिक वा केन्द्रिय सरकार) को ध्यान गएको पटक्कै देखिदैन ।

 

समग्रमा, यस हिमाली क्षेत्रको स्थिती र आर्थिक संभाव्यता त एउटा सन्दर्भ मात्र हो । मुलुकको सम्पूर्ण बिबिध प्राकृतिक, सामाजिक सम्पदाको संरक्षण, सदुपयोग तर्फ पनि सक्रियता बढाउदै लैजानु पर्नेमा नितीनिर्माता र सम्बंधित निकाय यस तर्फ गम्भीर भएको देखिदैन। एकत, प्रभावकारी र पूर्णरुपले राष्ट्रिय हकहीतमा समर्पित नितीहरुको नितान्त खाँचो छ । अर्को कुरा केहि बनेका नितीहरुको पनि उचित कार्यान्वयन हुनसकेकोछैन । आयात चुल्लिदै गईरहेको छ । अनुत्पादक र बिलासिताका बस्तुमा खर्च बढेको छ । जनता माथि करको भार बढेकोछ । निर्यातका लागि आवश्यक पुर्वाधारहरु उत्पादन, बजार वितरण आदि वोझलमा  परेका छन । अनावश्यक खर्चको दायरा नियन्त्रित गर्नु पर्ने तर्फ सरकार सचेत भएको पाईदैन। साधारण जनताले अनुभूति गर्न पाउने  गरि नागरिक सुबिधासहुलियतको संरक्षण र अभिवृद्धी गर्न पनि सरकार सचेत र सक्षम रहेको देखिदैन। आर्थिक बिकास तथा उपलव्धिका निमित, आवश्यक क्षेत्रमा लगानी बढाएर  कुल ग्राहस्थ उत्पादन उकास्नु पर्ने तर्फ सरकार अग्रसर भएको पाईदैन ।

 

मुलुकको आर्थिक स्थिती जटिलतातर्फ तिब्र गतिमा उन्मुख हुँदै गईरहेको भन्दा कुनै अत्युक्ति हुनेछैन ।समयमै आर्थिक बिसंगतीहरुका निराकरण तर्फ ध्यान नपुर्याए, ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारामा मात्र सिमीत हुने निश्चित छ ।  
     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार