• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

भारतमा विधानसभा निर्वाचनः मोदीको सत्ता धरापमा !

काठमाडौं । भारतमा विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दक्षिणपन्थी बीजेपी पार्टीले राजनीतिक गतिरोधको सामना गर्नुपरेको देखिएको छ। तीनवटा प्रमुख राज्यमा निर्वाचन मतपरिणाम बीजेपीको अनुकूल देखिएको छैन।

 

प्रमुख विपक्षी कंग्रेस पार्टीले छत्तिसगढ र राजस्थान राज्यमा आफ्नो सरकार बनाउन सक्ने देखिएको छ भने मध्यप्रदेश राज्यमा चुनावी घम्साघम्सी जारी छ। कतिपयले यसलाई आगामी आमनिर्वाचनसँग जोडेर हेर्न थालिसकेका छन्।

 

सम्वाददाताहरू भन्छन् भारतको विधानसभा निर्वाचनमा कम्तीमा पनि दुईवटा राज्यमा विपक्षी कंग्रेस पार्टीको जीतले सो पार्टीको विश्वसनीयता बढाउन सक्छ। राहुल गान्धी नेतृत्वको कंग्रेस पार्टीले राजस्थान र छत्तीसगढमा स्पष्ट अग्रता लिएको छ, जुन राज्यलाई पहिले बीजेपीको बलियो कब्जा रहेको क्षेत्र मानिन्थ्यो।

 

निर्वाचन भएको पाँचमध्ये अन्य दुई तेलंगाना र मिजोरम राज्यमा पनि मतगणना भइरहेको छ। तीन महत्त्वपूर्ण राज्यहरूमा सत्ताधारी पार्टीविरुद्ध मतदान हुने अनुमान पहिले नै गरिएको थियो।

 

केही विश्लेषकहरू मतदाताले राज्य र केन्द्र स्तरका चुनावमा अलग अलग व्यवहार देखाउने दावी पनि गर्दछन्। तर मत परिणाम सत्ताधारी बीजेपी पार्टी अनुकूल देखिएको छैन।

 

यो पटक चुनावमा देखिएको ग्रामिण असन्तोषका मुद्दाहरू नै आगामी वर्ष हुने आमनिर्वाचनका बेला पनि विशेष चर्चामा रहने ठानिएको छ। भारतका ग्रामीण क्षेत्रमा बेरोजगारी, विकासको अभाव र कृषि सङ्कट विशेष असन्तोषका मुद्दा हुन्।

 

तर विधानसभा निर्वाचनका अहिलेको नतिजा अर्को वर्षको ठूलो निर्वाचनको लागि विश्वसनीय मापक नहुनपनि सक्छ। बीबीसीका शौतिक विश्वास भन्छन्, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिस्पर्धा गर्न सक्ने नेताको अभाव र भारतीय जनतामा आशाको वैकल्पिक विचार दिन कंग्रेस पार्टी असफल जस्तो देखिएको अवस्थामा छ।

 

यस्तोमा आगामी निर्वाचनमा कंग्रेस पार्टीलाई सजिलो अवस्था हुनेछ भनेर भन्न सकिने देखिँदैन। तर मङ्ग‍गलवार देखिएको निर्वाचन मत परिणामले राहुल गान्धी नेतृत्वको कंग्रेस पार्टीमा केही ऊर्जा भने निश्चय नै थप्ने उनी बताउँछन्। बिबिसिबाट  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार