• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रधानमन्त्री ओलीमा शासकीय क्षमता नभएको नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ । संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गरेको आरोप पनि कांग्रेसको छ ।

 

राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको कांग्रेसको राजनीतिक प्रस्ताव बारे जानकारी दिंदै प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा दुई तिहाई शक्ति आर्जन गर्नासाथ  नेकपाले लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

 

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तासीन नेकपाले एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरेकाले उसको लोकतन्त्रप्रतिको निष्ठामा शंका गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

 

राजनीतिकरुपमा सरकार बलियो भएपनि शासकीयरुपमा कमजोर रहेको भन्दै शर्माले सुनियोजितरुपमा शिक्षामा जनवादीकरण गरेर माक्र्सवाद पढाउने षडयन्त्र भइरहेको आरोप लगाए ।

 

विज्ञप्ति जारी गर्दै  भनिएको छ ‘२००७ सालको जनक्रान्तिमा नेपालका कम्युनिष्टहरुको कुनै भूमिका   थिएन । तर २००७ को परिवर्तनपछिको राजनीतिक वातावरणलाई विथोल्न कम्युनिष्टहरूको नकारात्मक भूमिकाले मद्दत पुगेको इतिहास सिद्ध छ । २०१५ को संसदीय निर्वाचनमा सहभागी हुनु कम्युनिष्ट आन्दोलनको पहिलो सकारात्मक कदम थियो । २०१७ मा राजा महेन्द्रले गरेको ‘कु’ पछि कम्युनिष्टहरू अनेक धारमा विभाजित भए ।

 

पुष्पलाल र उनका अनुयायीहरू संसद प्रतिस्थापनको मागमा काँग्रेससँग सहमत भई संघर्षमा संलग्न भएपनि २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् । २०३६ सालको जनमत संग्रहमा समेत कम्युनिष्टहरू विभाजित नै रहे र उनीहरुको ठूलो तप्का पञ्चायतको पक्षमा प्रयोग भयो ।’

 

विज्ञप्तिमा नेपालका बहुसंख्यक कम्युनिस्ट समूहहरू प्रत्यक्षरअप्रत्यक्षरुपमा राजा महेन्द्रको संरक्षणमा हुर्किएको आरोप पनि लगाइएको छ ।

 

पत्रकार सम्मेलनमार्फत प्रबक्त शर्माले महासमिति बैठकमा एक करोड खर्च हुन सक्ने पूर्वानुमान गरेको पनि जानकारी दिए । बैठकमा करिब एक हजार ३०० जना प्रतिनिधि सहभागी हुने उनले बताए । महासमिति बैठक सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा हुने शर्माले जानकारी गराए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार