• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

सरकारविरुद्धको आन्दोलन उग्र भएसँगै फ्रान्सका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्ने 

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि उनले आज सम्बोधन गर्ने भएका हुन् ।

 

सम्बोधनको क्रममा उनले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले देशमा भइरहेको महंगीविरुद्धको प्रदर्शनले अर्थतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

 

उनले अहिलेको आन्दोलनले फ्रान्सेली समाज र लोकतन्त्रका लागि नै संकट सिर्जना गरेको बताए ।  फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा परेको छ ।दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएर सार्वजनिक सम्पत्ति र सवारी साधनमा तोडफोड गरेका छन् ।

 

कतिपय व्यक्तिका गाडिमा आगजनी भएका छन् भने पसलहरुमा लुटपाटसमेत हुन थालेको छ ।चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ । प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको छ ।

 

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनको शुरुमा मूल्यबृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा नै माग गरेका छन् । प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् ।

 

यसैबीच फ्रान्स सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने फ्रान्समा आन्दोलन चर्कदै गएपछि प्रदर्शनकारीका माग सम्बोधन गर्न फ्रान्स सरकारलाई सुझाव दिएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार