• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

पाल्पाको रामपुरमा जिल्लाकै ठूलो सरकारी अस्पताल भवन बन्दै

बेझाड । पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
अहिले सञ्चालनमा रहेको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शैयाको सरकारी अस्पताल बनाउन लागिएको हो । 

 

हाल १५ शैयाको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब क्षमता बढाएर ५० शैयाको सुविधासम्पन्न भवन निर्माणका लागि रु २२ करोड २२ लाख पाँच हजार ३८३ को बजेट परेको छ । 
स्वास्थ्य मन्त्री गगन थापा भएको बेला उनका प्रेस संयोजक जीवन भण्डारी रामपुरकै भएकाले भण्डारीकै पहलमा क्षमता बृद्धिको निर्णय भई बजेट छुट्याइएको हो । 

 

बजेट परेपछि अस्पतालका तत्कालिन अध्यक्ष कृष्णप्रसाद अधिकारीले भवन निर्माण प्रक्रिया अगाडी बढाउनु भएको थियो । भवन निर्माणका लागि रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करीब रु १८ करोड ५० लाखमा सम्झौता भई अहिले निर्माण कार्य भइरहेको हो । 

 

आर्थिक वर्ष २०७२÷७३ को पुसदेखि निर्माण शुरु भएको उक्त भवनको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको कम्पनीका इञ्जिनीयर जितेन्द्र चौधरीले बताए। विसं २०७५ कात्तिक १६ गते निर्माण सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमै काम सम्पन्न हुन नसकेपछि पुनः डेढ वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर चौधरीले बताए । 

 

विसं २०५२ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र २०६७ मा १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नति भई सेवा दिँदै आएको थियो । 

 

अहिल बन्दै गरेको भवन बनाएर सकिएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायत अत्याधुनिक सेवा सुविधा उपलब्ध गराइने अस्पतालका मेसु डा. बिनेश झाले बताए । उक्त अस्पतालबाट पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका गण्डकीबेँसी क्षेत्रका पाँच लाखभन्दा बढी जनता लाभान्वित हुनेछन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार