• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

नथिया: वादी महिलाको कहर

अन्धविश्वास, कुरिती र कु–संस्कारबाट नेपाली समाज क्रमश: रुपान्तरित हुँदै आएको छ । नेपाली समाज यस्तो समाज हो, जहाँ महिला र दलित सबैभन्दा वढी प्रताडित छन् । विभिन्न कु–संस्कारबाट हिजो यिनीहरुले ताडना भोगे । यो भोगाइ अद्यापि छ ।  

 

सती जाने, छाउपडी, दाईजो जस्ता कु–प्रथालाई संरक्षण गर्दै हुर्किएको हिन्दुवादी चिन्तन सहितको हाम्रो समाजमा आज पनि महिलाले शोषित हुनु परेकै छ । दलितहरु विभेदको शिकार भइरहेका छन् । 

 

पूर्व मेची देखि पश्चिम महाकालीसम्म कै महिलाका आ–आफ्ना कथा र व्यथाहरु छन् । परापुर्वकाल देखिको विद्यमान सामाजिक समस्या छिनभरमै समाधान हुन सक्ने कुरा पनि त भएन । समाजलाई रुपान्तरण गर्न समस्या विरुद्ध आवाज उठाउनु पर्छ, कलम चलाउनु पर्छ । 

 

यसै मेसोमा पश्चिम नेपालको दाङ र आसपास बसोबास गर्ने वादी समुदायको बाध्यता र वास्तविकता उपन्यासको रुपमा आएको छ । उनीहरुको पीडादायी व्यथालाई यथार्थ ढंगबाट चित्रण गर्दै लेखक सरस्वती प्रतीक्षाले गत वर्ष एउटा उपन्यास सार्वजनिक गरिन्, जसको नाम ‘नथिया’ हो । उपन्यासमा उनले नेपालका वादी महिलाहरुले वर्षौदेखि भोग्दै आएको कथा समेटिएको छ । मुलतः वादीहरु दलित समुदायमा पर्छन् । उनीहरु आफ्नो शरीर वेचेर अर्थात यौंनको सस्तो बिक्रीवाट परिवारको गुजारा चलाउँछन् । 

 

दाङको पक्रैयामा हुर्केकी उपन्यासकी प्रमुख पात्र सामलीको विवशता वरिपरी  कथा फन्को मार्छ । वादी बस्तीमा छोरी मान्छेलाई रजस्वला भएपछी पराई पुरुष सँगको शारीरिक संसर्ग पश्चात् नथिया खोल्ने परम्परा वादी समुदायमा छ । नथियाको मोल गरेर वादी युवतीको कुमारीत्व खरिद बिक्री हुन्छ । वादी महिलाले नथिया खोले पश्चात् कुनै पेशा व्यवसायमा संलग्न हुन पाउँदैनन् । आफ्नो शरीर बेचेर बाँच्न बाध्य हुन्छन नारीहरु । तिनै भीड कि प्रमुख पात्र हो, सामली । देहब्यापारबाट अल्गिएर जिउन चाहने सामलीलाई जिवनमा धेरै कठिनाइ र बाध्यताले उनले नचाएकै पेशा अपनाउन बाध्य बनाउँछ । 

 

शारीरिक रुपमा अत्यन्तै सुन्दर छ सामली । जसका निम्ति धेरैको गिद्धे नजर परिसकेको छ । बाध्यता र विबशताले सामली विवाह बन्धनमा बाँधिन बाध्य हुन्छे । मातृत्वको सुखबोध गर्न पाउने हर्षोल्लास जीवनमा आएसँगै सामलिले फेरि श्रीमानको सम्मान, प्रेम गुमाउँछे । श्रीमानको अन्याय सहन नसकेपछी पहिलो श्रीमानलाई छोडेर सन्तानका निम्ति दोस्रो विवाह गरेकी सामलिले सन्तानलाई जन्म त दिन्छे तर फेरि उसलाई वैवाहिक सम्बन्धबाट अलग्याउँछ भाग्यले । जिवनमा कठिनाइ मात्र भोगेर बाँचेकी सामलीले सुखको अनुभव गर्न सायदै कम पाउछे ।

 

दुःखको शिकार बनेकी सामली अन्याय अत्याचार र जबरजस्ती बलात्कारको शिकार बन्छे । अन्ततः स“धै प्रेमका निम्ती तड्पी रहने सामलीले प्रेम त पाउँछे तर अन्त्यमा प्रेमीको उपहार स्वरुप प्रेमीले दिएको ‘नथिया’ लगाएर त्यही चिनोका साथ बाँच्ने अठोट गर्दै सधैंका निम्ती वादी बस्ती छोडेर छोरी लिएर हिंड्छे । 

 

उपन्यासको बिषयबस्तुले दाङका वादी जातिले भोग्नुपरेको जातीय भेदभावलाई मात्रै प्रस्तुत गरेको छैन, वादी जाती भएर जन्मेकी छोरीले रजस्वला भएपश्चात भोग्नुपरेको शारीरिक, मानसिक, सामाजिक कष्टकर कथालाई उपन्यासमा समेटिएको छ । जब बाँच्ने अरु कुनै बाटा दिंदैन यो समाजले , तब एउटी नारीले आफ्नो अस्तित्व, खुसी सबै बिर्सेर बाँच्न र बचाउन पनि अस्मिता बेच्नुपर्ने वादी जातिको कथाले जोकसैका आँखा रसाउँछन । 

 

नेपाली समाज जहाँ धर्मका नाममा मठमन्दिरमा पुजा गरिन्छ, अनि त्यही पुजारी मन्दिरका भेटीले वादी नारीहरुको अस्मितालाई किन्छ र तिनीहरुलाई नै अछुत भनेर मन्दिरमा पुजा गर्न दिंदैन । खोक्रो अन्धविश्वास र जातिय विभेदको खोल ओडेको पश्चिमी क्षेत्रको दाङ वादी बस्तीको नारी ब्यथालाई उपन्यासकारले शसक्त रुपमा उतारेकी छन् । 

 

उपन्यासमा प्रयोग भएको दाङतिरकै लवजले उपन्यास अझ ओजिलो वनेको छ । पुस्तकको कभरमा भएको नारीको अनुहारको आधा भागमा रहेको नाकमा नथिया लगाएको तस्विर र रहेको छ ।

 

उपन्यासमा रहेका प्राविधिक पक्ष ले–आउट, फन्टको आकार, छापा र कागजको गुणस्तर उचित रहेको पाउन सकिन्छ । पोखरा कर्मथलो बनाएर लेखनमा सक्रिय सरस्वती प्रतीक्षा कवि र निबन्धकारका रुपमा परिचित छिन । यद्यपी ‘प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र ‘बागी सारङगी’ उनका प्रकाशित कविता संग्रह हुन ।

 

‘नथिया’ लेखकको पहिलो उपन्यास हो । पोख्रेली युवा सांस्कृतिक परिवारकी पूर्व अध्यक्ष तथा संरक्षण कविता आन्दोलनकी एक अभियन्ता सरस्वतीको पुस्तक नथियाले दाङको वादी बस्ती मात्र होइन, नेपालका सम्पूर्ण क्षेत्र जहाँका  नारीहरु विभिन्न समस्याले ग्रसित छन, ती सबै क्षेत्रमा बसोबास गर्ने मान्छेमा महिला प्रतिको दृष्टिकोण र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने कुरामा म चाहिँ विश्वस्त छु । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार