• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

न्याय माग्दै शीतल निवासअगाडि प्रदर्शन, मुख्यमन्त्रीको कार्यालयमा पोष्टर टाँसियो 

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाहरुले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?’ जस्ता नारा लगाएका थिए ।

 

नाराबाजी गरिरहेका युवतीहरुलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।

 

‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए ।

 

उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।

 

उता, निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।

 

बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा निर्मलाको तस्वीरअंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरिएको हो ।

 

नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमी पनि सहभागी भइन् ।

 

नेत्री यमीसहितले निर्मलाको पोस्टर बजारका विभिन्न ठाउमा टाँसेका छन् ।

 

उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै रहेका अरु सरकारी कार्यालयका पर्खालमा पनि पोस्टर टाँसेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार