• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

मन्त्री अर्यालले भनिन्ः सहकारी बजार स्थापनापछि विचौलियाको अन्त्य हुन्छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गरिने बताएकी छन् ।

 

नेपाल सहकारी पत्रकार समाज, सहकारी मन्त्रालय तथा सहकारी बजार विकास कार्यक्रमको संयुक्त आयोजनामा बिहीबार राजधानीमा भएको ‘फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली :एक विकल्प तथा यसको अवसर र चुनौती’ विषय कार्यक्रममा बोल्दै मन्त्री अर्यालले काठमाडौंमा छिट्टै आशालाग्दो सहकारी बजार स्थापना गरिने प्रतिवद्वता व्यक्त गरिन् ।

 

मन्त्री अर्यालले पहिलो चरणमा छ जिल्लामा सहकारी बजारको सुरु गरिसकेको र सहकारी बजार विस्तार गरिने बताइन् ।

 

किसान र उपभोक्ताको सिधै भेट गराउने सहकारी बजार प्रणाली निर्माण गर्न लागिएको उनको भनाइ छ । ‘किसानलाई निचोर्ने र उपभोक्तालाई शोषण गर्ने बिचौलिया हाबी भएका छन्,’मन्त्री अर्यालले भनिन् ,‘अब ति विचौलियाको दिन गए ।’

 

रााष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसााद बडालले उत्पादक र उपभोक्तालाई ढाड सेक्ने काम भएको भन्दै सहकारी बजार प्रणाली आवश्यक भएको बताए ।

 

‘सहकारीका कारण साहु महाजनले ठग्ने कुरा अन्त्य भएको छ’ उनले भने । आयात प्रतिस्थापन गर्न, निर्यात बढाउन, गरिबी निवारण गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने उनको भनाइ थियो । व्यापारघाटा घटाउन सहकारीले उत्पादन बढाउने अध्यक्ष बडालले बताए ।

 

 केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले उत्पादन भन्दा बजारीकरणको समस्या रहेको बताए । बजारीकरणका लागि लागिपरे पनि जग्गा नपाएर बनाउन नसकिएको उनको भनाइ थियो । प्रारम्भीक सहकारीले उत्पादन गर्नुपर्ने र संघहरुले बजारीकरणमा ध्यान दिनुपर्ने पाठकको भनाइ थियो ।

 

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले उत्पादन र बजारीकरणमा सहकारी लाग्न नसकेको बताए ।

 

कालिमाटी तरकारी बजारमा सहकारीका लागि २२ वटा स्टल छुट्टाइएपनि ११ वटा स्टल खाली रहेको बताए । सहकारीले केही प्रतिनिधिलाई मात्र जिम्मेवारी दिएर विचौलियाकै भूमिका निर्वाह गरेको उनले आरोप लगाए ।

 

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा.दिनेशप्रसाद पराजुलीले किसानले उत्पादन लागातअनुसार मूल्य पाउन नसकेको बताए  । ‘गुणस्तीय उत्पादनमा जोड दिनुपर्छ,‘तर उपभोक्ताले गुणस्तरीय उत्पादन खान पाएका छैनन्’ उनले भने ।

 

केन्द्रीय फलफूल तथा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष विनोद पराजुलीले सहकारी उत्पादनको प्रयाप्तमात्रामा बजारीकरण हुन नसकेको बताए ।

 

विचौलियाको चंगुलमा परेका कारण उत्पादक सहकारी सफल हुन नसकेको र किसान पनि सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो । पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारी बजारको सुपरमार्केट र अउटलेट निर्माण गर्न सके उत्पादक र उपभोक्ता दुवैले राहत पाउने बताए ।

 

ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सदस्यलाई उत्पादनतर्फ आकर्षित गर्न र उनीहरुका उत्पादन सहकारीमा लिन समस्या रहेको बताए । किसान र उपभोक्तालाई हित हुने गरी राष्ट्रिय तथा क्षेत्रीय बजार सञ्चालन गर्न आवश्यक भएको उनको भनाइ थियो ।

 

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद अधिकारीले  सहकारी बजार प्रणाली स्थापना गर्न आफूहरु तयार रहेको बताए । उत्पादन र वितरणमा निजी क्षेत्र पनि समन्वय गर्न तयार भएको उनको भनाइ थियो ।

 

जिल्ला सहकारी संघ धादिङका अध्यक्ष मित्रराज पौडेलले सहकारी बजार प्रणाली कसरी सञ्चालन गर्ने, कसको जिम्मेवारी के हुने भन्ने ठोस योजना ल्याउन आवश्यक भएको बताए ।

 

चन्द्रागिरी नगरपालिका प्रवक्ता एवम् ११ नम्बर वडा अध्यक्ष हरिभक्त महर्जनले तरकारी बजार प्रशस्त नभएका कारण कालिमाटी र बल्खु जानुपर्ने वाध्यता भएको बताए । ‘सहकारीमार्फत तरकारी बजार व्यवस्थापन गर्न आवश्यक छ’ उनले भने ।

 

सहकारी विभागका निमित्त रजिष्ट्रार नारायणप्रसाद अर्यालले सहकारी बजारका लागि सबैसँग सहकार्य गरिने बताए । कार्यपत्र प्रस्तुत गर्दै पूर्व रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहकारी बजार प्रणालीले उत्पादक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताए ।

 

सहकारी विकास कार्यक्रमका संयोजक अनन्त बस्नेतले काभ्रे, मकवानपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन जिल्लामा सहकारी बजार कार्यक्रम सुरु भएको र आगामी दिनमा थप विस्तार गरिने बताए । पाँच वर्षे कार्यक्रमका लागि युएनडिपीको साझेदारीमा  १ अर्ब १४ करोडको बजेट विनियोजना गरिएको बताए ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चलन नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार