• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

राजधानीमा ‘कैची’ को उपचार

फ्रेसन्युज संवाददाता,काठमाडौं । ‘कैची’ नाम सुन्दा सहजै थाहा हुन्छ के हो भनेर तर कैचीको पनि उपचार गरिन्छ भन्दा अनौठो लाग्न सक्छ । हो, यो सत्य हो ।  अरु चिजहरुको उपचार गरिने जस्तै कैचीको पनि उपचार हुन्छ । राजधानीको गैरीघाटमा कैचीको उपचार कै लागि भनेर कैची हस्पिटल खोलिएको छ । 

 

उमेरले ४५ नाघिसकेका रामभजन ठाकुर कैची हस्पिटलको संचालक हुन । सानैदेखि उनी कैचीको बारेमा कुराहरु जान्न उत्सुक हुन्थे रे । बिहान ७ बजे देखि बेलुका काम नसकिएसम्म उनको हस्पिटलमा कैचीको उपचार गर्नेहरुको भीड लागिरहन्छ । बिहान देखि बेलुकासम्म संचालक ठाकुर ग्राहकहरुको कैची बनाउने काममा नै व्यस्त हुन्छन । भारतको बिहारमा जन्मेका ठाकुरले आफुले कैचीको काम गर्न थालेको १२ वर्ष जति भएको बताए । पहिले पहिले साईकलमा नै घुमेर ग्राहकको घरघरमा जाने र कैची बनाउने गरिन्थ्यो तर अहिले आफंैले हस्पिटल खोलेर सजिलो भएको छ ।

 

 

हाम्रो यस हस्पिटलमा कैची सम्बन्धी सबै खाले उपचार हुन्छ । कैचीको टेम्पर नहुने, कैची बाङगिएर बिग्रने, नटवल नहुने, भाचिने जस्ता कुराहरुको उपचार गरिने ठाकुर बताउँछन् ।  धेरै जसोे चाहि कैची माधार लगाउन बढि आउने गरेका उनले भनाई छ । प्राय दशैंको समयमा व्यापार अलि राम्रो हुने पनि ठाकुरले जानकारी दिए । 

 

भारतको बिहारबाटयो पेशा गर्न सिकियो, ठाकुर भन्छन् । दुई छोरा र दुई छोरी गरेर पाँचजना परिवारको जिविका अहिले उनले धानिरहेका छन् । कैची सम्बन्धी सबै खाले उपचार गर्ने हिसाबले कैची हस्पिटल खोलिएको हो ।

 

यहाँँ बिभिन्न ठाउँबाट कैचीको उपचार गर्न आउँछन् । टे«लर, सैलुन, व्युटीपार्लर, चप्पल कारखाना, झोला बनाउने र घरयासी आदि । 

 

कपाल काट्ने कैची बनाएको ४० रुपैयाँ लाग्छ भने कपडा काट्ने कैचीको ७५ रुपैयाँ । यस्तै घाँस काट्ने कैची बनाएको १०० रुपैया लाग्छ भने जुत्ता चप्पल र व्याग बनाउने कैचीको ५० रुपैयाँ । सबैको भाडाको दर फरक फरक पर्ने हुनाले दिनको यती नै आम्दानी हुन्छ भन्ने छैन । कहिले यहाँँ खुट्टा टेक्ने ठाउँ हुदैन भने कहिले झिंगा धपाएर बस्नु पर्ने पनि हुन्छ । यो सिजन अनुसारको काम हो । पैसा चाहि यती नै हुन्छ भन्न सकिदैन तर महिनामा तीस, चालीस हजार जति चाहि बच्छ ।

 

 

त्रिशुली, रामेछाप, धादिङ लगाएतका ठाउँहरुबाट आफुकहाँँ कैचीको उपचार गराउन ग्राहकहरु आउने गरेको ठाकुरले बताए । काठमांडौ, ललितपुर र भक्तपुर यी तीन ठाउँहरुबाट पनि ग्राहक आउने गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार