• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
मनोरञ्जन

'नारायणगोपाल भन्नुहुन्थ्यो: दर्शकलाई हामीले ठग्नु हुँदैन, दर्शक भगवान हुन्'

संगीतका उस्ताद स्वरसम्राट नारायण गोपाललाई नचिन्ने, नसम्झिने यो संसारमा कमै होलान । बिक्रम संवत १९९६ असोज १८ गते काठमाडौंको किलगल टोलमा जन्मिएका नारायण गोपाल आज हामी माझ नभए पनि उनले गरेका सिर्जना जिवित छ र उनले गाएका कर्णप्रिय गीतहरु अझै पनि हाम्रो मन–मस्तिष्कमा गुन्जिरहँन्छन् ।

 

२०४७ मंसिर १९ गते उनी यो संसारबाट बिदा भएका थिए । उनी यो संसारबाट बिदा भएको  आज २८ वर्ष पुगेको छ । नारायण गोपालले धेरै गायक–गायिकालाई उनीसंगै संगीत सिक्ने र गीत गाउने अवसर पनि दिएका थिए । ती मध्यका एक गायिका लोचन भट्टराई पनि हुन । सरल पत्रिकासँग  गायिका लोचन भट्टराईले स्वर सम्राट नारायण गोपालका बारेमा धेरै कुराहरु सेयर गरेकी थिइन । प्रस्तुत छ, उनीसंग नारायण गोपालको बिषयमा केन्द्रीत रहेर गरिएका कुराहरुको सार, उनकै शब्दमा:

 

स्वर-सम्राट नारायण गोपाललाई उनको बार्षिकीको बेलामा मात्र हामीहरुले सम्झेर पुग्दैन् । उहाँले गाएका गीतहरुलाई हुबहु तरिकारले हामीले गाउन सक्यो भने उहाँको सम्झना पनि हुन्छ र हाम्रो स्वर आफंै पनि बन्छ । नारायण दाईको गायकी नै स्कुल जस्तो थियो । उहाँका गीतहरुलाई कुनै पनि गायक-गायिकाले गाउने, सुन्ने, सिक्ने बानी गर्नुपर्छ ।

 

हाम्रो भेट २०४५ सालमा भएको थियो । नारायण दाईले ‘स्वर्णीम सन्ध्या’ भन्ने एकल गायनको कार्यक्रम गर्न लाग्नु भएको रहेछ । अनि संजोग के भइदियो भने २०४४ सालमा मैंले रेडियो नेपालमा आधुनिक गीतहरुको लागि भाग लिएँ, भाग लिएपछि त्यसको जजमध्ये एकजना जज नारायण दाई पनि हुनुहुन्थ्यो । मेरो लागि नारायणगोपाल भनेको एउटा कल्पना मात्रै थियो जसको गित मैंले रेडियोबाट मात्र सुनेकी थिएँ ।

 

उहाँलाई प्रत्यक्ष देख्ने र भेट्ने मौका भने त्यहि कार्यक्रममा मिलेको थियो । २०४५ सालमा एउटा कार्यक्रममा मेरो स्वर उहाँले सुन्नु भएर उहाँकै एउटा संगीतकार मार्फत मलाई उहाँको कार्यक्रममा कोरस गाउनको लागि बोलाइदिनु भन्नु भएको रहेछ । त्यसरी भेट भएको थियो नारायण दाईसंग । उहाँसँगको चिनाजानी मेरो लगभग दुई वर्षको मात्र हो ।  २०४७ मा त उहाँ बित्नुभयो । उहाँले शुरुवातको भेटदेखि अन्तिमसम्म मेरो नाम पनि लिनुभएन । मलाई सधंै ठुली छोरी भनेर बोलाउनुहुन्थ्यो ।

 

म्युजिक नेपालको पुरानो स्टुडियोमा नारायण दाई स्वर्णीम सन्ध्याको रिर्हसल गरिरहनुभएको थियो, मलाई पनि उहाँले त्यहि बोलाउनुभयो । मेरो पहिलो देखादेखी नारायण दाईसँग त्यहि भएको थियो । उहाँलाई मैंले पहिलो चोटी देख्दा उहाँ हारमोनियम लिएर गीत गाइरहनु भएको थियो । संगीतकारहरु वरीपरी बसेर संगीत बजाइरहेका थिए  । म भित्र छिरेपछि उहाँल खाली टाउको हल्लाएर मलाई बस भन्नुभयो । म त्यहि बसेर केही समय उहाँले गाएका गीतहरुको आनन्द लिइरहें । 

 

बिभिन्न व्यक्तिहरुबाट नारायण दाईको बारेमा धेरै कुराहरु सुनेकी थिएँ । नारायण गोपाल भन्ने मान्छे एकदमै घमण्डी छ । कसैसंग राम्रोसँग बोल्दैन । ठुलो पल्टन्छ । जाँडरक्सी धेरै पिउँछ । नारायण दाईले म जस्तो भर्खर गीत गाउन निस्केकी र जुन बेला म गायिका नै बनेकी थिइन, त्यस्तो केटीको स्वर सुनेर आफ्नो कार्यक्रममा गीत गाउन बोलाउनु नै मेरो लागि ठुलो कुरा थियो । यो मान्छेमा घमण्ड रद्धिभर पनि छैन भन्ने कुरा मलाई त्यहि बेलादेखि नै थाहा भइसकेको थियो । उहाँको उमेर पनि मेरो बुबा कै उमेरको हो । त्यहि भएर पनि उहाँलाई भेट्दा आफनो परिवारलाई भेटेको जस्तो अनुभुति हुन्थ्यो । उहाँ एकदमै मायालु स्वभावको हुनुहुन्थ्यो ।

 

हामीले खाजा खाने बेला पनि उहाँ आफु खानु भन्दा अघि हामीले खायौं कि खाएनौ भनेर हेर्ने अनि मात्र आफु खाने गर्नुहुन्थ्यो । कार्यक्रमहरुमा पनि धेरै ठाउँमा म उहाँसंग हिंडे । धेरै ठाउँमा कार्यक्रम गर्न जादाँ मैले उहाँलाई एकदमै स्वाभिमानी कलाकार रुपमा चिनें । उहाँ कुनै पनि गीतलाई न्याय गर्नुपर्छ भन्नुहुन्थ्यो । गीत रेकर्ड गर्ने पैसा थाप्ने अनि हिंड्ने होइन । उहाँ एउटा गीतलाई आफूले गाउन नसकुन्जेलसम्म रिटेक गरिरहनुहुन्थ्यो ।

 

शब्दले के भन्न खोजेको छ त्यो मर्म अझै पुगेको छैन भन्दै रिटेक गरिरहनु हुन्थ्यो । रेडियो नेपालमा उहाँले एउटै गीतलाई पनि महिनौं लगाएर गाउनु भएको रहेछ । उहाँँ सँधै के भन्नु हुन्थ्यो भने, हेर दर्शकलाई हामीले ठग्नु हुँदैन । दर्शक भनेको हाम्रो भगवान हुन् । यदी दर्शकलाई हामीले ठग्यांै भने हाम्रो कला प्रस्तुत गर्ने ठाउँ रहँदैन ।

 

उहाँको व्यवहार कस्तो थियो भने, हत्तपत्त सबै मान्छेहरुसँग घुलमिल हुन सक्नुहुन्न थियो । यसमा दुईवटा कुरा छ । एउटा कुरा उहाँ नेवारी समुदायको मान्छे । उहाँको बोलीमा अलिकति नेवारी लवज आउँथ्यो । मेरो बिचारमा योे कारण पनि हुनसक्छ । अर्को उहाँको जुन किसिमको व्यक्तित्व  र एउटा सोचाईको लेभल थियो, त्यो नमिलेपछि मान्छे हत्तपत्त अरुसँग घुलमिल हुन सक्दैन ।

 

मिल्नको लागि दिमाग, सोचाई र भावना मिल्नुपर्छ । त्यो किसिमको भएको भएर पनि उहाँ जति मान्छेसँग घुलमिल हुनुहुन्थ्यो त्यो मान्छेसँग कुनै न कुनै खुबी हुन्थ्यो । उहाँ इतिहासविदसँग चाँडै घुलमिल हुन सक्नुहुन्थ्यो । किनभने उहाँलाई इतिहासका कुराहरु जान्न खुब रुची थियो । मैंले उहाँले छालाको जुत्ता ‘क्लोज शु’ लगाएको थाहा पाइँन । साधारण सेतो रंगको सर्ट र पाइन्ट लगाउनुहुन्थ्यो । एउटा मोटरसाइकल थियो उहाँको । उहाँलाई तडकभडक यो त्यो भनेर देखाउने कहिले रहर भएन । उहाँलाई केवल गित संगीतसँग मात्र सरोकार थियो ।

 

मैंले अहिले र पहिलेको संगीतमा केही पनि भिन्नता पाएकी छैन । खाली शब्द छनोट पहिला एकदमै गहिराईका प्रतिगात्मक, बिम्व प्रयोग भएका शव्दहरु जसलाई अर्ध साहित्य पनि भन्न मिल्छ । गीत लेख्नेले नै अर्ध साहित्य कै गीत लेखेको हुन्थ्यो । अहिले गीतहरुको शब्द त्यति बलियो छैन । आजकल डायलग डेलिभरीमा गीत गाइन्छ । पहिलो साहित्यमा गीत गाइन्थ्यो तर अहिले संवादमा गीत गाइन्छ । प्रविधि पहिलेको भन्दा अहिले राम्रो छ । तर प्रविधिले हामीलाई अल्छी बनाइदिएको छ । मंैले गाउँदा पनि प्रविधि थिएन । रेडियो नेपालमा गयो । लाइभ रेकर्ड गर्नु परथ्यो । मैंले गीत बिगारे भने त्यसलाई फेरी शुरुबाट गाउनु पर्ने हुन्थ्यो ।

 

हामीलाई एउटा गीत गाउनको लागि स्टुडियो भित्र बिहान १० बजेदेखि उभिएर बेलुकी ५ बजेसम्म उभिएको उभिएइ गर्नुपर्ने हुन्थ्यो । यसको एउटा फाइदा के थियो भने, गीत रट्दा रट्दा हामीमा निखार आइसकेको हुन्थ्यो । त्यो निखारले नै मलाई अहिलेसम्म बचाएको छ । नत्र धेरै मान्छेहरुको उमेर सँगै स्वर पनि खत्तम भइसकेको हुन्छ । अहिलेको प्रविधिमा एउटा अक्षर पनि गाउन मिल्छ । अहिलकोे गीतहरुमा खासै ज्ञान भएको देखिदैन ।

 

नारायण दाईको परिवारसँग हामीले सधैं दशैंमा टिका लगाउने गर्थ्यौ । मेरो पनि बुबा नभएको मलाई पनि बुवाको प्रेमको अनुभुति नभएको उहाँसँग भेट्दा त्यो एउटा सम्बन्ध हो कि जस्तो मलाई महशुस हुन्थ्यो । मलाई भाउजुले पनि एकदमै माया गर्ने । केही मिठो पाकेको छ भने फोन गरेर बोलाइहाल्ने । मेरो भेट हुदाँ उहाँले रक्सी पिउन छाडिसक्नु भएको थियो । त्यतिबेला उहाँलाई सुगरले समातिसकेको थियो ।  उहाँ एकदमै पारिवारिक हुनुहुन्थ्यो । सबैसँग घुलमिल हुने सबैलाई माया गर्ने ।

 

अहिले मनमा एउटा के कुरा खटकिन्छ भने यतिबेला नारायण दाई हामीसँग हुनुभएको हामी अझ कति धेरै काम गरथ्यौ होला । अनुभुति आफ्नो लागि हुन्छ । नारायण दाईसँग छेउमा बसेर गीत गाउँदा मलाई कस्तो अनुभुति भयो भन्ने मनमा छ, मस्तिष्कमा छ तर कसरी अभिव्यक्ति गर्नु । गर्व गर्छु आज म जे जस्तो छु उहाँकै प्रेरणाबाट हो ।

 

नारायण दाईलाई बीर हस्पिटलमा किड्नी दिन्छु भनेर नाम लेखाउनेहरु हजारौं थिए । हरेक दिन बीर हस्पिटल भरी मान्छेको भीड लागेको हुन्थ्यो । नारायण दाईको एउटा अन्तिम इच्छा चाहिँ के थियो भने जुन त्यो उहाँको बिरामी भएर गम्भीर भएको रुप छ नी, त्यो कसैले पनि खिचेर प्रकाशनमा नल्याइदियोस् भन्ने इच्छा थियो । किड्नी ट्रान्सप्लान्ट पनि गर्न मिल्थ्यो । मैले पनि उहाँलाई मेरो किड्नी मिल्छ भने दिन्छु भनेकी थिए । उहाँले सिधै के भन्नु भयो भने म कसैको आभारी भएर बाँच्न चाहन्न । मेरो जीवन जति बाँच्नु छ त्यति नै बाचेर अन्त्य हुँ । 
-प्रस्तुति: सुकृत नेपाल 

 
                                                                                                                                                                                                                                                     
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार