• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

के कांग्रेसले ‘हिन्दु राष्ट्र’को बहस चर्काउँछ ?

काठमाडौं । नेपाली कांग्रेस संविधान निर्माणका क्रममा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र राख्नुपर्छ भन्ने मान्यतामा कसरी सहमत भयो भन्ने विषयमा धेरै कोणहरुबाट बहसहरु भए ।

 

तत्कालिन अवस्थामा ‘धर्म निरपेक्ष कि धार्मिक स्वतन्त्रता’ भन्ने बहस चलिरहेका बेला अन्तरिम संविधानको व्यवस्थालाई नयां संविधानको मस्यौदामा पनि निरन्तरता दिइएपछि त्यसप्रति व्यापक प्रतिक्रियाहरु आए ।

 

पञ्चायती संविधानमा हिन्दु राष्ट्रको प्रावधान २०४७ सालको संविधानमा पनि निरन्तरता पाएको तर २०६२/०६३ को जनआन्दोलनपछि निर्मित अन्तरिम संविधानमा उक्त प्रावधान हटाएर धर्म निरपेक्षताको व्यवस्था राखिएको थियो ।

 

संविधानले नै धर्मनिरपेक्ष उल्लेख गरिसकेपछि कांग्रेस, राप्रपालगायतका केही नेताहरुले ब्यापक रुपमा विरोध जनाए । नेताहरु एक आपसमा विभाजित भए । यद्यपी, अहिले पनि यो मुद्दामा बहस चलिरहेकै छ । कांग्रेसलाई आफैंले बनाएको संविधानका बारेमा बोल्न कठिन भइरहेको छ तर धर्मका बारेमा बहस भने जारी छ ।

 

कम्युनिष्ट पार्टीको गठबन्धन सरकारले हालै एसिया प्यासिफिक समिटमार्फत मुलुकलाई ‘ईसाइकरण’ गर्ने र क्रिश्चियनलाई प्रवद्र्धन गर्ने काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले सरकारको आलोचना गरिरहेका छन् ।

 

आलोचना मात्र होइन नेपालमा क्रिस्चियन धर्मको प्रचार बढ्दै गएको भन्दै कांग्रेसभित्र हिन्दुराज्य कायम गर्नुपर्ने बहसले स्थान पाउन थालेको छ ।

 

हालै नुवाकोटको ककनी र कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलामा सहभागी भएकाहरुले आगामी महासमिति बैठकबाटै धर्मकाबारेमा ठोस निर्णय गर्नुपर्ने विचारहरु ब्यक्त गरे । त्यतिमात्र होइन हेटौंडा भेलामा पनि धर्मका बारेमा ब्यापक चर्चा परिचर्चा हुनपुग्यो ।

 

कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले हिन्दुधर्म नासिने अवस्थामा पुगेको र संस्कारहरुसमेत धरासायी हुँदै गएको भन्दै मुलुकलाई हिन्दुराज्य कायम गर्नेगरी पार्टीले बहस अघि बढाउनुपर्ने तर्कहरु समेत राखे 

 

उनीहरुले कम्युनिस्ट नेतृत्वको सरकार परम्परा र हिन्दुधर्मलाई नासेर क्रिस्चियन धर्म प्रचारमा केन्द्रित भएको भन्दै महासमिति बैठकबाटै पार्टीले हिन्दुधर्मकाबारेमा स्पस्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।

 

कांग्रेसका नेताहरु हिन्दुधर्मका विषयमा जनमतसंग्रह आवश्यक भएको बताउन थालेका छन् । केन्द्रीय समितिमै रहेका कतिपय नेताहरु धर्मनिरपेक्षका विरुद्धमा खुलेरै पनि लागेका छन् ।

 

कांग्रेसका कतिपय पुराना नेताहरु त कांग्रेसकै नेतृत्वमा बनेको संविधानमा धर्मनिरपेक्ष उल्लेख गरिएपछि सक्रिय राजनीतिबाट नै पछाडी हटे र नेतृत्वको आलोचना गर्नमा खटिए । उनीहरुले हिन्दु राष्ट्रको बहस अहिलेपनि चर्काइरहेका छन् ।

 

हिन्दुधर्मका विषयमा नेपाली कांग्रेसले जनमतसंग्रहका लागि महासमिति बैठकबाट प्रस्ताव पारित गर्नुपर्ने मत कतिपय नेताहरुले माग पनि उठाइरहेका छन् ।

 

यद्यपी, धर्म निरपेक्षता पदावलिले सबै धर्मलाई समान व्यवहारको परिकल्पना गरेको भन्दै त्यसलाई चलाउन नहुने पक्षमा कतिपय नेता छन् । धर्म निरपेक्षको परिभाषालाई धेरै तरिकाले बंङ्ग्याइएकोले मात्र जनताहरु भ्रममा पारेको उनीहरुको भनाई छ ।

 

कांग्रेस भित्रकै दिवंगत खुमवहादुर खड्काको खेमाले त हिन्दु राष्ट्र हुनुपर्छ भनेर देशब्यापी अभियान नै चलायो । अहिले पनि कतिपय नेताहरु ‘धार्मिक स्वतन्त्रता’ पक्षमा लविङ गरिरहेका छन् । महामन्त्री डा. शंसाक कोइराला बेलामौका हिन्दु राष्ट्र हुनुपर्ने अभिब्यक्ति दिइरहेका छन् ।

 

तर सत्तारुढ दलका नेतहरु भने धर्मका नाममा राजनीति गर्न खोजिएको भन्दै त्यसको विपक्षमा छन् । उनीहरु जबरजस्ती धर्म परिवर्तन गराउने ब्यक्तिाई कडा कानुन बनिसकेकाले समस्या नहुने तर्कहरु राखिरहेका छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार