• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

सरकारले नौटंकी र जोकर काम गरिरहेको छः मीन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एसिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको इतिहासमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् ।

 

उनले भने,‘यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।’

 

नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गर्दै उनले भने,‘यो संस्थाले अकुत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए ।

 

उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाईएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?’

 

उक्त संस्थाको आफ्नै ‘ग्लोबल गभर्मेन्ट’ रहेको पनि उनले सुनाए । उनले भने,‘यो संस्थासँग कार्यपालिका पनि छ । लेजिस्लेचरपनि छ । खाली जुडिसियल छैन् । नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको छ ।’

 

संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी गरे ।

 

नेपालका हिन्दूहरुमा धार्मिक सहिष्णुता भएरमात्रै केही अप्रिय घट्ना नभएको नत्र सम्मेलनका पाहुनाहरु सोल्टी होटेल छिर्न पनि पाउँदैन थिए भन्दै उनले सुनाए ।

 

उनले भने,‘हिन्दूहरुमा धार्मिक सहिष्णुता नभएको सम्मेलनका पाहुनाहरु होटलमा छिर्नपनि पाउँदैन थिए । न त छिरेका मान्छेहरु बाहिर नै आउन पाउँथे ।’

 

डेढ महिना अघि मुलुकका विशिष्ट व्यक्तिहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाईदिने अनि आज आएर तीनैले मुनसँग आर्शिवाद लिन आउन स्थानीय सरकार र प्रदेश सरकार प्रमुखहरुलाई पनि उर्दी जारी गर्नु हाँस्यस्पद भएको उनको टिप्पणी छ ।

 

अस्वस्थ भएर कार्यकर्तासमेत नभेटेका प्रधानमन्त्री ओलीले कुनै एक धर्म विशेषलाई प्रचार गर्न यत्रो ठूलो सक्रियता देखाएको भन्दै उनले कडा आक्रोश पोखे ।

 

नेता विश्वकर्माले सरकारले नौटंकी र जोकर काम गरिरहेको पनि आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण र ३३ केजी सुन प्रकरणलगायत हत्या, हिंसा र बलात्कारका घट्नामा सरकार पूर्ण रुपमा चुकेको पनि उनले आरोप लगाए ।

 

उनले भने,‘सरकार त अहिले अभियुक्त नजिक पुगिसकेपछि आँफै ब्याक हुन्छ । सरकारले अहिले आफ्नो मान्छेले चोरेको थाहा पाएपछि ‘खेद्नु तर नभेट्नु’ भनेजस्तो गरिरहेको छ । सरकार अहिले निर्मला पन्तको बलात्कारी खोज्दै खोज्दै जान्छ, फेरी आँफैकहाँ आईपुग्छ फुत्तै छोडिदिन्छ ।’

 

देशलाई धार्मिक द्वन्द्वमा र भ्रष्टाचारमा चुर्लुम्मै डुबाउने, हत्या, हिंसामा चुर्लुम्म डुबिसकेको प्रधानमन्त्रीको फोटो सबै खम्बामा राख्नुपर्ने अनि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्नको लागि उनको फोटो किन राख्न नपाउने ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार